डेढ अर्ब खर्चेर १२ हजार थान ट्रान्सफर्मर खरिद गर्दै प्राधिकरण



काठमाडौं । ट्रान्सफर्मर खरिद नेपाल विद्युत् प्राधिकरणका लागि सधै टाउको दुखाईको विषय बन्ने गरेको छ । कतै नपुगेर हैरान, त कतै पुगेर पनि नपुगेजस्तो भइरहने । उपलब्ध भएको ठाँउमा बढी क्षमताको माग हुने र नपुगेको ठाँउमा त आवश्यकता नै भइहाल्यो ।

त्यतिमात्रै होइन सधै विवादमा पर्ने क्षेत्र पनि यही हो । राजनीतिक दलका नेताका लागि चुनाव लड्ने मसलासमेत बन्ने गरेको ट्रान्सफर्मर । देशभर २१ हजार बढीको संख्यामा ट्रान्सफर्मरको माग हुने गरेको छ । तर मागअनुसार आपूर्ति गर्न भने प्राधिकरणले सकिरहेको छैन ।

मागको ५० प्रतिशत नै सही प्राधिकरणले करिब १२ हजार ट्रान्सफर्मर खरिदको प्रक्रिया अगाडि बढाएको छ ।

देशव्यापी रुपमा विद्युत्को चर्को माग र त्यसलाई व्यवस्थापन गर्ने लक्ष्यका साथ करिब १२ हजार थान ट्रान्सफर्मर खरिद गर्ने योजना अगाडि सारेको हो ।

प्राधिकरणले खरिद गर्न लागेको ट्रान्सफर्मर १०० केभी क्षमताका रहेका छन् ।

कतिपय स्थानमा ट्रान्सफर्मरको कम क्षमताका कारण विद्युत् चुहावट हुने र भोल्टेजको समस्यासमेत उत्पन्न हुने गरेको छ ।

प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले क्लिकमाण्डुसँग भने हामीले ट्रान्सफर्मर खरिदको प्रक्रिया अगाडि बढाएका छौ । माग र आपूर्तिको सन्तुलनका लागि पनि ट्रान्सफर्मर खरिद गर्नु जरुरी देखियो ।

प्राधिकरणले २ महिनाभित्र ट्रान्सफर्मर आयात सुरु गर्ने उनले जनाए ।

खरिद गर्न लागिएका ट्रान्सफर्मरमा ८ हजार थान चीनबाट र ४ हजार थान भारतबाट ल्याइने छ । त्यसका लागि १ अर्ब ५० करोड रकम खर्च हुने प्राधिकरणले जनाएको छ ।


क्लिकमान्डु