बिजुली दिन नसकेको सेजले १५ दिन भित्र उद्योग दर्ता नगरे कारवाही गर्ने सुचना निकाल्यो



काठमाडौं । सरकारले आगामी १५ दिन भित्र भैरहवा स्थित विशेष आर्थिक क्षेत्र(सेज)मा उद्योग दर्ताको अनुमति लिन आग्रह गरेको छ ।

विशेष आर्थिक क्षेत्र विकास समितिले आज एक सूचना प्रकाशित गरी उद्योग स्थापनाका तथा सञ्चालनका लागि सम्झौता गरेका उद्योगी तथा लगानीकर्तालाई अनुमतिपत्र लिन आग्रह गरेको हो ।

उद्योग सञ्चालनका लागि सम्झौता गरेका उद्योगीले तोकिएको म्याद भित्र अनुमति नलिएका प्रचलित कानुन बमोजिम कारवाही गर्नेसमेत सूचनामा उल्लेख छ ।

उद्योगीले भने सेजमा विद्युत् नभएको र अन्य भौतिक पूर्वाधारको समेत उपलब्धता नभएको भन्दै उद्योग स्थापनामा त्यत्ति चासो देखाएका छैनन् ।

उद्योग मन्त्रालय र नेपाल विद्युत् प्राधिकरणबीच विद्युत् लाइन जडान तथा सवस्टशेन निर्माणका सम्बन्धमा विवाद जारी रहेको छ । प्राधिकरणले विजुली नदिएको आरोप उद्योग मन्त्रालयको छ ।

प्राधिकरणले भने आफूहरुले उद्योग परिसरसम्म मात्रै विद्युत् लाइन बनाइदिने भएपनि सवस्टेशन निर्माणको जिम्मा आफूहरुको नभएको बताउँदै आएको छ ।

आगामी चैतभित्र विद्युत् उपलब्ध गराउन आफूहरु तयार रहेको प्राधिकरणको भनाइ छ । तर सवस्टेशन नबन्दा सेज भित्र विद्युत् प्रवाह कसरी हुन्छ भन्नेमा हालसम्म कोही कसैले केही बताएका छैनन् ।

प्राधिकरणले सेजलाई तत्काल १० मेगावाट विद्युत् उपलब्ध गराउन सक्ने बताउँदै आएको छ । तर पूर्वाधार निर्माणमा भने कोही कसैले ध्यान दिएको छैन । उद्योगीले समेत सरकारले पूर्वाधार निर्माणमा ध्यान नदिएको भन्दै बाहिर उद्योग स्थापना गर्ने बताएपनि भित्र भने पूर्वाधारको प्रतिक्षा गरिरहेका छन् ।


क्लिकमान्डु