४ हजार रुख काटिसक्यो सेनाले, अब ट्रयाक बनाउन थाल्ने




निजगढ । नेपाली सेनाले मध्य तराईबाट राजधानी जोडने छोटो दुरीको काठमाण्डौं–निजगढ एक्सप्रेस हाइवे (फास्टट्रयाक) को निर्माण कार्य शुरु गर्ने तयारी थालेको छ ।

आयोजना निर्माणको जिम्मा पाएको नेपाली सेनाले ट्रयाकमा परेका वनका रुख कटानमुछान पुरा गरेपछि सडक निर्माण थाल्ने भएको हो । पहिलो चरण अन्तरगत निजगढको तामागढीस्थित पुर्वपश्चिम राजमार्गबाट मकवानपुरको चुरे फेदसम्मको करिव साढे ८ किलोमिटर क्षेत्रमा निर्माण कार्य शुरु गर्न लागिएको नेपाली सेनाका सहायक रथी भरतबहादुर खडकाले जानकारी दिए ।

सडक क्षेत्रभित्र परेका रुख नहटाएसम्म निर्माण काम अघि बढाउन नसिकिने भएपछि सेनाले रुख कटानको कामलाई प्राथमिकताका साथ अघि बढाएको थियो । मंसिर महिनाको २७ गतेबाट रुख कटानमुछान शुरु गरेको सेनाले यस क्षेत्रमा पर्ने ३ सामुदायिक र राष्ट्रिय वन क्षेत्रबाट ४ हजार रुख कटान गरिसकेको छ ।

सडक निर्माणको लागि १ सय मिटर चौडाईको भोगाधिकार पाएको सेनाले केन्द्र विन्दुबाट दाँयाबाँया २५/२५ गरी ५० मिटर क्षेत्रमा परेका रुख काटेको छ । निजगढ क्षेत्रको रुख कटान कार्यमा सेनाले १ सय ५० जनाको टोली खटाएको छ ।

कटानबाट निस्केको काठ दाउरा स्थानीय उपभोक्ता समुहको जिम्मा छाडिएको निजगढ ८ स्थित बकैया नागमणी सामुदायिक वन समुहका अध्यक्ष तथा फास्टट्रयाक र दोस्रो अन्तराष्ट्रिय विमानस्थल निर्माण सरोकार समितिका संयोजक रवि दङ्गालले बताए । नेपाली सेनाले जिम्मा लिएर निर्माणको तयारी शुरु गरेपछि तोकिएको समयमा नै आयोजना पुरा हुने विश्वास स्थानीयमा बढेको पनि दङ्गाल बताउछन् ।

सडक निर्माणमा आवश्यक उपकरण र सामाग्रीको प्रवन्ध गरिसकेको पनि सेनाले जनाएको छ । निर्माण कार्यमा प्रयोग हुने ४५ टिपर, २ लोडर, १ डोजर, ३ एक्साभेटर र पानी ट्याङ्गकर विकास निर्माण महानिर्देशनालयको निजगढ पोष्टमा आइपुगेको सहायक रथी खडकाले जानकारी दिए ।

१० स्थानमा पोष्ट खडा गरेर काम शुरु गर्ने बताएको सेनाले पहिलो चरणमा निजगढ क्षेत्रबाट काम शुरु गर्न लागेको हो । सेनाले ललितपुरको खोकना र मकवानपुरको बुधने क्षेत्रमा पनि निर्माण कार्य संचालन गरिरहेको छ ।

सरकारले २ बर्षभित्र निर्माण पूरा गर्ने गरी चालु आर्थिक बर्षको बजेटमार्फत आयोजनाको लागि १० अर्ब रुपैयाँ बजेट दिएको छ ।

७६.२ किमी लम्बाइको सो मार्गको बाराको निजगढस्थित पुर्वपश्चिम राजमार्गबाट उत्तरतर्फ मकवानपुर, ललितपुर जिल्ला र काठमामाण्डौको प्रस्तावित बाहिरी चक्रपथमा जोडिनेछ ।

सडक निर्माणपछि निजगढबाट काठमाण्डौं डेढ घण्टामा आवतजावत गर्न गर्न सकिने र सवारी साधानमा प्रयोग हुने इन्धन, पार्टपुर्जा र समयको समेत बचत भइ राष्ट्रको अर्थतन्त्रमा समेत महत्वपुर्ण टेवा पुग्ने सरकारको दाबी छ ।


क्लिकमान्डु