सुविधा सम्पन्न निशानको नयाँ टेरानो गाडी नेपालमा, मूल्य कति ?



काठमाडौं । निशानको टेरानो एसयूभी नेपाली बजारमा आएको छ । निशानको नेपालका लागि आधिकारिक वितरक पायोनियर मोटोकर्पले उक्त कम्प्याक्ट एसयूभी (स्पोर्टस् युटिलिटी भेइकल) लाई नेपाली बजारमा उपलब्ध गराएको हो ।

दुई मोडलमा उपलब्ध टेरानोको मूल्य ४२ लाख ९९ हजार र ५३ लाख ९९ हजार रुपैयाँ तोकिएको छ । टेरानो १ हजार ६ सय सिसीको पेट्रोल र १ हजार ५ सय सिसीको डिजेल इन्जिनमा उपलब्ध छ ।

विश्वका २ सय ८० अवार्ड जितेको यो नै पहिलो कार हो । टेरानोमा आधुनिक प्रविधि युरो ४ मापदण्डको प्रयोग गरिएको छ । कारको टर्निङ रेडियस ५.२ इन्च छ । यसका कारण सानो स्थानमा पनि गाडी घुमाउन सहज हुन्छ । त्यसैगरी यसको ग्राउन्ड क्लियरेन्स २ सय ५ एमएम छ । यसका कारण ग्रामीण, पहाडी र एड्भेन्जर यात्रा गर्न सहज हुन्छ ।

डिजेल भर्सनको कारले १९.८७ किलोमिटर प्रतिलिटर र पेट्रोल भर्सनले १३.०४ किलोमिटर प्रतिलिटर माइलेज दिन्छ । ६ स्पिड गियरमा कार दौडाउँदा १९.६१ किलोमिटर प्रतिलिटर माइलेज पाउन सकिन्छ । ५ सिटे कारमा २ वटा एयर ब्याग जडान गरिएको छ । बुट स्पेस ४ सय ५ लिटरको भएकाले लामो यात्रामा परिवारसँग निस्कँदा पर्याप्त लगेज राख्न मिल्छ । कारमा क्रुज कन्ट्रोल सुविधा पनि उपलब्ध छ ।

कारमा न्यू प्रिमियम डुअल टोन इन्टेरियर, क्रुज कन्ट्रोल, ७.० टच स्क्रिन नेभिगेसन सिस्टम, स्टेयरिङ माउन्टेड अडियो/फोन कन्ट्रोल, वान टच लेन चेन्ज इन्डिकेटर, एन्टि पिच ड्राइभर साइड विन्डो र न्यू स्टेयरिङ ह्विल डिजाइन सहितका २२ नयाँ विशेषताहरु छन् ।

सुरक्षाको लागि यसमा डुअल फ्रन्ट एयरव्याग, इविडि, हिल स्टार्ट एसिस्ट, एबिएस, बिए र इएसपिको साथमा कार उपलब्ध रहेको कम्पनीले जनाएको छ ।

सार्क राष्ट्रलाई लक्षित गरी बनाइएको न्यू टेरानोमा ६ स्पिड अत्याधुनिक अटो ड्राइभिङको सुविधा उपलब्ध छ । यसमा गियर सिस्टम कम्प्युटरद्वारा नियन्त्रण गरिन्छ ।

यसले शहरको ट्राफिकदेखि हाइवेसम्म आनन्दको ड्राइभिङ अनुभव मिल्ने कम्पनीको दावी छ । यसलाई उत्कृष्ट इन्जिनियरिङ तथा आकर्षक र बलियो डिजाइनमा निर्माण गरिएको कम्पनीको दावी छ ।


क्लिकमान्डु