सिरोहिया भन्छन्– सुमार्गीसँग भुकम्पपछि भेटनै भएको छैन



काठमाडौं । व्यवसायी अजेय राज सुमार्गीले कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियालाई लगाएको आरोपको सो मिडिया ग्रुपले खण्डन गरेको छ ।

माघ १ गते सुमार्गीले पत्रकार सम्मेलन गरेर सिरोहियाले आफूसँग बार्गेनिङ गरेको आरोप लगाएका थिए । आज सो आरोपको खण्डन गर्दै सिरोहियाको तर्फबाट कान्तिपुर मिडिया ग्रुपले सुमार्गीले विदेशबाट ल्याएको भनिएको रकमको छानबिन हुनुपर्ने बताएका छन् ।

कान्तिपुर मिडिया ग्रुपले जारी गरेको सो विज्ञप्तिमा काठमाडौं, तीनकुनेको जग्गा सुमार्गीले किनेको पुष्टि गरिएपनि सुमार्गीसँग सो जग्गाको कारोबार त्यसै बेला अन्त्य भइसकेको र झन्डै चार वर्षपछि अहिले आएर अतिशयोक्तिपूर्ण तानाबाना बुनेर बदनाम गर्न खोज्नुको कुनै तुक नरहेको उल्लेख छ ।

‘भूकम्पले हाम्रो भवन भत्किएका बेला निज आफैं हाम्रो तीनकुने कार्यालय परिसरमा एकपटक आएयता करिब अढाई वर्षको अवधिमा कहीं–कतै सम्पर्क, भेटघाटसमेत भएको छैन । यस्तो पृष्ठभूमिमा निजसँग सम्पर्कमा रहेको या धम्क्याएको जस्ता सम्पूर्ण आरोपहरू बिल्कुलै निराधार हुन् ।’ सो विज्ञप्तिमा लेखिएको छ ।

सो खण्डन विज्ञप्तिमा सुमार्गीको सम्पत्तिको छानबिन गरिनुपर्ने भन्दै उनीमाथि कारबाही अगाडि नबढाउन सम्पत्ति शुद्धीकरण विभागमाथि राजनीतिक शक्तिविशेषको तीव्र दबाब रहेको देखिएको दाबी गर्दै त्यो अवस्थाको अब अन्त्य हुनुपर्ने माग गरिएको छ ।

यसका साथै सुमार्गीलाई संरक्षण दिइरहने शक्तिलाई पनि छानबिनको दायरामा ल्याइनु पर्ने कान्तिपुर मिडिया ग्रुपद्धारा जारी विज्ञिप्तिमा लेखिएको छ ।


क्लिकमान्डु