किन यस्तो आपत आइपर्यो प्रभु, हिमालयन, ओरेन्टल र युनाइटेड इन्स्योरेन्सलाई ?



काठमाडौं । बीमा क्षेत्रको नियामक निकाय बीमा समिति अहिले एउटा ‘केस’मा अचम्मित बनेको छ । सो ‘केस’को बारेमा कसैले औपचारिक रुपमा समितिमा निबेदन दिएको छैन । तर, समितिले बीमा कम्पनी (बिमक) र बीमा गराउने ब्यक्ति (बिमित) बीच सहमतिको प्रयास भने गरिरहेको छ ।

घटना अनौठो छ । मारुती सुजुकी कम्पनीको अल्टो कार ४ वटा बीमा कम्पनीमा बीमा गरिएको भेटियो । एउटा सम्पत्तिको एउटा कम्पनीमा मात्रै बीमा गराउन पाइन्छ । तर, एउटै कारधनीले एकै प्रकारको बीमा किन ४ वटा कम्पनीमा गरायो भन्ने रहस्य खुलेपछि नियामक निकाय बीमा समिति सहित ४ वटै बीमा कम्पनी आश्चर्यमा परेका छन् ।

क्लिकमाण्डूलाई प्राप्त जानकारी अनुसार मारुती सुजुकी कम्पनीको सो अल्टो कार प्रभु, हिमालयन, ओरेन्टल र युनाइटेड इन्स्योरेन्स कम्पनीमा बीमा गरिएको छ । सबै बीमा कम्पनीमा कारको पूर्ण बीमा गरिएको छैन । तेस्रो पक्ष बीमा मात्रै गरिएको छ ।

सो कारको गत भदौतिर ४ वटै कम्पनीमा तेस्रो पक्ष बीमा गरिएको थियो । अझ रमाइलो पक्ष के छ भने एउटा कम्पनीमा ७ दिन अगाडि र बाँकी ३ वटा कम्पनीमा एकै दिन तेस्रोपक्ष बीमा गरिएको छ । अर्थात बीमा गराउने कारधनीले ३ वटै बीमा कम्पनीको काम एकै दिन सिध्याएका थिए ।

सो कारको तेस्रो पक्ष बीमा शुल्क वापत एक बर्षको लागि करिब ४ हजार रुपैयाँका दरले शुल्क तिरिएको छ । अर्थात ४ हजार रुपैयाँले तेस्रो पक्ष बीमा हुनेमा १६ हजार रुपैयाँ जति खर्च गरिएको छ ।

बीमा गराइसकेपछि मुख्य कार्यको सुरुआत हुन्छ । अर्थात कारधनीले जुन प्रयोजनको लागि ४ वटा कम्पनीमा बीमा गराएको थियो, त्यो कामको सुरुआत गर्छ ।

प्राप्त विवरण अनुसार बीमा गराइसकेपछि सो कार दुर्घटनामा पर्न थाल्छ । कार अहिलेसम्म ३ पटक ‘दुर्घटनामा परिसकेको’ छ । तीन पटककै दुर्घटना एउटै इलाका प्रहरी कार्यलयको कार्यक्षेत्र भित्र पर्ने स्थानमा हुन्छ । र, तीनवटै दुर्घटनामा कारले अर्काे सवारी साधनलाई ठक्कर दिएर ठक्कर लाग्ने सवारीसाधनमा यात्रा गर्नेलाई घाइते बनाउँछ । तीन वटै फरक मितिमा भएको दुर्घटनाका घाइते उपचारको लागि एउटै अस्पतालमा पुग्छन् । घाइतेलाई उपचार गर्न प्रत्येक पटक उति नै रकम लाग्छ ।

यस्तो छ घटना
सम्बन्धित स्रोतले दिएको जानकारी अनुसार सो कार तीन पटक नै कैलाली जिल्लामा दुर्घटनामा परेको छ । दुर्घटना परेको स्थान इलाका प्रहरी कार्यालय सुखडको क्षेत्राधिकार भित्र पर्ने स्थानमा हो । तीनवटै दुर्घटनाको प्रहरी विवरण इलाका प्रहरी कार्यालय सुखड, कैलालीकै छ ।

तीनटा दुर्घटनामध्ये कारले २ पटक रिक्सालाई र एक पटक अटोरिक्सा (इरिक्सा) लाई ठक्कर दिएको छ । रिक्सा वा इरिक्साको सरकारी निकायमा दर्ता हुदैन ।

यसरी दुर्घटना भएपछि घाइतको उपचार गर्न नजिकैको क्लिनिकमा लगिन्छ । सो क्लिनिकले ‘रेफर टु हाइयर सेन्टर’ भनेर लेख्छ । अनि घाइतेलाई भारत लखनउको पन्नालाल रोडमा रहेको डालिगन्ज अस्पताल पुर्याइन्छ ।

‘हामीले अनौपचारिक रुपमा बुझ्दा लखनउको डागिन्ज अस्पताल दर्ता नभएको र एउटा सानो रुपमा चलिरहेको भन्ने अनौपचारिक जानकारी पाएका छौं,’ यो ‘केस’ अनौपचारिक रुपमा हेरिरहेका बीमा समितिका एक कर्मचारीले क्लिकमाण्डूसँग भने ।

इलाका प्रहरी कार्यालय सुखड, कैलालीको भूमिका पनि रमाइलो छ । कारधनीले गरेको क्षतिपूर्ति दाबी अनुसारै दुर्घटना भएको सो इलाका प्रहरी कार्यालयले विवरण दिन्छ । तर, दुर्घटना भएको अबस्थाको फोटो भने दिदैन ।

‘हामीले इलाका प्रहरी कार्यालय सुखड, कैलालीबाट औपचारिक रुपमा घटनाको जानकारी मागेका थियौं, उसले दुर्घटना भएको तर त्यो बेलाको फोटो डिलिट भएको भनेर जानकारी गरायो,’ औषधी उपचार खर्च दाबी गरिएको एक बीमा कम्पनीका अधिकारीले क्लिकमाण्डूसँग भने ।

अर्थात इलाका प्रहरी कार्यालय दुर्घटना भएको भनेर पत्र लेख्छ तर प्रमाण दिदैन ।

१६ हजार खर्चेर ३६ लाख कमाउने दाउ
कार दुर्घटनामा परेको भन्दै कारधनीले ३ वटा कम्पनीमा औषधी उपचार खर्चको दाबी भुक्तानी मागेका छन् । उनले प्रत्येक कम्पनीमा १२÷१२ लाख रुपैयाँका दरले औषधी उपचार खर्च दाबी भुक्तानी मागेका हुन् । अर्थात उनले ४ वटा बीमा कम्पनीमा बीमा गराउँदा १६ हजार रुपैयाँ जति खर्च गरेका थिए । ३ वटा बीमा कम्पनीमा गरी ३६ लाख दाबी मागिसकेका छन् ।

कारधनीले क्षतिपूर्ति दाबी गर्दा पेश गरेको कागजातमा डालिगन्ज अस्पतालको बिल भने छैन । एउटा साधा कागजमा प्रिन्ट गरिएको बिल छ र त्यसमा डालिगन्ज अस्पतालको छाप भने लगाइएको छ ।

कसरी भयो घटनाको पटाक्षेप ?
अति गरेपछि खति हुन्छ भन्ने भनाइ ती कारधनीको हकमा पनि लागू भए जस्तो देखियो । उनले दाबी भुक्तानी मागेकामध्ये एउटा बीमा कम्पनीलाई शंका लागेछ । अनि उसले थप अध्ययन थालेछ । यसो गर्दै जादा त्यही कार ४ वटा कम्पनीमा बीमा गरिएको भेटिएछ ।

यसरी अनुसन्धान हुदै गर्दा ४ वटा कम्पनीमा बीमा गरिएको मात्रै भेटिएन, करिब ३ महिनाको बीचमा दुर्घटना भएको भन्दै ३ वटा कम्पनीमा क्षतिपूर्ति दाबी गरिएको पनि भेटियो । अनुसन्धानकै क्रममा सबै बीमा कम्पनीमा एउटै प्रकृतिको घटना विवरण बुझाइएको पनि फेला परेको छ ।

अब के हुन्छ ?
नाफा कमाउने उद्देश्यले बीमा गराउन पाइदैन । ती कारधनीको नियतमै खोट देखियो । कारधनीले झुक्किएर ४ वटा कम्पनीमा बीमा गरिएको बयान भने दिइसकेका छन् ।


क्लिकमान्डु