प्रविधिको प्रयोगबाट बाघ गणना सुरु, ७० क्यामेराको प्रयोग



काठमाडौं । जंगली जनावर मध्ये सबैभन्दा छिटो गतिमा कुद्ने बाघ गन्ने काम सजिलो छैन । लोपोन्मुख प्रजातिको रुपमा रहेको अत्यन्तै सुन्दर जंगली जनावरको गणनाको काम चितवन र नवलपरासीमा सुरु भएको छ ।

बाघ गणनामा क्यामेरा ट्रयापिङ विधि प्रयोग गरिएको छ । क्यामेरा ट्रयापिङ प्रविधिको माध्यमबाट सामुदायिक वनमा रहेका बाघको गणनाका लागि काम अघि बढाइएको हो ।

राष्ट्रिय प्रकृति संरक्षण कोष, राष्ट्रिय निकुञ्ज, हरियो वन, ताललगायतका संघसंस्थाको सहकार्यमा संयुक्तरुपमा बाघको गणनाका लागि कार्य शुरु गरिएको छ ।

नवलपरासीको गँैडाकोटमा रहेको थुम्सी, कावासोतीको पिठौली, मध्यबिन्दुको तमासपुर र चोरमारा, विनयी त्रिवेणीको दुम्कीवासमा गरी ५ स्थानमा प्राविधिक टोलीक्यामेरा ट्रयापिङका लागि खटिएका छन् ।

प्राविधिकसहितको टोलीले क्यामेरा ट्रयापिङमार्फत गणनाको कार्य अघि बढाइएको सामुदायिक वन महासंघ नवलपरासीका सचिवालय सदस्य होमनाथ पाण्डे बताउँछन् ।

निकुञ्ज र मध्यवर्ती क्षेत्र र सामुदायिक वनका ७० ठाउँमा गरी कम्तीमा ७० वटा क्यामेरा जडान कार्य अघि बढाइएको राष्ट्रिय वन्यजन्तु संरक्षण कोष सौराहा चितवनका जैविक विविधता संरक्षण केन्द्रका निमित्त कार्यालय प्रमुख रामकुमार अर्यालको भनाइ छ । बाघ गणनाका लागि घर पालुवा हात्तीकोसमेत प्रयोग गरिएको छ ।

नवलपरासीका निकुञ्ज आसपास र मध्यवर्ती क्षेत्रसँगै सामुदायिक वनमा पनि बाघको गणना एकैसाथ भइरहेको छ । नवलपरासीको सामुदायिक वनमा गत वर्ष बाघको आक्रमणबाट सात जनाले ज्यान गुमाएका थिए भने केही मानिस घाइतेसमेत भएका थिए ।

सामुदायिक वनमा बाघको वासस्थान नै छ या अन्यत्रबाट आउने गरेका छन् भन्ने पत्ता लगाएर सम्भावित घटनाबाट बच्नका लागि सामुदायिक वनमा बाघको गणना गर्न लागिएको सामुदायिक वन महासंघले जनाएको छ ।


क्लिकमान्डु