अबदेखि घरमै बसेर यसरी गर्नुहोस् आफ्नो मोबाइलको आईएमईआई दर्ता



काठमाडौं । नेपाल दूरसंचार प्राधिकरणले मोबाइल सेटको अनलाइन आईएमईआई दर्ता प्रणााली शुरु गरेको छ । प्राधिकरणले फागुन १ गतेदेखि लागू हुनेगरि अनलाइनमार्फत आईएमईआई/ईएसएन/एमईआईडी दर्ता प्रणाली लागु गरेको हो ।

मोबाइल सेट तथा डिभाइसको पहिचान नम्बर यसअघि प्राधिकरणले म्यानुअल प्रणालीमा मात्र दर्ता गर्ने व्यवस्था रहेकोमा अबदेखि भने पूर्णरुपमा अनलाइनमार्फत दर्ता गर्न लागेको हो ।

यस्तो यूनिक आईडेन्टिफायर नम्बरहरु मोबाइल फोन आयातकर्ता, प्रयोगकर्तालगायतले दर्ता गर्ने गरेका छन् । नेपालमा आयात तथा बिक्री बितरण हुने मोबाइल सेट तथा डिभाइसलाई प्राधिकरणमा अनिवार्यरुपमा दर्ता गराउनुपर्ने व्यवस्था रहेको छ ।

हाल प्राधिकरणले परिक्षणको रुपमा अनलाइन वा पत्रमार्फत दूवै माध्यमबाट दर्ता गर्न सकिने प्रावधान लागू गरेपनि भविष्यमा अनलाइनमार्फत मात्र दर्ता हुने व्यवस्था गराउने प्राधिकरणका प्रवक्ता तथा निर्देशक मिनप्रसाद अर्यालले जानकारी दिए ।

‘यसअघि प्राधिकरणमा डिभाइसको पहिचान नम्बर म्यानुअल दर्ता प्रकृया मात्र थियो अब भने अनलाइनमार्फत दर्ता गर्न सकिन्छ, यसले सेवाग्राहीहरुलाई थप सहज हुने हाम्रो अपेक्षा छ, उनले भने ।

प्राधिकरणले आफ्ना कार्यालयका कामकाजलाई भविश्यमा पूर्णरुपमा स्वचालित प्रणालीमा लाने तयारी स्वरुप अहिले आईएमईआई दर्तालाई अनलाईनमार्फत शुरु गरेको जानकारी दिएको छ ।

प्राधिकरणकाअनुसार हाल मासिकरुपमा ४ लाख २० हजारभन्दा बढी डिभाइसहरु आईएमईआई÷ ईएसएन ÷ एमईआईडी का लागि दर्ता गरिने गरेको छ ।


पुष्प दुलाल