कागज नहुनेलाई छैन अब अमेरिकामा काम



बाल्टिमोर/अमेरिका । गैर कानूनी रुपमा अमेरिका आउने वा आएको भएपनि यतै लुकेर बस्ने निर्णय गर्नुभएको छ भने त्यो निर्णय अब निकै घातक निर्णय हुन सक्ने छ ।

गैरकानूनी रुपमा लुकेर बस्ने वा दलाल मार्फत ज्यानकै बाजी मारेर अमेरिका आउनेहरु तथा विद्यार्थीको रुपमा आएर पनि पढाई छोडेर डलर कमाउने ध्यानमा लाग्नेहरुलाई बुधबार अर्को निरासाजनक समाचार आएको छ ।

अमेरिकाको चर्चित खुद्रा स्टोरमा चिनिने ‘सेभेन ईलेभेन’मा बुधबार प्रशासनले छापा मार्दै केही गैर कानूनी रुपमा काम गर्ने कामदार र काम लगाउने व्यवसायीलाई नियन्त्रणमा लिएको छ ।

यो संगै कागजपत्र नभएकाहरुलाई काम लगाउने व्यवसायीलाई प्रशासनले कडा चेतावनी दिएको छ जसको कारण अब गैर कानूनी रुपमा बसेकाहरुले अमेरिकामा काम पाउने ढोकाहरु बन्द हुँदै गएको छ ।

धेरैजसो नेपालीले समेत काम गर्दै आएको अमेरिकाको चर्चित खुद्रा ग्रोसरी स्टोर सेभेन ईलेभेनमा बुधबार प्रहरीले छापा मारी दुई दर्जन बढी कामदारलाई गिरफ्तार गरेको छ ।

गैर कानूनी आप्रवासी रोक्ने ट्रम्प प्रशासनको योजनाअनुसार धेरै आप्रवासीले काम गर्ने स्टोरमा छापा मारिएको यो सबैभन्दा पछिल्लो घटना हो ।

बासिङटन पोष्टले जनाएअनुसार बुधबार एकैसाथ विभिन्न १७ राज्यका ९८ वटा स्टोरमा छापा मारेर २१ जना गैरकानूनीको आशंका गरिएका कामदारलाई नियन्त्रणमा लिईएको छ भने केही स्टोर बन्द गराईएको छ ।

नियन्त्रणमा लिएकाहरु कुन कुन देशका हुन भन्ने खुलाईएको छैन । छापा मार्ने क्रममा गैर कानूनी कामदारलाई काम लगाउने स्टोरहरु बन्द गरिएको समाचारमा जनाईएको छ ।

काम गर्ने नेपालीहरु भने उच्च भएको अनुमान छ यद्यपी पछिल्लो धरपकडमा नेपाली परेको वा नपरेको भन्नेबारे केही जानकारी आएको छैन ।

स्टोर मालिकलाई ३ दिनभित्र कामदारको विवरणसहित जवाफ पेस गर्न पनि भनिएको छ । वासिङटन डिसी, क्यालिफोर्निया, कोलोराडो, डेलावर, फ्लोरिडा, ईन्डियाना, मेरिल्याण्ड, टेक्साससहित १७ राज्यमा बुधबार छापा मारिएको थियो ।

राष्ट्रपति डोलान्ड ट्रम्पको कार्यकालपछि यहाँ भएको सबैभन्दा ठूलो छापाको रुपमा बुधबारको छापालाई लिईएको छ ।

प्रहरीले गैर कानूनी कामदारलाई काम लगाउने व्यवसायीलाई समेत चेतावनी दिएको घटना भने यो पहिलो भएको समाचारहरुमा जनाईएको छ ।

यहाँको आप्रवासी तथा सीमा सुरक्षा एजेन्सी(आईसिई)ले गैर कानूनी आप्रवासीलाई काममा लगाउने व्यवसायीहरु पनि उत्तिकै दोषी हुने भन्दै समान सजायँको भागिदार हुने बताएको छ ।

‘जसले गैर कानूनी व्यक्तिलाई काममा लगाएका छन् उनीहरुलाई सुर्धानको लागि यो शिक्षा पनि हो । हामी यो कार्यलाई निरन्तरता दिने छौं ।’ आईसिईले ट्वीटरमा लेखेको छ ।

ट्रम्प सरकार आएपछि आईसिईले गत वर्ष भन्दा ४० प्रतिशत बढी अप्रवासीलाई पक्रिएर उनीहरुकै देश फर्काएको समाचारमा जनाईएको छ ।

अमेरिकामा फ्रेन्चाईसीको रुपमा धेरैजसो राज्यमा नेपालीहरुले पनि सेभेन ईलेभेनको व्यवसाय गर्दै आएका छन् ।

काम गर्ने नेपालीहरु भने उच्च भएको अनुमान छ यद्यपी पछिल्लो धरपकडमा नेपाली परेको वा नपरेको भन्नेबारे केही जानकारी आएको छैन ।

टेक्सासमा केन्द्र रहेको सेभेन ईलेभेनले बुधबार नै एक विज्ञप्ती जारी गर्दै व्यक्तिगत रुपमा स्टोर सञ्चालन हुने र फ्रेन्चाईसी सम्झौतामै कानूनी काम गर्ने उल्लेख गरेको भन्दै गैर कानूनी कामदारलाई काम लगाएको प्रमाणित भए ति स्टोरहरुको सम्झौता खारेज गर्ने जनाएको छ ।

अमेरिकाले अहिले आप्रवासी सुधार योजनाको विषयमा छलफल गरिरहेको छ । जसले आप्रवासीहरुलाई अरु असर पार्न सक्ने छ । केही दिन अगाडि मात्रै प्रशासनले एलसाल्भाडोरका नागरिकलाई दिँदै अमेरिकामा अस्थायी बसोबासको सुविधा (टीपीएस) खारेज गरेको थियो ।

यो निर्णयले तोकिएको समयमा स्थायी बसोबासको सुविधा नपाउने एलसाल्भाडोरका करिब २ लाख ५० हजारले तोकिएको समयमा अमेरिका छाड्नु पर्ने बताईएको छ ।

अकस्मात दैवि प्रकोप,राजनीतिक कारण आदि देखाएर फाईल गर्नेलाई अमेरिकाले टीपीएस सुविधा दिँदै आएको छ । जसमा निश्चित समयसम्म अमेरिकामा बस्न र काम गर्न पाउने अधिकार हुन्छ भने सोही समय स्थायी बसोबासको पनि आवेदन दिन सकिने छ ।

यता नेपालीले पाएको टीपीएस सुविधाको विषयमा पनि अहिलेसम्म कुनै आधिकारीक निर्णय भईसकेको छैन ।

आप्रवासी नीतिमा अबको केही दिनमै निकै फेरबदल हुनसक्ने यहाँको सञ्चारमाध्यमहरुले जनाएका छन् । अहिले अमेरिकामा आव्रपासी नीतिको विषयमै बहस भइरहेको छ ।

जसमा अमेरिकामा बच्चा जन्मेको आधारमा दिने ग्रिन कार्ड, छोरा छोरीले आएको नागरिकताको आधारमा उनीहरुको बाबुआमालाई दिने ग्रिनकार्ड, डिभी लोटरी लगायतका व्यवस्था खारेज गर्ने विषयमा अहिले छलफल चलिरहेको छ ।


क्लिकमान्डु