१२ वर्ष कान्छो मुक्तिनाथ कैलाशलाई उछिन्दै नाफामा यसरी बन्यो ‘नम्बर वान’



काठमाडौं । मुक्तिनाथ विकास बैंक नाफाका आधारमा पहिलोपटक नम्बर वान विकास बैंक बन्न सफल भएको छ । एक वर्षअघि अर्थात् ०७३ माघ देखि काठमाडौंमा प्रधान कार्यालय राखेर कारोबार सुरु गरेको मुक्तिनाथले छोटो अवधिमै अरु विकास बैंकहरुलाई उछिनेको हो ।

२ वर्षअघि नै क्षेत्रीयस्तरबाट राष्ट्रियस्तरमा स्तरोन्नति भएपनि पोहोर साल मात्रै काठमाडौंमा मुख्य कार्यालय स्थापना गरेको हो ।

मुक्तिनाथ काठमाडौं आएपछि सबैभन्दा ठूलो चुनौति भयो कैलाश र महालक्ष्मी विकास बैंकलाई । ५ वर्षदेखि लगातार नाफाका आधारमा नम्बर वान विकास बैंकको स्थानमा रहेको कैलाशलाई चालू आर्थिक वर्षको सुरुदेखि नै मुक्तिनाथले उछिनेको हो भने व्यवसायको आकारका आधारमा अझै पनि नम्बर वान रहेको महालक्ष्मीलाई नाफामा ६ करोड रुपैयाँले उछिन्यो ।

लामो समयदेखि मुक्तिनाथले कैलाशलाई पछ्याइरहेको थियो । यी दुई पोखरेली विकास बैंकको भीडन्त निकै रोचक छ ।

एउटा सानो संस्थालाई मात्रै मर्जर गरेर अघि बढिरहेको मुक्तिनाथ नाफाका आधारमा पहिलो र व्यवसायको आधारका आधारमा दोस्रो बैंक बन्न सफल हुनुले आगामी दिनमा यो बैंक लगातारजसो नम्बर वान बन्ने देखिन्छ ।

क्षेत्रीयस्तरको संस्थाका रुपमा स्थापना भई पोखराबाट वित्तीय कारोबार सुरु गरेर दुबैं विकास बैंक स्तरोन्नति हुँदै राष्ट्रियस्तरका विकास बैंक बनेका हुन् । त्यतिमात्रै होइन, राष्ट्रियस्तरमा पनि यी विकास बैंक लिडिङ बैंक हुन् ।

कैलाशको पृष्ठभूमि खोतल्दै जाने हो भने मुक्तिनाथको भन्दा १२ वर्ष लामो इतिहास छ । २०५१ सालमा अन्नपूर्ण फाइनान्सका नाममा स्थापना भएको यो संस्था पछि विकास बैंकमा स्तरोन्नति भई कैलाश विकास बैंकको नामबाट सञ्चालित भएको हो ।

मुक्तिनाथ २०६३ सालमा लघुवित्तको कारोबारलाई कन्द्रमा राखेर स्थापना भएको संस्था हो । अहिले पनि मुक्तिनाथले लघुवित्त र कमर्शियल बैंकिङ दुबै गर्दै आएको छ ।

कैलाशले मेट्रो डेभलपमेन्ट बैंक र नेपाल एक्सप्रेस फाइनान्सलाई गाभेर आफ्नो आकारलाई ठूलो बनाएको थियो भने मुक्तिनाथले १ जिल्ले सिभिक विकास बैंकलाई गाभेको थियो ।

चालू आर्थिक वर्षको पुस मसान्तमा मुक्तिनाथ विकास बैंकले ४० करोड ४६ लाख रुपैयाँ सञ्चालन नाफा कमाएको छ भने कैलाशले २८ कोड २२ लाख रुपैयाँ सञ्चालन नाफा कमाएको छ । यद्यपि खुद नाफामा भने अझै पनि १७ लाख रुपैयाँले कैलाश विकास बैंक अघि छ । तर, नाफाको स्रोतका आधारमा मुक्तिनाथले कैलाशलाई उछिनेको छ ।

पुस मसान्तको वित्तीय विवरणमा कैलाशले संभावित जोखिम व्यवस्थाका लागि छुट्याएको साढे ४ करोड रुपैयाँ फिर्ता गरेका कारण मात्रै खुद नाफा बढी देखिएको हो ।

कैलाशलाई जिते पनि व्यवसायको आकारमा मुक्तिनाथले महालक्ष्मी विकास बैंकलाई भने जित्न सकेको छैन । व्यवसायको आकारका आधारमा विभिन्न संस्थाहरु मर्ज भई केही समयअघि स्थापना भएको महालक्ष्मी विकास बैंक पहिलो नम्बरमा छ ।

निक्षेप २५ अर्ब कर्जा २० अर्ब रुपैयाँ भएपनि महालक्ष्मीको नाफा २० करोड रुपैयाँ मात्रै छ ।

मुक्तिनाथले यसरी नै ग्रोथ गर्दै जाने हो भने सबै सूचकमा आगामी १/२ वर्षमै महालक्ष्मीलाई पनि जितेर अधिकांस सूचकमा पहिलो नम्बरको विकास बैंक बन्ने संभावना देखिन्छ ।

नाफाका आधारमा मात्रै होइन, मुक्तिनाथले कैलाशलाई चुक्ता पुँजीमा पनि उछिनेको छ । ०७४ पुस मसान्तसम्ममा मुक्तिनाथको चुक्ता पुँजी २ अर्ब ५९ करोड रुपैयाँ छ भने कैलाशको चुक्ता पुँजी २ अर्ब ५२ करोड रुपैयाँ छ ।

निक्षेप र कर्जामा भने मुक्तिनाथले कैलाशलाई निकै पछि पारेको छ । चालु आवको दोस्रो त्रैमासमा मुक्तिनाथले २१ अर्ब ७३ करोड रुपैयाँ निक्षेप संकलन गरी १९ अर्ब ३३ करोड रुपैयाँ कर्जा प्रवाह गरेको छ । यसै अवधिमा कैलाशले १९ अर्ब ११ करोड रुपैयाँ निक्षेप संकलन गरी १७ अर्ब ५१ करोड रुपैयाँ कर्जा प्रबाह गरेको छ ।

कुल सम्पत्तिका आधारमा पनि कैलाशभन्दा मुक्तिनाथ अघि छ । मुक्तिनाथको कुल सम्पत्ति २५ अर्ब ८६ करोड रुपैयाँ बराबरको छ भने कैलाशको २३ अर्ब ८० करोड रुपैयाँ बराबरको छ ।

महालक्ष्मी यी दुबै विकास बैंकभन्दा निकै अघि छ । महालक्ष्मीको कुल सम्पत्ति ३० अर्ब ९ करोड रुपैयाँ बराबरको छ ।

कर्मचारी खर्चको तुलना गर्ने हो भने कैलाशभन्दा मुक्तिनाथले झन्डै दोब्बर बढी कर्मचारी खर्च गर्छ । चालू आर्थिक वर्षको पुस मसान्तमा कैलाशले ९ करोड ५९ लाख रुपैयाँ कर्मचारी खर्च गरेको छ भने मुक्तिनाथले १५ करोड ९९ लाख रुपैयाँ खर्च गरेको छ ।

यी दुई बैंकबीच खराब कर्जाको तुलना गर्ने हो भने मुक्तिनाथ कहाँ हो कहाँ माथि छ कैलाशभन्दा । कैलाश विकास बैंकले प्रवाह गरेको कर्जामध्ये ०.५६ प्रतिशत खराब कर्जा छ भने मुक्तिनाथले प्रवाह गरेको कर्जामध्ये ०.१ प्रतिशत मात्रै खराब कर्जा छ । खराब कर्जाको प्रतिशत जति कम भयो त्यो संस्था त्यति नै राम्रो मानिन्छ ।

व्यजादरमा भने कैलाशभन्दा मुक्तिनाथ केही महंगो छ । कैलाशको बेस रेट ११.६६ प्रतिशत छ भने मुक्तिनाथको बेस रेट ११.९८ प्रतिशत छ । त्यतिमात्रै होइन, यी दुई बैंकको निक्षेपमा दिने र कर्जामा लिने ब्याजदरबीचको अन्तर (स्प्रेड) मा भने निकै ठूलो अन्तर देखिएको छ ।

कैलाशले निक्षेपकर्तासँग लिएको निक्षेपमा ४.८० प्रतिशत बढी ब्याज लिएर ऋणीलाई ऋण दिन्छ भने मुक्तिनाथले ६.६३ प्रतिशत थपेर ऋण दिन्छ । मुक्तिनाथले लघुवित्तको कारोबार गर्ने हुँदा जोखिम बढी हुने भएकाले स्प्रेड बढी राखेको हो ।

राष्ट्रियस्तरका विकास बैंकमा पोखराबाट सुरु भएका विकास बैंकले मोनोपोली नै कायम राखेका छन् ।

पोखराबाटै सुरु भएका गण्डकी विकास बैंक र गरिमा विकास बैंकले मुक्तिनाथ र कैलाशलाई पछ्याइरहेका छन् । नाफाकै आधारमा हेर्ने हो भने पनि चालू आर्थिक वर्षको पुस मसान्तसम्ममा गण्डकी विकास बैंकले २० करोड र गरिमाले १८ करोड रुपैयाँ नाफा कमाएका छन् ।

त्यसपछि पनि पोखराबाटै सुरु भएका सांग्रिला विकास बैंक, ओम डेभलपमेन्ट बैंक र कामना विकास बैंक छन् । सांग्रिलाले १६ करोड, ओमले १५ करोड र कामनाले १३ करोड रुपैयाँ नाफा कमाएका छन् ।

काठमाडौं लगायत अन्यत्र ठाउँबाट कारोबार सुरु गरेका विकास बैंकहरुलाई पोखरेली बैंकले उछिनेका हुन् । पोखरा बाहेकका विकास बैंकहरुमा ज्योति विकास बैंक, लुम्बीनी विकास बैंक, देव विकास बैंक मात्रै अस्तित्वमा छन् । ज्योति, लुम्बीनी र देब विकास बैंक ३ वटैले १४÷१४ करोड रुपैयाँ कमाएका छन् ।

एउटा सानो संस्थालाई मात्रै मर्जर गरेर अघि बढिरहेको मुक्तिनाथ नाफाका आधारमा पहिलो र व्यवसायको आधारका आधारमा दोस्रो बैंक बन्न सफल हुनुले आगामी दिनमा यो बैंक लगातारजसो नम्बर वान बन्ने देखिन्छ ।


पुष्प दुलाल