२ हजारले पुग्दैन भन्दै ज्येष्ठ नागरिकहरु वृद्धाभत्ता बढाउनुपर्ने माग राख्दै धर्ना बसे



काठमाडौं । केही हप्ता अघिमात्रै प्रधानमन्त्री शेरबहादुर देउवाले वृद्धभत्ता पाउने उमेकर ५ बर्षले घटाइदिए । देउवाको यो निर्णयले राज्यकोषमा ठूलो भार परेको भन्दै प्रतिपक्षी एमाले अध्यक्ष केपी ओली र एमाले नेताहरुले मात्रै होइन, कांग्रेसकै नेताहरुले पनि बिरोध गरे ।

देउवाको उक्त निर्णयको चौतर्फी विरोध भयो । कारण थियो, हरेक सरकारले वृद्धभत्ता बढाउने र वउद्धभत्ता पाउने उमेर यसरी नै घटाउने हो भने आगामी केही वर्षमै देशको अर्थतन्त्र नै संकटमा पर्नसक्ने जानकारहरुको तर्क छ ।

यसरी चौतर्फी विरोध भइरहेका बेला ज्येष्ठ नागरिकहरुले भने वृद्धाभत्ता बढाउनुपर्ने जोडदार माग गर्न थालेका छन् ।

अहिले पाउँदै आएको २ हजार रुपैयाँ भत्ता पुनरावलोन गरी महँगी र समयअनुसार बढाउनुपर्ने माग गर्दै ज्येष्ठ नागरिकले विगत लामो समयदेखि धर्ना समेत दिँदै आएका छन्।

ऐनमा व्यवस्था भएअनुसार यातायात र स्वास्थ्योपचारमा ज्येष्ठ नागरिकलाई ५० प्रतिशत छुट दिनुपर्नेलगायतका माग गर्दै विगत ५ वर्षदेखि नयाँ बानेश्वरस्थित संविधानसभा भवन अगाडि धर्ना दिँदै आए पनि अहिलेसम्म माग पूरा हुन सकेको छैन ।

अग्रज समाज नेपालको अगुवाइमा धर्नामा बस्दै आएका ज्येष्ठ नागरिकले पैतृक सम्पत्तिमा छोराछोरीको हक दाबी नलाग्ने, आमाबाबु जीवित रहुञ्जेल पैतृक सम्पत्ति छोराछोरीको नाममा नामसारी गर्न नपाइने र बाबुआमाविरुद्ध कुनै निहुँमा उजुरी गर्न नपाइने समेत माग गर्दै आएका छन् ।

अग्रज समाजका अध्यक्ष महाप्रसाद पराजुलीले आफ्ना मागबारे पटकपटक सरकारलाई सुनाउँदै आए पनि अहिलेसम्म सुनुवाइ नभएको गुनासो गरे ।

विसं २०५१ मा तत्कालीन प्रधानमन्त्री मनमोहन अधिकारीले रु १०० बाट शुरु गरेको वृद्धभत्ता अहिले २ हजार रुपैयाँ पुगेको छ ।

पछिल्लो पटक ज्येष्ठ नागरिक (दलित, महिला, लोपोन्मुख जाति, आदिवासी, कर्णालीवासी) र एकल महिलाले ५५ वर्ष र अन्य ज्येष्ठ नागरिकले ६५ वर्ष पुगेपछि सामाजिक सुरक्षा भत्ता पाउने व्यवस्था छ ।

विसं २०६८ को जनगणनाअनुसार ज्येष्ठ नागरिकको संख्या ९६ (वर्ष पुगेका) २५ लाखअर्थात कूल जनसंख्याको ८.१३ प्रतिशत छ । रासस


पुष्प दुलाल