पूरा हुँदै कलंकी–कोटेश्वर सडकखण्ड, जाम र धुलो धुवाँबाट मुक्ति पाइने




ललितपुर । तपाई कलंकीको जाममा कतिपटक पर्नुभएको छ ? एक दुई वा त्योभन्दा बढी पनि हुनसक्छ । यदि तपार्इं काठमाडौँ उपत्यका बाहिर ओहोरदोहोर गरिरहनुहुन्छ भने दशौँपटकसम्म पनि जाममा पर्नुभएको हुनसक्छ । तर अब भने त्यो समस्याबाट भुक्ति पाउनु हुने भएको छ ।

चिनियाँ सरकारको सहयोगमा नेपालमा पहिलो पटक आठ लेन सडक कोटेश्वर–कलंकी–चक्रपथ विस्तारको काम भइरहेको छ । छ महिनामा नै सक्ने योजनाका साथ काम अघि बढेको हो । सडक पूरा भएपछि कलंकीको जाम हटेर काठमाडौँ उपत्यका बाहिर सहजरुपमा ओहोरदोहोर गर्न सकिन्छ ।

यो सडकखण्डमा ७५ प्रतिशतभन्दा बढी काम सकिएको काठमाडौँ चक्रपथ सुधार योजनाका इञ्जिनियर निरञ्जन शर्मा अर्यालले जानकारी दिए ।

उनका अनुसार कोटेश्वरदेखि धोबीघाटसम्मको साइड लेनको कालोपत्र गर्ने कार्य सकिएको छ । रेटेनिङ वाल, सवारी कुद्ने पुल र आकाशेपुल निर्माण सम्पन्न भइसकेको छ । केहि ठाउँको कार्य भने अन्तिम चरणमा पुगेको छ ।

‘कोटेश्वरदेखि धोबीघाटसम्म दुवैतिर मुख्य लेनमा कालोपत्र गर्ने कार्य भइरहेको छ, खसीबजारदेखि कलंकीसम्मको अण्डर पासको काम पनि भइरहेको छ, फुटपाथ र सर्भिस मार्गको काम अघि बढेको छ, तीव्र गतिमा काम भइरहेकाले केही समयमा नै सकिनेछ,’ उनले भने ।

चिनियाँ सरकारको सहयोगमा निर्माणाधीन यो सडक निर्माणको ठेक्का चिनियाँ कम्पनी सङ्घाई कन्स्ट्रक्सन ग्रुपले पाएको छ । पछिल्लोपटक भएको सम्झौताअनुसार आगामी जुलाईसम्म यसको निर्माण कार्य सक्नुपर्ने हुन्छ ।

‘भूकम्प र नाकाबन्दीका कारण यसका निर्माण कार्य सम्पन्न गर्न एक वर्षको अवधि थप गरिएको थियो, अब जुलाईमा नै सक्ने गरेर काम अघि बढेको छ,’ इन्जिनियर अर्यालले भने ।

यो परियोजनाको निर्माणका काममा पूरै प्राविधिक जनशक्ति चिनियाँ नागरिक नै छन् । अदक्ष कामदारमा भने नेपाली र चिनियाँ दुवै छन् । यो सडकखण्डको निर्माणमा करिब ६० जना नेपाली र २०० चिनियाँ कामदार खटिएका छन्उ । आयोजनाले मुख्य गरेर अरु निकायसँग समन्वयको काम नै गरिरहेको छ ।

पाइप लाइन, विद्युत्का पोल, सडक छेउका घर टहरालगायतका कारणले गर्दा काममा भने केहि ढिलाइ हुने गरेको छ । सडकमा बिच्छ्याइएका मेलम्ची र काठमाडौँ उपत्यका खानेपानी लिमिटेडका पाइप समय–समयमा सडकले गर्दा फुट्ने गरेको छ । सातदोबाटो, खसीबजार, महालक्ष्मीस्थानमा सडक छेउमा घर–टहरा छन् ।

आठ लेनको सडकको बाहिर पर्ने सर्भिस सडक पर्ने ठाउँमा भएका यी घर–टहराले गर्दा काम अघि बढ्न नसकेको अर्यालले जानकारी दिए । आयोजनाले पटक–पटक भन्दा पनि स्थानीयवासीले घर भत्काउन अटेर गरिरहेका छन् ।

मुख्य लेन, सहायक मार्ग र सर्भिस मार्ग गरेर १० लेनको सडक निर्माण भइरहेको हो । चक्रपथ छिर्ने विभिन्न सडकहरु यो सडकखण्डमा पर्छ । यी सडकमा चक्रपथ बाहिर निस्कने सडक कुन निकायले कालोपत्र गर्ने भन्ने टुंगो लागेको छैन ।

परियोजनासँग यी सडकमा काम गर्ने सम्झौता थिएन । यी सडक नसुुध्रँदा त्यसको असर सडक निर्माण पछि पर्ने देखिएको थियो । यी सडक कच्ची हुँदा नयाँ सडकमा समेत धुलो र हिलो फैलनेछ ।

एक अर्ब रुपैयाँको लगानीमा यो सडकको निर्माण कार्य भइरहेको छ । रासस


क्लिकमान्डु