माघी पर्वको उपलक्ष्यमा टुडिखेलमा थारु परिकारको प्रदर्शनी, थारु परिकार चाख्नेको घुइँचो



काठमाडौं । आज माघे संक्रान्ति मुलुकका विभिन्न स्थानमा धुमधामका साथ मनाइदै छ । हिन्दुहरुको साथै माघे संक्रान्तिलाई विशेष रुपमा थारु समुदायहरुले मनाउने गर्छन् ।

थारु समुदायहरु माघे संक्रान्तिलाई माघी पर्वको रुपमा मनाउने गर्छन् । माघी पर्वको उपलक्ष्यमा थारुसमुदायले टुडिखेलमा माघी पर्व विशेष कार्यक्रम आयोजना गरिरहेको छ । सो कार्यक्रममा रौतहट, सप्तरी, कैलाली, सिरह र महोतरीलगायतका विभिन्न जिल्लाबाट आएका थारु समुदायका सदस्यहरुले ७१ वटा स्टलहरु राखिएका छन् ।

हरेक स्टलमा थारु समुदायका प्रशिद्ध पकवानहरु प्रर्दशनी तथा विक्रीका लागि राखिएको छ । प्रदर्शनीमा बगिया, सिधरा, सितुवा, कौखरा, सानो माछा, लाई, घोङडी, परेवाको मासु र तेलपौर रोटीलगायतका खानाका सामाग्रीहरु बनाइ राखिएको थियो ।

थारु समुदायमा विशेष गरी घुंगी, ढिक्री र काखोरको परिकार प्रशिद्ध रहेको स्टल संचालिका करुणा महतोले बताइन् । माघी पर्वको कार्यक्रमकै लागि भनी कैलालीबाट आएकी महतो भन्छिन् ‘घुंगी संकर किरा जस्तो जलप्राणी हो । त्यसलाई हामी खोलाबाट टिपेर ल्याउँछौँ र त्यसको टुप्पो फ्याकेर त्यसलाई तरकारी जस्तै भुटेर बनाउने गछौँ ।’ कार्यक्रममा घुगी प्रतिप्लेट ३ सय रुपैयाँमा विक्री वितरण भैरहेको पनि उनी जानकारी दिन्छिन् ।

काखोरा, थारु समुदायको अत्यन्तै स्वादिस्ट परिकारको रुपमा चिरपरिचित रहेको प्रदर्शनीमा सहभागीहरुको भनाई छ । यो परिकार बनाउनका उसिनेको गंगडोलाई मरमसला सहित कराईमा भुटेर बनाइन्छ ।

काखोरा व्यापार गर्न बसेकी सप्तरीकी शसीकला चौधरी भन्छिन् ‘गाउँमा ४ हजार रुपैयाँमा किनेर ल्याएको १ सय रुपैयाँ भन्यो भने किन्दैनन् त्यसैले ८० रुपैयाँ प्रतिगोटा विक्री गरिरहेका छौँ ।’

यस्तै थारु समुदायको अर्को पकवान ढिक्री पनि प्रदर्शनीमा राखिएको छ । कैलाली निवासी एलीना महतो ढिक्री चामलको पिठोलाई मुसेर त्यसलाई स्टीम गरी गोलो र लाम्चो आकारमा बनाइने बताउछिन् । आफु निकै व्यस्त भएको बताउँदै उनले यो परिकार २ वटा बेच्दा २० रुपैयाँ लिने गरेको उनी बताउँछिन् ।

थारु समुदायको मुख्य परिकार मानिने चिछोरी भात प्रतिप्लेट ५० रुपैयाँ, हाँसको मासु प्रतिप्लेट २ सय रुपैयाँ, झुना २ सय रुपैयाँ प्रतिप्लेट, भक्का ५० रुपैयाँ प्रतिप्लेट र बगिया ५० रुपैया प्रतिप्लेट विक्रीका लागि राखिएको महतोले जानकारी दिइन् ।


क्लिकमान्डु