सहयोग मागेरै मनकामना मन्दिर जीर्णोद्धार, सुन पनि मागियो



गोरखा । प्रसिद्ध धार्मिकस्थल गोरखाको मनकामना मन्दिरको जीर्णोद्धारका लागि भक्तजनबाट छ करोड रुपैयाभन्दा बढी आर्थिक सहयोग संकलन गरेको मनकामना मन्दिर जीर्णोद्धार समितिले मन्दिरको छानामा राख्ने तामाको पातामा जलप लगाउनका लागि सुन मागेको छ ।

मन्दिर पुनःनिर्माण गर्न बजेट अभाव भएपछि समितिले केही वर्षअघिदेखि निरन्तर स्वेच्छिक रुपमा भक्तजनबाट आर्थिक सहयोग लिँदै आइरहेको छ ।

‘मन्दिरको छानामा जलप लगाउन सुन अभाव भयो । सुन किन्न पर्याप्त बजेट भएन,’ मन्दिर जीर्णोद्धार समितिका संयोजक नरेन्द्रबाबु श्रेष्ठले भने, ‘सुन चढाउन चाहने भक्तजनलाई खुल्ला गरेका छौँ ।’

मन्दिरमा चढाइएको भेटी तथा सुन मन्दिर जीर्णोद्धारमा लगानी गरिएको छैन । चढाइएको भेटी तथा सुनलगायत जिन्सी सामग्री पुजारीले लिन्छन् ।

‘मन्दिरभित्र सुन चढाउनुभन्दा मन्दिर जीर्णोद्धार समितिलाई सुन उपलब्ध गराएमा मन्दिरको छानामा जलप लगाउन पाइन्छ भने अर्कोतिर भक्तजनको नाम पनि रहन्छ,’ संयोजक श्रेष्ठले भने ।

मन्दिर दर्शनका लागि नेपाल र भारतबाट भक्तजन आउँछन् । प्रायःगरी सुन ब्यापारीले भाकलस्वरुप मन्दिरमा सुन चढाउँछन् । मन्दिरको छानामा जलप लगाउन भक्तजनले सुन दिन थालेका छन् ।

‘एकजना भक्तजनले दिएको २० ग्राम सुन उहाँकै आँखा अगाडि गाल्यौँ, पेस्ट बनाएर तामाको पातामा जलप लगाइदियौँ,’ श्रेष्ठले भने ।

मन्दिरको छाना चार हजार वर्गफुट छ । एक तोला सुनले तीन वर्गफुटमा जलप लगाउन सकिने पुरातत्वको मापदण्ड छ । जलप लगाउन कम्तीमा १८ किलोग्राम सुन आवश्यक पर्ने जीर्णोद्धार समितिको अनुमान छ ।

काठमाडौँ निवासी सुन्दरकृष्ण शाहीले तामाको पाता र मन्दिर जीर्णोद्धारमा आवश्यक इँट्टा काठमाडौँकै हिराकाजी महर्जनले दान गरेका थिए ।

मन्दिर जीर्णोद्धारमा अहिलेसम्म आठ करोड रुपैयाँ खर्च भइसकेको छ । कम्तीमा १२ करोड रुपैयाँ खर्च गरेपछि मात्रै मन्दिर पुरानै स्वरुपमा फर्कनेछ । मन्दिर पुनःनिर्माण गर्न सरकारले भने जीर्णोद्धार समितिलाई चार करोड रुपैयाँ दिएको थियो ।


क्लिकमान्डु