यी २३ नेपाली खाना अब तपाईंले पाउनुहुन्छ विश्वभरका रेष्टुराँमा



काठमाडौं । नेपाली मौलिक खानाको अन्तर्राष्ट्रियकरण गर्ने अभियान तीव्ररुपमा अघि बढाइएको छ । इटालियन, इन्डियन, चाइनिज, कोरियन खाना परिकार भएजस्तै अब नेपालका पनि २३ वटा परिकार अन्तर्राष्ट्रियस्तरमा प्रवद्र्धन गर्न लागिएको छ ।

विश्वभर नेपालीहरुले नेपाली रेष्टुरेन्ट संचालन गर्दै आएको भए पनि दाल, भात र रोटीलाई नै नेपाली खान भन्नु पर्ने बाध्यता रहेको थियो ।

होटल एसोसिएसन अफ नेपाल (हान)को पहलमा भइरहेको नेपाली खाना परिकारको प्रवद्र्धनले अन्तर्राष्ट्रियस्तरमा मान्यता पाउँदै छ । यो सँगै विश्वभर रहेका रेष्टुरेन्टहरुले नेपाली खानका परिकार पनि मेनुमा राख्ने छन् ।

नेपाल आउने पर्यटकको ३५ देखि ४० प्रतिशत खर्च खानामा हुने गरेको छ । नेपाली परिकारका खानमा खर्च गराउन सके नेपालको प्रवद्र्धनमा थप सहज हुने देखिन्छ ।

थाइल्यान्ड, इटाली, भियतनाम जस्ता मुलुकहरुमा पर्यटकहरु त्यहाँ परिकार खानैका लागि करोडौकौ संख्यामा जाने गरेका छन् । नेपालको परिकार पनि प्रवद्र्धन गर्न सके नयाँ प्रडक्टको समेत सुरुवात हुने दावी हानका महासचिव विनायक शाह गर्दछन् ।

‘खानले प्रवद्र्धन र नेपाली खान प्रतिको विश्वास विश्भर जाने छ, जसबाट नेपाली पर्यटनमा नयाँ आयम थपिन्छ,’ महासचिव शाहले भने ।

नेपाली मौलिक खाना अन्तर्राष्ट्रियकरण गरी पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले अभियन्ता कर्ण शाक्यको अग्रसरतामा विभिन्न २३ वटा मौलिक खाना छनोट गरी प्रवद्र्धनात्मक अभियान थालिएको हो ।

अन्तर्राष्ट्रिय प्रवद्र्धनमा लगिएका २३ खानका परिकार

पाँच वटा सुप

१ पञ्च कुवा (आलु, तामा र बोडी)
२ सिस्नोको झोल
३ फाँडो
४ क्वाटी
५ ज्वानोको झोल

स्न्याक्स

१ चुकौनी
२ करेसावारी
३ चुक शखर खन्ड
४ साँधेको आलु
मुख्य खानाहरु
१ जोगी भात
२ सेकुवा
३ मन छोयला
४ हाकु छोयला
५ कुखुरा साँधेको
६ बदेल उसिनेको
७ ढुंग्रे
८ वो (बारा)
९ चटामरी
१० पकुवा
११ फुलौरा

डेजर्ट

१ योमरी
२ दहीफल
३ सिकर्नी (दही दाल चिनी)

क्यालोरी टेष्ट गरिँदै

हानले उक्त २३ परिकारको क्यालोरी टेष्टका लागि सरकारको खाद्य प्रयोगशालामा पठाएको छ । नेपाली मौलिक खानालाई विश्वव्यापीकरण गर्न शुरु भएको राष्ट्रिय अभियानले गत कात्तिक महिनामा वरिष्ठ पर्यटन व्यवसायी तथा यस अभियानका अभियन्ता कर्ण शाक्यको संयोजकत्वमा समिति गठन गरी खानाको खोज तथा अनुसन्धान थालेको थियो ।

विश्वव्यापी रुपमा सामान्यतः २ सयदेखि ३ सय क्यालोरीसम्मको खानालाई सन्तुलित खानाका रुपमा लिइन्छ । त्यसकारण कार्यदलले सोहीअनुसारको रेसिपी तयार पारी क्यालोरी टेष्टका लागि नेपाल सरकारको खाद्य प्रयोगशालामा पठाएको हानका महासचिव शाहले जानकारी दिए ।

छनोट गरिएका मौलिक खानालाई आवश्यकताअनुसार परिष्कृत गरेर विस्तृत विवरण (आवश्यक सामग्री, पकाउने विधिसमेत) तयार पारिएको र यसलाई केही समयमै विश्वव्यापीकरण गरिने शाहले बताए ।

चुक, हिङ, जिम्बु, टिमुर, ज्वानो, मेथी, छ्यापीलाई राष्ट्रिय स्वादको रुपमा ग्रहण गर्दै नेपाली खाना थाली, सेकुवा, छोइला, गुन्द्रुक, अचार, सुकुटी, चुकौनी, विभिन्न खालका सुप तथा अचारलगायत छनोट गरेको हो ।

खाद्य प्रयोगशालाबाट टेष्ट भई आएपछि छनोट गरिएका ती मौलिक नेपाली खानालाई नेपालस्थित विभिन्न दूतावासका उच्चअधिकारी, होटल व्यवसायी तथा आउने मार्च महीनामा ‘फूड फेष्टिवल’ गरी सार्वजनिक गरिने छ ।

त्यसपछि विदेशस्थित नियोगहरु, गैरआवासीय नेपाली संघ, युनेस्कोलगायत सरोकारवाला संघसंस्थाको सहकार्यमा अन्तरराष्ट्रियस्तरमा निरन्तर प्रचारप्रसार र प्रर्वद्धन गरिनेछ ।

अभियानलाई आफ्नो अभियानका रुपमा लिँदै नेपाल पर्यटन बोर्डले ‘एक्सपेरियन्स नेपाल अभियान’ यसअघि नै घोषणा गरी नेपाल भ्रमण वर्ष यूरोप २०१७ का संयोजकसमेत रहेका दीपेश शाक्यलाई अभियान संयोजक तोकेको छ ।


पुष्प दुलाल