त्रिशुलीदेखि बुटवल पावरसम्ममा लगानी गर्दै चिनियाँ कम्पनी, जनतामा छैन विस्वास



काठमाडौं । नेपालको सिमेन्ट तथा पूर्वाधारको क्षेत्रमा एक पछि अर्को गर्दै लगानी बढाउँदै लगेको चिनियाँ व्यापारिक समूहले माथिल्लो त्रिशुली जलबिद्युत आयोजनामा २० अर्ब ३८ करोड लगानी गर्ने इच्छा व्यक्त गरेको छ ।

यस्तै चिनियाँ व्यापारिक समूहले बुटवल पावर कम्पनीको साझेदारीमा जलविद्युत् आयोजनामा लगानी गर्ने तयारी गरेको छ ।

चिनियाँ व्यापारिक समूह हाइड्रो चाइना कर्पोरेसनले १०२ मेगावाट क्षमताको माथिल्लो त्रिशूली २ जलविद्युत् आयोजना निर्माणका लागि चासो व्यक्त गर्दै उद्योग विभागका आवेदन दिएको हो ।

शतप्रतिशत चिनियाँ लगानी रहने गरी उक्त कम्पनीले प्रत्यक्ष वैदेशिक लगानी स्वीकृतिका लागि विभागमा प्रस्ताव पेश गरेको हो ।

कुल २० अर्ब ३८ करोड रुपैयाँ लगानी गर्ने गरी कर्पोरेसनले प्रस्ताव पेस गरेको विभागका वैदेशिक लगानी महाशाखाका प्रमुख खगेन्द्र बस्नेतले जानकारी दिए ।

विद्युत् विकास विभागबाट सर्वेक्षण अनुमति समेत लिएको उक्त कम्पनीले वातावरणीय प्रभाव मूल्यांकन प्रतिवेदनसमेत पेस गरिसकेको छ । विभागमा विद्युत् उत्पादन अनुमतिपत्रको लागिसमेत आवेदन दिइएको छ ।

नेपाल विद्युत् प्राधिकरणसँग विद्युत् खरिद सम्झौता(पिपिए)का लागि प्रक्रिया अगाडि बढाएको उक्त समूहले सबै निकायबाट अनुमति प्राप्त गरे आगामी ६ महिनाभित्रैमा आयोजना निर्माण थाल्ने जनाएको छ ।

हाइड्रो चाइना कर्पोरेसन चीनको एक ठूलो जलविद्युत् कम्पनीमा दर्ज भएको छ । कर्पोरेसनका १० वटा सहायक कम्पनी छन् । उक्त कम्पनीमा १० हजार २ सय जनाले रोजगारीको अवसर पाएका छन् । यसमध्ये ५ हजार ७ सय जना प्राविधिक मात्रै रहेको कम्पनीले जनाएको छ ।

यसअघि लमजुङमा नेपाली व्यापरिक साझेदार सगरमाथा समूहसँग मिलेर सिनो सगरमाथा हाइड्रो मार्फत ५० मेगावाट क्षमता बनाएको चिनियाँ लगानीकर्ता समूहले माथिल्लो मस्र्याङदी जलविद्युत् आयोजना निर्माण गरेको थियो । उक्त आयोजना हाल सञ्चालनमा रहेको छ ।

बुटवल पावरसँग मिलेर काम गर्दै चिनियाँ

बुटवल पावर कम्पनी लिमिटेडमा १ अर्ब ४२ करोड रुपैयाँ बढीको चिनियाँ लगानी भित्रने भएको छ । कुल १०० मेगावाट क्षमताको मनाङ मस्र्याङ्दी जलविद्युत आयोजना निर्माणका लागि उक्त रकम बराबरको चिनियाँ लगानी स्वीकृत भएको उद्योग विभागले जानकारी दिएको छ ।

बुटवल पावर कम्पनी लिमिटेड (बिपीसी) ले यसअघि नै चीनका तीन प्रमुख कम्पनीहरुसँग साझेदारी गरेको छ ।

चीनका ३ प्रमुख हाईड्रोपावर कम्पनी सिचुवान प्रोभिन्सल इन्भेष्टमेन्ट ग्रुप कम्पनी लिमिटेड, चेङ्गदु सिंचेन इन्भेष्टमेन्ट ग्रुप कम्पनी लिमिटेड र छिमयूआन इन्जिनीयरिङ्ग कन्सल्टिङ्ग कम्पनी लिमिटेडले बुटवल पावर कम्पनीबीच गत मंसिरमा नै लगानी सम्बन्धी साझेदारी गरेको कम्पनीका प्रमुख कार्यकारी अधिकृत उत्तरकुमार श्रेष्ठले जानकारी दिए ।

बुटवल पावरले हाल ३७.६ मेगावाटको काबेली ए जलविद्युत आयोजना र ३० मेगावाटको न्यादी जलविद्युत आयोजना निर्माण शुरु गरेको छ । यी दुबै आयोजना सन् २०२० मा सम्पन्न गर्ने लक्ष्य राखिएको थियो । बुटवल पावरले १२ मेगावाटको झिमरुक, ९.४ मेगावाटको आँधीखोला विद्युत् गृह संचालन गर्दै आएको छ ।

चिनियाँ लगानीकर्ताप्रति छैन विश्वास

नेपालमा पछिल्लो समयमा एक पछि अर्को गर्दै चिनियाँ लगानी बढेपनि उनीहरुप्रतिको विश्वास भने घटेको छ । साना लगानी भित्र्याउने, त्यसले नेपालको आर्थिक विकास र समृद्धिमा कुनै योगदान नदिने भएकाले पनि विश्वस कम भएको बताइन्छ ।

नेपाल विद्युत् प्राधिकरणले निर्माण गरेको चमेलिया जलविद्युत् आयोजनाको ठेकेदार गेजुवा ग्रुपका कारण लामो समयसम्म काम नभएको र सधै विवादमा मात्रै पर्ने गरेको थियो ।

चार वर्षमा सकिनुपर्ने ३० मेगावाटको चमेलिया आयोजना १२ वर्ष लाग्यो । केही दिन पहिलेदेखि मात्रै सो आयोजनाको परिक्षण उत्पादन सुरु गरेको छ ।

उता बुढीगण्डकी जलविद्युत् आयोजनामा चिनियाँ कम्पनीको विषयलाई लिएर लामो समयसम्म विवाद भएको थियो । यस्तै चिनियाँ ठेकेदारका कारण १४ मेगावाट क्षमताको कुलेखानी तेस्रो आयोजना लामो समयदेखि विवादमा फस्दै आएको छ ।

पश्चिम सेती जलविद्युत् आयोजनामा समेत चिनियाँ पक्षले सधै निहु मात्रै खोजीरहेको छ । चीनको थ्री गर्जेजले ७५० मेगावाट क्षमताको आयोजनाको विद्युत् खरिद सम्झौतामा चित्त बुझाएको छैन ।

करिब २२ वर्षअघिबाट निर्माणको बहस भएको यो आयोजना विभिन्न विवादले अघि बढ्न सकेको छैन । चिनियाँ सरकारको लगानी रहेको थ्री गर्जेजले २२ हजार ५ सय मेगावाटको विश्वकै ठूलो आयोजना बनाइसकेको छ ।


क्लिकमान्डु