बिराटनगरको कार्यक्रमः फोहोर फोल्नेको सुचना दिनोस्, नगद पुरस्कार लिनोस्




काठमाडौं । फोहोर ब्यवस्थापन चुनौतिपूर्ण बन्दै गएपछि विराटनगर महानगरपालिकाले अनौठो योजना सार्बजनिक गरेको छ । महानगरले जथाभाबी फोहोर फाल्नेको सुचना दिनेलाई पुरस्कृत गर्न थालेको हो ।

फोहोर ब्यवस्थापन चुनौतिपूर्ण बन्दै गएपछि सर्बसाधारणको सहभागितामा यसको ब्यवस्थापन गर्न नयाँ नियम लागू गरिएको मेयर भीम पराजुलीले जानकारी दिए ।

‘फोहोर ब्यवस्थापन गर्न सहभागितामूलक कार्यक्रम संचालन गरिएको हो, जथाभाबी फोहोर फालेको कसैले प्रमाणसहित सुचना दियो भने त्यस्ता ब्यक्तिलाई पुरस्कृत गर्ने गरिएको छ,’ मेयर पराजुलीले क्लिकमाण्डूसँग भने ।

विराटनगर क्षेत्रमा फोहोर ब्यवस्थापन गर्न कठिन भएपछि महानगरले जनचेतना कार्यक्रमसँगै यस्तो कार्यक्रम पनि संचालन गरेको हो । जथाभाबी फोहोर फाल्ने ब्यक्तिलाई जरिवाना तिराउने र सोही रकमबाट निश्चित प्रतिशतसम्म पुरस्कार दिने ब्यवस्था मिलाइएको मेयर पराजुलीको भनाइ छ ।

‘जथाभाबी फोहोर फालेको प्रमाण भेट्टयायौं भने त्यस्ता ब्यक्तिलाई नगद जरिवाना गर्ने गरिएको छ, त्यस्तो जरिवाना रकमबाट प्रमाणसहित सुचना दिने ब्यक्तिलाई नगद पुरस्कार दिने नीतिगत ब्यवस्था गरिएको हो,’ पराजुलीले भने ।

जरिवाना रकमबाट ३० प्रतिशतसम्म नगद सुचना दिने ब्यक्तिलाई प्रदान गर्ने गरिएको मेयरको भनाइ छ । यसरी सुचना दिने कार्यमा जोकोहीले पनि सहभागिता जनाउन सक्ने ब्यवस्था महानगरले मिलाएको छ ।


क्लिकमान्डु