दोस्रो पुस्ताको हातमा वाणिज्य बैंकको नेतृत्व, कुन बैंकमा को पुगे ?



काठमाडौं । मेगा बैंकको निमित्त प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी अनुपमा खुञ्जेलीले समालेकी छन् ।

अनिल शाहले मेगा छाडेपछि बैंकको संचालक समितिले अहिले निमित्तको जिम्मेवारी दिएपनि खुन्जेलीलाई नै सिइओ दिने तयारी छ । यदि खुन्जेली मेगाको सिइओमा नियुक्त भएमा नेपालको वाणिज्य बैंकमा सिइओ बन्ने पहिलो महिला बन्ने छिन् । उनी निमित्त सिइओ बन्नु अगाडि मेगामा नायब प्रमुख कार्यकारी अधिकृतमा कार्यरत रहेकी थिइन् ।

पछिल्लो समय वाणिज्य बैंकको जिम्मेवारी बैंकको दोस्रो तहमा रहेका व्यक्तिले पाउन थालेका छन् । ग्लोबल आइएमई बैंकबाट अनिल ज्ञवालीले राजिनामा दिए । ग्लोबल आइएमई बैंकले त्यहीं कार्यरत जनक शर्मा पौडेललार्इ सिइओको जिम्मेवारी दियो।

कुनैबेला डेपुटी सिइओमा कार्यरत रहेका लक्ष्मण रिसाल अहिले एनआईसीको सिइओ हुन् । एनआईसीले शसिन जोशीले सिइओ छाडेपछि डेपुटी रहेका रिसाललाई सिइओ बनाएको हो ।

यस्तै मर्जरबाट ठूलो भएको प्रभु बैंकको नेतृत्व पनि कुनैबेला बैंकमा डेपुटी रहेका अशोक शेरचनले लिएका छन् ।

सिभिल बैंकको सिइओ पनि सोही बैंकमा डेपुटी रहेका गोविन्द गुरुङ छन् । किशोर महर्जन बाहिरिएपछि सिभिलको सिइओको जिम्मेवारी दोस्रो बरियताक्रममा रहेका गुरुङले सम्हालेका छन् ।

वाणिज्य बैंकमा सिइओको पदावदी चारवर्षको हुनेगर्छ । लगातार दुई कार्यकाल भन्दा बढी समय सिइओ नियुक्त हुन नपाइने व्यवस्था छ ।

नेपालमा रहेका सरकारी वाणिज्य बैंकमा सरकारले सिइओ नियुक्त गर्छ । विदेशी लगानी रहेका स्ट्यान्डर्ड चार्टर्ड र एसबीआईले भने सिइओ भारतबाट नै पठाउने गर्छन् । बहुमत सेयर बंगलादेशको भएपनि नेपाल बंगलादेश बैंकमा भने नेपाली नै सिइओ छन् ।

डेपुटीको पदमा बैंकमा छिरेर सिइओको एक कार्यकाल सानिमा बैंकका भुवन दाहालले पनि पुरा गरिसकेका छन् । उनी नबिलबाट डेपुटीको पदमा सानिमामा आएका थिए । कुमार लम्सालले छाडेपछि दाहाल सानिमाको सिइओ बनेका हुन् ।

वाणिज्य बैंकमा सिइओको पदावदी चारवर्षको हुने गर्छ । लगातार दुई कार्यकाल भन्दा बढी समय सिइओ नियुक्त हुन नपाइने व्यवस्था छ ।

यस्तै एनएमबी बैंकको सिइओमा पनि त्यही बैंकमा डेपुटी रहेका सुनिल केसी रहेका छन् । उपेन्द्र पौडेलले सिइओ पद छाडेपछि केसी सिइओमा नियुक्त भएका हुन् ।

एनसीसी बैंकमा पनि डेपुटी रहेका रमेश अर्याल सिइओ छन् । स्थापनाको अर्कोेवर्षदेखि एनसीसीमा कार्यरत अर्यालले विभिन्न पदमा बढुवा हुँदै सिइओमा पुगेका हुन् ।

सिदार्थ बैंकले पनि डेपुटी मै कार्यरत शम्भुनाथ गौतमलाई सिइओमा नियुक्त गरेको हो ।

माछापुच्छ्रे बैंकले पनि निरज श्रेष्ठलाई सिइओको जिम्मेवारी दिएको छ । तुलसीराम गौतमले छाडेपछि श्रेष्ठ त्यहाँ सिइओ बनेका हुनु । उनी पनि पछिल्लो पुस्ताबाट सिइओ हुनेमा पर्छन् । माछापुच्छ्रेमा आउनु अगाडि उनी ग्लोबल आइएमई बैंकमा नायब प्रमुख कार्यकारी अधिकृत थिए ।

पछिल्लो समय नयाँ पुस्ताका र बैंकमा दोस्रो तहमा रहेका व्यक्ति सिइओ बन्ने क्रम बढेपनि केही बैंकले भने पुराना सिइओलाई नै निरन्तरता दिएका छन् ।

मेगा छाडेर सेन्चुरीमा जान नियुक्तीपत्र बुझेका अनिल शाह तलबको विषयमा राष्ट्र बैंकले असहमति जनाएपछि नबिल बैंकमा जाने भएका छन् । शाह सहितको टिमले त्यसबेला नबिल छाडेर मेगा खोलेको थियो ।

यस्तै कुनैबेला कुमारी बैंकमा सिइओ रहेका सुरेन्द्र भण्डारी घुम्दै कुमारीमा पुगेका छन् । उनी कुमारी छाडेर सिदार्थ पुगेका थिए । अहिले सिदार्थ छाडेर कुमारी बैंकको सिइओ बनेका छन् । उनले डेपुटीको पदमा सेन्चुरीमा सिइओ रहेका अनुजमणी तिमिल्सिनालाई लगेका छन् ।

बैंक अफ काठमाण्डू अहिले लुम्बिनी बै‍ंकसँग मर्जर भएपछि ठूलो भएको छ । दुई बैंक मर्जर भएपछि लुम्बिनीका सिइओ शोहनदेव पन्त बैंकिङ करिअरमा थिएनन् ।

सिइओ रुपमा मर्जरपछि बैंक अफ काठमाण्डूका सिइओ अजेय श्रेष्ठले निरन्तरता पाएका थिए । श्रेष्ठले छाडेपछि बिओकेले फेरी पन्तलाई सिइओको रुपमा नियुक्त गर्यो ।

उनैको नेतृत्वमा समस्यामा रहेको लुम्बिनी बैंकमा सुधार भएको थियो ।

यस्तै जनता बैंकले पनि स्थापनाकालदेखि अहिलेसम्म चारवटा सिइओ राखिसकेको छ । कुमार लम्साल बाहिरिएपछि अहिले जनता बैंकमा परशुराम क्षेत्री सिइओको रुपमा कार्यरत छन् । उनी राम्रा बैंकरमा गनिन्छन् ।

अहिले निमित्तको सिइओको भरमा मेगा, सेन्चुरी बैंक चलिरहेको छ । राष्ट्र बैंकको कुलिङ पिरियडको कारण अनिल शाह नबिल जान समय लाग्ने हुँदा त्यहाँपनि केही महिना बैंक निमित्तको भरमा नै चलाउनुपर्ने हुन्छ ।

पहिलो पुस्ताका सिइओ र दोस्रो पुस्ताका सिइओहरुको नेतृत्वमा बाणिज्य बै‌ंकहरु बीच पछिल्ला दिनहरुमा प्रतिस्पर्धा हुने अनुमान अहिले नै गर्न सकिन्छ । तर त्यसमा कसले बाजी मार्ने हो त्यो हेर्न भने केहि समय कुर्नै पर्ने हुन्छ ।


क्लिकमान्डु