खोला किनार र राजकुलो छेउमा घडेरी किन्नुभएको छ ? छ भने घर बनाउन नपाइन सक्छ




काठमाडौं । केही सस्तो पाइने वा दलालको भरमा परेर खोला किनारको जग्गा किन्नु भएको छ ? छ भने त्यो जग्गामा घर बनाउन नपाइन पनि सक्छ ।

सरकारले खोला किनारमा घर बनाउन नयाँ मापदण्ड तोकेको छ । काठमाडौं उपत्यकाभित्रका विभिन्न खोला र नदीको आधार निश्चित जग्गा छोडेर मात्रै घर बउनाउनु पर्ने नयाँ नियमका कारण तपाइले घर बनाउन किनेको घडेरीमा घर बनाउन नपाइने हुन सक्ने भएको हो ।

काठमाडौं उपत्यकामा तीब्र शहरीकरणसँगै मानिसहरुले जग्गाको अभावमा खोला किनारमा समेत घर बनाउने गरेका छन् । खोला किनारमा घर बनाउन सरकारले उपत्यकाका खोला अनुसार मापदण्ड तोकेको छ ।

उपत्यकाका खोला किनारबाट अधिकतम २० मिटरदेखि न्यूनतम ४ मिटर दुरीमा मात्रै घर बनाउन सकिने व्यवस्था सरकारले गरेको छ । घर बनाउँदा खोला, राजकुलो तथा खोल्सी भने छोप्न पाइने छैन ।

सरकारले काठमाडौं उपत्यकाभित्रका सबै खोला र नदी किनारको निश्चित जमिन छोडेर मात्रै घर बनाउनु पर्ने नियम बनाएको हो । नयाँ मापदण्ड अनुसार बागमती, विष्णुमती र मनहरा खोलामा खोलाबाट दुबैतिर २० मिटर दुरी छोडेर मात्रै घर बनाउन पाइने भएको छ ।

यस्तै धोबीखोलाको हकमा धोबीखोला आयोजना भएको स्थानमा प्रोजेक्टको प्लानिङ अनुसारको दुरी र प्लानिङ बाहेकका स्थानमा ९ मिटर दुरी पर मात्रै घर बनाउन पाइनेछ । नख्खु खोलामा भने दुबै किनारमा १२ मिटर जमिन छोडेर मात्रै घर तथा अन्य संरचना बनाउन पाइने छ ।

उपत्यकाका बल्खु, कर्मनासा, कोइकु, साङ्ले र महादेव खोलामा १० मिटर छोडेर मात्रै घर बनाउन पाइने छ भने करखुसी खोलामा ६ मिटर जमिन छोडर मात्रै घर बनाउन पाइने छ ।

नयाँ मापदण्ड अनुसार टुकुचा, सामाखुसी र उपत्यकामा बग्ने अन्य खोलामा ४ मिटर जमिन छोड्नु पर्नेछ । कुनै पनि खोला, खोल्सी र राजकुलो छोप्न पाईने छैन । यस्तै हनुमन्ते खोला बग्ने क्षेत्रका नगरोन्मुख क्षेत्रहरुमा समेत खोलाको किनारबाट २० मिटर छोडेर घर तथा अन्य संरचना निर्माण गर्न पाइने छ ।

राजकुलोको दुबैतिर १५ फिट
यस्तै राजकुलो कायम भएको र नक्सामा समेत राजकुलो देखिने स्थानबाट दुबैतिर १५/१५ फिट जमिन छोडेर मात्रै घर तथा संरचना बनाउन पाइनेछ । यस्तो ब्यवस्थाले राजकुलो बाटो कायम हुन्छ भन्दै जग्गा दलालको भरमा घडेरी किनेका सर्बसाधारणले दुबै छेउमा १५/१५ फिट जमिन छोडेर मात्रै घर तथा संरचना बनाउन पाउने छन् ।


क्लिकमान्डु