‘जहाँ सडक, त्यहाँ पल्सर’, यसरी बढ्दैछ नेपालीको मोटरसाइकल मोह



काठमाडौं । सार्वजनिक यातायातको भरपर्दो अवस्था नहुँदा नेपाली बजारमा दुईपांग्रे सवारीको प्रयोग बढ्दै गइरहेको छ । आर्थिक वर्ष २०७३/०७४ सम्ममा देशभर सवारीसाधनको संख्या २७ लाख ८३ हजार ४ सय २८ पुगेको छ ।

त्यसमध्ये २१ लाख ८९ हजार ९९ वटा मोटरसाइकल दर्ता भएको यातायात व्यवस्था विभागको तथ्यांकले देखाउँछ । दुईपांग्रे सवारीमा मोटरसाइकलको संख्या धेरै रहेको छ । पछिल्लो समय स्कुटरको संख्या पनि बढ्दै गइरहेको छ ।

नेपालमा मोटरसाइकल मोह धेरै रहेको देखिन्छ । सहरी बाटोहरूमा न्यून इन्जिन क्षमताका मोटरसाइकल धेरै प्रयोग हुने भए पनि सहरी तथा ग्रामिण बाटोमा जानेहरूले १ सय ५० सीसी इन्जिन क्षमताका मोटरसाइकल बढी रुचाउँछन् ।

धेरै सीसी इन्जिन क्षमताका मोटरसाइकल कुदाउन नेपालको बाटोलाई उपयुक्त मानिँदैन वा बाटो नै छैन । त्यसैले १ सय ५० सीसी इन्जिन क्षमताका मोटरसाइकल नेपाली बजारमा धेरै माग हुने गरेको छ ।

बजाजको पल्सर १ सय ५० सीसीको मोटरसाइकल २०१६ को अप्रिलदेखि २०१७ को जनवरीसम्मको १० महिनाको अवधिमा १९ हजार ६६ वटा भित्रिएको भन्सारको तथ्यांक छ ।

यसरी हेर्दा पल्सरको १ सय ५० सीसी सेगमेन्टको मोटरसाइकल नेपाली बजारमा दैनिक ६३ वटा भन्दा धेरै बिक्री हुने गरेको छ । बजाजको मात्र होइन, सबै कम्पनीका १ सय ५० सीसी सेगमेन्टका मोटरसाइकल उक्त अवधिमा ५७ हजार ६ सय ९५ वटा भित्रिएका थिए ।

पल्सर नेपाली बजारमा सन् २००१ मा नै आएको थियो । बजाजको नेपालका लागि आधिकारिक वितरक हंसराज हुलासचन्द एण्ड कम्पनी रहेको छ । नेपालको कुनै यस्तो बाटो छैन, जहाँ पल्सर नपुगेको होस् वा नभेटिएको होस् भनेर कम्पनीले दाबी गर्दै आएको छ ।

बजाज नेपालमा धेरै मन पराउनुको पछाडिको मुख्य कारण यो जस्तोसुकै कठिन बाटोमा समेत सहजै जानसक्ने भएकाले हो । साथै बजाजले दुईपांग्रे सवारी साधनको लुक्समा नै परिर्वतन ल्याइदिएको कम्पनीको भनाइ छ । पल्सरको आकर्षक लुक्स, पर्फर्मेन्स र उत्कृष्ट माइलेजले युवाको पहिलो रोजाइमा पर्न सफल भएको हो ।

मोटरसाइकल होस् वा अन्य कुनै सवारीसाधन होस, त्यसको खरिदपश्चात आवश्यक पर्ने सेवा तथा स्पेयर पार्टस् पनि हो । बजाजको स्पेयर पार्टस् तुलनात्मक रूपमा सस्तो र त्यो भन्दा बढी सहज उपलब्धताले पनि उपभोक्तालाई यो कम्पनीको मोटरसाइकलप्रति आकर्षित गरेको हो ।

‘पावर सेगमेन्ट’को रूपमा चिनिने १ सय ५० सीसीका मोटरसाइकल नेपाली उपभोक्तामाझ लोकप्रिय रहेको देखिन्छ । युवादेखि उमेर ढल्किन थालेका अधबैंसेसम्मले यो सेगमेन्टका मोटरसाइकल लोकप्रिय रहेको विक्रेताहरू बताउँछन् । मूल्यका हिसाबले औसत र माइलेज पनि राम्रो भएकाले लोकप्रिय भएको व्यवसायीहरूको भनाइ छ ।

विदेशमा १५० सीसी सेगमेन्टका मोटरसाइकल हाइवेमा चलाउन नपाइने भए पनि नेपालमा यो सेगमेन्टका मोटरसाइकल ज्यादै लोकप्रिय रहेको छ । धेरै सीसीका मोटरसाइकल चलाउनका लागि नेपालमा उपयुक्त बाटो नभएकाले पनि यो सेगमेन्टका मोटरसाइकल युवाहरूको रोजाइमा परेको बजाजकी मार्केटिङ प्रमुख पुनम सिंहको भनाइ छ ।

पछिल्लो समय सहरमा मात्र नभई ग्रामिण इलाकामा समेत सडक विस्तार व्यापक रूपमा भइरहेकाले त्यहाँ बस्नेले समेत १५० सीसी रेन्जका मोटरसाइकल रोज्ने गरेका छन् । युवा पुस्तामा मात्र नभई अफिसियल प्रयोगकर्ताहरूले समेत सोही रेन्जका मोटरसाइकल रोज्ने गरेको पाइन्छ ।

बजारमा आएको पल्सरले सुरुमा १५० सिसिको क्लासिकल मोडलबाट बिक्री वितरण सुरु गरेको हो । त्यसछि कम्पनीले क्रमशः १८०, १३५ र २२० सीसी इन्जिन क्षमताका मोटरसाइकल बजारमा ल्याएको हो । बजाजको पनि एकै मोडलमा सबैभन्दा धेरै बिक्री हुने पल्सर १५० सीसी नै हो ।

बजाज इन्डियाको उत्पादन पल्सर नेपालमा मात्रै नभएर दक्षिण एसियाली बजारमा समेत निकै चर्चित रहेको छ । बजाज अटोले सन् २००१ बाट पल्सरको उत्पादन सुरु गरेको हो । कम्पनीले अहिलेसम्म १ करोड युनिट पल्सर बिक्री भएको जनाएको छ । १ करोड युनिट बिक्रीपछि कम्पनीले एक कार्यक्रम आयोजना गर्दै पल्सरको नयाँ सिरिज ल्याउने घोषणा गरेको छ ।

यस्तोे आउँदैछ ‘ब्ल्याक प्याग पल्सर’

२०१८ को सुरुवातमा नै ल्याउन लागिको ‘व्ल्याक प्याग पल्सर’ १५०, १८० र २२० एफमा कुनै पनि मेकानिकल परिर्वतन हुँदैन । तर, यसको डिजाइनमा भने केही परिर्वतन गर्ने कम्पनीले उल्लेख गरेको छ । यी मोटरसाइकलमा मेट ग्रे हाइलाईट्स र पूर्ण सेतो एलोह्विलको प्रयोग गरिएको हुनेछ । यसको व्ल्याक प्रिन्ट निकै प्रिमियम हुने कम्पनीले दाबी गरेको छ ।

बजाज अटोक्राफ्टले नेपालमा बजाजका मोटरसाइकल उत्पादन सुरु गरेको छ । निकै लामो समयदेखि उत्पादन सुरु हुने कुरा आए पनि उत्पादन सुरु हुन सकेको थिएन । अब भने बजाजको डिस्कभर उत्पादन सुरु भएको छ । अब छिट्टै बजाज १५० सीसीको उत्पादन सुरु गर्ने गरी काम भइरहेको हंसराज हुलासचन्द एन्ड कम्पनी अन्तर्गतको बजाज अटोक्राफ्टले जनाएको छ ।

उत्पादन सुरु भएको १७ वर्षपछि नेपालमा नै बन्ने भएको छ पल्सर मोटरसाइकल । यसले मोटरसाइलका पारखीलाई नयाँ अनुभूति अराउने छ । कम्पनीले नेपालमा नै एसेम्बलिङ प्लान्ट राखेर मोटरसाइकल उत्पादन सुरु गर्न लागेको हो ।


पुष्प दुलाल