नेपाल र चीनबीच व्यवसायीक रुपमा इन्टरनेट संजाल जोडियो



काठमाडौं। नेपाल र चीनबीच इन्टरनेट संजाल औपचारिकरुपमा जोडिएको छ । नेपाल टेलिकम र चाइना टेलिकम ग्लोबल बीच ‘क्रस बोर्डर अप्टिकल फाइबर लिङ्क’ शुरु भएसँगै भारतसँग मात्रै रहेको  इन्टरनेटको निर्भरता हटेको छ ।

चीनसँग नेटवर्क जोडिएपछि भारतको एकाधिकार समेत तोडिनेछ ।

नेपाल टेलिकम र चाइना टेलिकम ग्लोबल बीच क्रस बोर्डर अप्टिकल फाइबर लिङ्कको औपचारिक घोषणा आगामी शुक्रबार एक कार्यक्रमकाबीच हुँदैछ ।

नेपाल टेलिकमले चीनसँगको अन्तरदेशीय इन्टरनेट लिंकको सफल परीक्षण गरिसकेको छ । नेपाल र चीनबीच इन्टरनेट कनेक्टिभिटीका लागि चाइना टेलिकम र नेपाल टेलिकमबीच व्यावसायिक सम्झौता भएको थियो ।

रसुवागढी नाका भएर नेपालमा चीनको इन्टरनेट सञ्जाल जोडिएको हो । करिब एक वर्षअघि चीनसँग इन्टरनेट संजाल जोडिने बताइँदै आईएको थियो। तर छिमेकी मुलुक चीनतर्फ अप्टिकल फाईबरमा समस्या आएको कारण सो कार्यमा ढिलाई हुँदै आएको थियो ।

यसअघि गत भदौमा नै सो इन्टरनेट सेवा संचालनमा ल्याउने तयारी टेलिकमले गरेको थियो ।

टेलिकम स्रोतले यसअघिदेखि नै परिक्षणमा रहेको सो इन्टरनेट नेटवर्क सेवा शुक्रबारदेखि भने व्यवसायीकरुपमा नै संचालन हुने जानकारी दियो ।

’अहिलेसम्म हामीले परिक्षण गरिरहेका थियौं, सफल परिक्षणपछि अब भने व्यवसायीक रुपमा इन्टरनेट सेवा शुरु हुन्छ,’ स्रोतले भन्यो ।

चीनबाट इन्टरनेट ल्याउने गरी व्यावसायिक सम्झौता भएको १ वर्षपछि चिनियाँ इन्टरनेट नेपालसँग जोडिएको हो । यसअघि नेपाल टेलिकम र चाइना टेलिकम ग्लोबलबीच रसुवाको जिलोङहुँदै चीन र नेपाललाई स्थनीय केबुलमार्गबाट जोड्न नेपाललाई आइपी सर्भिस उपलब्ध गराउने गरि सम्झौता भएको थियो ।

सो इन्टरनेट नेटवर्क संचालनमा आएसँगै चीन हुँदै हङकङसँग इन्टरनेटमा आवद्ध हुन पनि यसले सहयोग गर्नेछ ।

हाल टेलिकमले भारतीय कम्पनीहरु टाटा, एयरटेल, बीएसएनएल, भारत पन्जाव र रिलायन्सबाट २२ जीबी भोल्युमको इन्टरनेट ल्याइरहेको छ । भारतबाट ल्याइएको इन्टरनेट रक्सौल, भैरहवा र वीरगन्ज नाकाबाट अप्टिकल फाइबरमार्फत ल्याइएको छ।


क्लिकमान्डु