पुरातात्विक सम्पदाको पुनःनिर्माण सुस्त, ३ बर्ष ८२ सम्पदा पुनःनिर्माण




काठमाडौं । गत २०७२ बैशाख १२ गतेको भूकम्पबाट क्षति पुगेका पुरात्विक महत्वको सम्पदाको पुनःनिर्माण कार्य सुस्त गतिमा भईरहेको छ ।

भूकम्पमा परी १ हजार ५ सय ९८ वटा सम्पदामा क्षति पुगेकोमा भूकम्प गएको ३ बर्ष बित्न लाग्दा जम्मा ८२ सम्पदाको मात्र पुनःनिर्माण भएको हो ।

पुरात्विक विभागका प्रवक्ता रामबहादुर कुँवर भने पुनःनिर्माणको काम सुस्त गतिमा भईरहेको मान्न तयार छैनन् ।

‘भूकम्प गएको बर्ष २०७२ सालमा पराकम्पन र क्षतिको मुल्याङ्कन गर्नमै सकियो, पुनःनिर्माणको काम २०७३ सालबाट सुरु गरिएकाले सुस्त भन्न मिल्दैन,’ कूँवरले क्लिकमाण्डूसँग भने ।

पुरातात्विक महत्वको सम्पदाको पुनःनिर्माण घर बनाउन जतिको सजिलो नहुने उनी दाबी गर्छन् ।
‘पुरात्विक संरचनाको ऐतिहासिक, पौराणिक महत्वको अध्ययन गरेर प्रमाणिकरण गर्नुपर्छ, त्यसका लागि पुरानै प्रविधि र दक्ष जनशक्तिको आवश्यक पर्छ,’ कूँवरले भने ।

पुरातत्व विभागले २०७२ सालको भूकम्पपछी ७ सय ५३ वटा पुरातात्विक सम्पदामा क्षति पुगेको रिर्पोट सार्वजनिक गरेको थियो । जसमध्ये १ सय ३३ वटा सम्पदा पूर्णरुपमा ध्वस्त भएको थियो भने बाँकी ६ सय २० वटा सम्पदामा आंशिक क्षति पुगेको विभागले जानकारी दिएको थियो ।

विभागले सर्वाजनिक गरेको तथ्यांकमा भूकम्पबाट क्षति भएका १५ सय ९८ सम्पदा उल्लेख छ । प्रवक्ता कुँवरका अनुसार विभागले जसमध्ये करिब ८ सयको हाराहारीमा सम्पदा पुनःनिर्माण गर्नेछ ।

काभ्रे, दोलखा, सिन्धुपाल्चोक, मुस्ताङकलगायतका जिल्लामा क्षति भएका नयाँ गुम्बासहितको विवरण राखिएर तथ्यांक तयार गरिएकाले संख्या धेरै देखिएको उनी बताउँछन् ।

नयाँ बनेका गुम्बाहरु सय बर्ष पुराना नभएकाले संरक्षण दायरा भित्र पर्दैनन् । ती संरचनाहरु पुरातात्विक महत्वका नभएकाले त्यसको पुननिर्माणमा विभागको भुमिका नरहने कुँवरले प्रष्ट पारे ।


क्लिकमान्डु