‘तपाइको सपनाको घर’ बनाउन प्रयोग हुने सिमेन्ट त यस्तो पो रहेछ !




काठमाडौं । धेरै नेपालीको सपना हुने गरेको छ – आफ्नै कम्तिमा एउटा घर होस् । र, त्यो घर पनि सकेसम्म सहरी क्षेत्रमै होस् ।

सहरका घर भन्ने वित्तिकै तपाइले अनुमान गर्नुभयो होला – इटा, सिमेन्ट र फलामे छडले बनेका घर । आधुनिक मानिने यस्ता घर बनाउन सामान्य आर्थिक अबस्था भएको एउटा परिवारले जीवनभरको कमाइ लगानी गरेको हुन्छ ।

अब हामी यहाँ तपाइलाई सिमेन्टको कथा सुनाउदै छौं । तपाइको परिवारले जीवनभरको कमाइ लगानी गरेर बनाएको वा बनाउने तयारी गरेको सपनाको घर बनाउने एउटा महत्वपूर्ण बस्तु सिमेन्ट हो । सिमेन्ट कमजोर भयो भने घर कमजोर मात्रै हुदैन, त्यही घरले किचेर परिवारै मार्न पनि सक्छ ।

सरकारी निकायले गरेको परीक्षणमा सरकारी लगानीको उद्योगले नै उत्पादन गरेको सिमेन्ट पनि गुणस्तरहीन भएको पाइएको छ ।

अहिले बजारमा करिब ४८ वटा ब्राण्डका सिमेन्ट छन् । विभिन्न ब्राण्डका ८८ सिमेन्टहरुले उत्पादन अनुमति लिएका छन् । नेपालको मात्र नभएर भारतका २ सिमेन्ट उद्योगले उत्पादन गरेको ३ सिमेन्टलाई नेपाल गुणस्तर तथा नापतौल विभागले इजाजत दिएको छ ।

विभागले आर्थिक वर्ष २०७४ मा ७० प्रतिशत अनुगमन पूरा गरेको विभागका निर्देशक आलोक कुमार मिश्रले जानकारी दिए ।

अनुगमनका क्रममा हेटौडा सिमेन्टमा साउनेस बढी देखिएको छ । हेटौडा सिमेन्टमा ३ पटकसम्म यस्तो समस्या भेटिएको विभागको भनाइ छ । यस्तो समस्या देखिएपछि विभागले केही समय विक्री वितरण बन्द समेत गराएको थियो । सो सिमेन्ट सरकारी लगानीको हेटौडा सिमेन्ट उद्योगले उत्पादन गर्ने गर्छ ।

साउनेस बढी हुनु भनेको ढलानको पकड कम हुनु हो । यस्तो समस्या भएको सिमेन्टले गरेको ढलान कमजोर हुने र निर्माण गरिएका संरचना छिट्टै भत्किने जस्ता समस्या देखिने विभागको भनाइ छ ।

सर्वोत्तम सिमेन्टमा म्याग्नेसियमको मात्रा बढी भेटिएको छ । म्याग्नेसियम बढी हुँदा त्यसले ढलानको स्ट्रकचरमा समस्या पर्ने भएकाले केही समयलाई उक्त सिमेन्टको विक्री वितरण बन्द गरिएको थियो ।

बिसाल सिमेन्टमा आइआरको मात्रा बढी पाइएको छ । आइआर बढी हुनु भनेको सिमेन्टमा खरानीको मात्रा बढी हुनु हो । सिमेन्टमा खरानी बढी भएमा त्यसले स्ट्रक्चरमा समस्या ल्याउने प्राविधिकहरु बताउँछन् ।

मन्सा सिमेन्टमा फाइनेस नभएको छ । फाइनेस नहुँनु भनेको सिमेन्ट जतिसम्म पिसिनु पर्ने हो त्यति नपिसिनु हो । यसले सिमेन्टको गुणस्तरलाई कम गर्ने गर्छ ।

एपी सिमेन्टमा साउनेस बढी भएको पाइएको छ । यस्तै अनुगमनका क्रममा अम्बे सिमेन्टले कम गुणस्तरको सिमेन्टलाई गुणस्तरीय सिमेन्ट भनेर विक्री वितरण गरेको पाइएकोले अम्बे सिमेन्टको विक्री वितरण रद्द गरिएको छ ।

अग्नी सिमेन्टमा आइआर बढी पाइएको र बुटवल सिमेन्टमा म्याग्नेसियम बढी पाइएको विभागले जनाएको छ । कुनै पनि सिमेन्टमा तोकिएको मापदण्डभन्दा मात्राहरु घटीबढी भएमा त्यसबाट बन्ने संरचनामा नै समस्या पुग्न सक्ने निर्देशक मिश्रले बताए ।


क्लिकमान्डु