पर्यटकीय नगरी ठमेलमा यो असारमा ‘धान रोप्नु’ नपर्ने



काठमाडौं । काठमाडौंको मूख्य पर्यटकीय नगरी ठमेल केही वर्षयता बर्षायाममा हिलाम्मे हुँने गरेको थियो । ढल व्यवस्थित गर्न नसक्दा वर्षादमा पानी पर्दा हिलाम्मे र घाम लाग्दा धुलाम्मे हुने गरेको थियो ।

यतिसम्म कि गत असार १५ गते स्थानीयबासीले हिलाम्मे सडकमा धान रोपेर बिरोध जनाएका थिए । भर्खरै निर्वाचित जनप्रतिनिधिहरुलाई त्यसले ठूलो दबाब सिर्जना गरेको थियो ।

त्यसैले यो वर्ष ठमेलमा धान रोप्नुपर्ने अवस्थाको सिर्जना नगर्न आफू लागि परेको बताउँछन् ठमेल एरिया अर्थात् काठमाडौं महानगरपालिका वडा नं. २६ का वडाध्यक्ष ख्यामराज तिवारी ।

हिउँदको समयमा पानी नपर्ने भएकाले अहिले हालिएका ढल र पीच दिगो हुने भएकाले अब ठमेलमा सुधार आउने देखिन्छ । तर, त्यसका लागि काम भने गुणस्तरीय हुनु जरुरी छ ।

‘ठमेललाई हिलो र धुलोबाट मुक्त गराउने कार्यमा म सुरुदेखि नै चिन्तित थिएँ, गत वर्ष भर्खरै मात्र निर्वाचित भएकाले काम गर्नसक्ने अवस्था थिएन, यो वर्षको बर्खायाममा ठमेलमा हिलो नहुने गरी काम गरिरहेका छौं,’ वडाध्यक्ष तिवारीले क्लिकमाण्डूसँग भने ।

खासगरी, जिर्ण अवस्थामा रहेका ढलका कारण वर्षायाममा पानी तथा ढलको निकास हुन नसक्दा ठमेल हिलाम्मे हुने गरेको उनको भनाई छ ।

‘पूराना ढलका पाइपले बर्षातको पानीलाई पूर्णरुपमा निकास दिन सकिरहेका छैनन्, पूराना पाइपलाई विस्थापित गरेर नयाँ पाइप राखिएमा ठमेल क्षेत्रमा बर्षातमा हिलो हुने छैनन्, जुन काम अहिले गरिरहेका छौं,’ उनले भने ।

वडाले गत शनिवबादेखि नरसिंह चोक र अमृत कलेज अगाडि नयाँ ढलका पाइप बिछ्याउने काम थालेको छ । आगामी २ साताभित्र ढलको पाइप बिछ्याइसक्ने र २ महिनाभित्र ठमेलका सबै सडकहरु पीच गरिसक्ने गरि काम भइरहेको वडाध्यक्ष तिवारीले सुनाए ।

ठमेल क्षेत्रमा ३ सय ७० मिटर ढलको पाइप विछ्याउन र पिच गर्नका लागि महानगरपालिकाले १ करोड १० लाख रुपैयाँ बजेट विनियोजन गरेको पनि उनले सुनाए ।

अघिल्ला बर्षहरुमा पनि ठमेलका सडकहरु पीच नभएका भने होइनन् । तर, जनप्रतिनिधि नहुँदा बजेट सक्ने उदेश्यले आर्थिक वर्षको अन्त्यमा रातारात काम हुने गरेकाले पीच टिक्न सकेको थिएन ।

‘गत बर्ष स्थानीय निर्वाचन अघि ठमेलका केहि स्थानमा ढल परिवर्तन गर्ने काम भएका थिए, त्यस समय पानी परेकाले ढल माथिको पीच राम्रोसँग सेट हुन पाएन । र, बर्षातको पानीका कारण सडक हिलोमय बन्न पुग्यो,’ तिवारीले भने ।

विगत ५ बर्षदेखि ठमेलमा विन्दु हेयर ड्रेसर संचालन गर्दौ आएका विनोद ठाकुर ठमेल क्षेत्रमा बार्षिक रुपमा ढलका पाइप फेर्ने र सडक पीच गर्ने काम देखिरहेको बताउँछन् ।

‘अघिल्लो बर्षमा बर्षको समयमा यो काम हुने गरेको थियो, यसबर्ष हिउँमै यस्तो काम भएकाले बर्षातमा बाटो हिलो नहुनसक्छ,’ ठाकुरले भने ।

हिउँदको समयमा पानी नपर्ने भएकाले अहिले हालिएका ढल र पीच दिगो हुने भएकाले अब ठमेलमा सुधार आउने देखिन्छ । तर, त्यसका लागि काम भने गुणस्तरीय हुनु जरुरी छ ।


पुष्प दुलाल