काठमाडौं–निजगढ द्रुतमार्गमा ९९ पुल र जुम्ल्याहा सुरुङ बन्ने



काठमाडौं । काठमाडौं–निजगढ द्रुतमार्गमा ९९ वटा पुल र एउटा जुम्ल्याहा सुरुङ बन्ने भएको छ । द्रुतमार्गमा साना–ठूलागरी ९९ वटा पुल र १.३७ किलोमिटर लामो जुम्ल्याहा सुरुङ बन्ने भएको हो ।

काठमाडौंलाई तराईसँग जोड्ने सबैभन्दा छोटो राजमार्गको रुपमा निर्माण गर्न लागिएको द्रुतमार्गको लम्बाई ७६.२ किलोमिटर रहने छ ।

काठमाडौं–निजगढ द्रुतमार्ग आयोजनाका उप निर्देशक तथा सेनाका सहायक रथी सूर्यप्रसाद खनालले द्रुतमार्गमा १ सय २० किलोमिटरको गतिमा सवारी साधन गुड्ने बताउँछन् ।

‘तीब्र गतिमा सवारी गुड्ने सडक भएकाले धेरै घुमाउँरो सडक निर्माण गर्दा समस्या आउँछ, सवारीको गति घट्न नदिनका लागि जुम्ल्याहा सुरुङको आवश्यक छ,’ खनालले भने ।

एउटा मात्र सुरुङ निर्माण गर्दा गाडीहरु एक आपसमा ठोकिन सक्ने भएकाले सेनाले जुम्ल्याहा सुरुङ निर्माण गर्न लागेको हो । जुम्ल्याहा सुरुङको एकतर्फबाट काठमाडौंबाट तराई आउने र अर्को तर्फबाट तराईबाट काठमाडौं जाने सवारी पास गर्नेछन् । जुम्ल्याहा सुरुङ निर्माण गर्दा सवारी साधन सुरक्षित रुपमा सुरुङबाट पास हुने सेनाको दाबी छ ।

सेनाले एसियाली विकास बैंक (एडीबी)ले सन् २००८ मा तयार पारेको सम्भाव्यता अध्ययनको आधारमा जुम्ल्याहा सुरुङ बनाउने बताएको हो । सेनाले द्रुतमार्ग निर्माणको काम सुरु गरिसकेको छ ।

सेनाले द्रुतमार्ग निर्माणका लागि विभिन्न स्थानमा ५ वटा वेस क्याप राखेको छ । वेस क्याप मार्फत सेनाले द्रुतमार्ग निर्माण गरिने क्षेत्रमा रुख कटान, पहिरो हटाउने, सडक सम्याउने, खाल्डा पुर्नेलगायतको काम गरिरहेको छ ।


क्लिकमान्डु