केही महिनाभित्रै बाग्मती नदीबाट निकालिएको २२ मेगावाट बिजुली बाल्न पाइने



काठमाडौं । वाग्मतीमा कति पानी हुन्छ ? काठमाडौँमा बस्ने सबैले देखेकै छन् । हिन्दु धर्मले वाग्मतीलाई पवित्र नदीको संज्ञा दिएको छ । वाग्मतीलाई नदी होइन, ढलको रुपमा देखिएको पनि लामै समय भयो । पानी भन्दा फोहोर बढी बग्छ भन्छन् जान्ने बुझ्नेहरु वाग्मतीमा ।

तर वाग्मतीमा नै २२ मेगावाट क्षमताको जलविद्युत् आयोजना निर्माण सम्पन्न हुने चरणमा पुगेको छ भन्ने एक्कासी सुन्दा तपाईलाई अचम्म र अस्वभाबिक लाग्न सक्छ ।

तर, अचम्म नमान्नुहोस्, केही महिनाभित्रै तपाईंले वाग्मती नदीबाट उत्पादित बिजुली बाल्न पाउनुहुन्छ ।

माण्डु हाइड्रो पावरले आगामी असार मसान्तदेखि २२ मेगावाट क्षमताको विद्युत् उत्पादन गर्ने गरी आवश्यक तयारी गरिरहेको छ ।

ललितपुर र मकवानपुरको सीमामा वाग्मती नदीमा निर्माण गरिएको आयोजनाको करिब ८० प्रतिशत निर्माण सकिएको आयोजनाले जनाएको छ ।

आयोजनाकाअनुसार २०७२ जेठबाट निर्माण थालिएको आयोजनाको बाँध, सुरुङ र विद्युत्गृहको काम एकसाथ काम भइरहेका छ ।

आयोजनाका इन्जिनियर रत्न बम्जनकाअनुसार आयोजनाको २ हजार ४४० मिटर लामो सुरुङ गत शुक्रबार नै ब्रेक थ्रू भएको छ ।

सुरुङ निर्माणमा पहिलो पल्ट नेपाली कम्पनीले नै काम सम्पन्न गरेको हो । साउथ एसियन इन्फ्रास्ट्रक्चरले सो सुरुङ निर्माण गरेको हो । बढीमा आगामी ४ महिनाभित्र सुरुङ, बाँध र विद्युत् गृहको काम पूरा हुनेछ ।

आयोजनाबाट विद्युत् कुलेखानी पहिलोको सवस्टेशनमा लगेर जोड्ने तयारी गरिएको छ । आयोजनाको कुल लागत ४ अर्ब रुपैयाँ रहेको छ ।


पुष्प दुलाल