बहसमा कारः इलेक्ट्रिक कि हाइब्रिड, यस्ता छन् विषेशता



विश्व बजारमा यातायात, सवारी साधन, पेट्रोलियम पदार्थ, वातावरण र अन्य ऊर्जाको बिषयमा निकै लामो बहस सुरु भएको छ ।

बिएमडब्लु, मर्सिडिज, भक्सवागन, टोयोटा, होण्डा, निसान, माज्दा, जनरल मोर्टस, फोर्ड, किया, हुण्डाई, टाटालगायतका सवारी साधन निर्माता कम्पनीहरुले सन् २०२० सम्मा आफ्ना इलेक्ट्रिक भेइकलको मोडल १० भन्दा बढी बनाउने जनाएका छन् ।

त्यसो त यी बाहेकका अन्य कम्पनीले आफ्ना उत्पादन परिर्वतनमा लगानी नगरेका होइनन् । केही कम्पनीहरुमा अझैपनि इलेक्ट्रिक सवारी साधन पूर्णत सफल हुँदैन कि भन्ने त्रास देखिन्छ ।

यस्तो छ, विश्वमा इलेक्ट्रिक गाडीको इतिहास

सन् १८९९ र १९०० मा अमेरिकामा अन्य सवारीको तुलनामा विद्युतीय कारहरू धेरै बिक्री हुने गरेको थियो । अमेरिकामा १९०० मा ४ हजार १९२ कार उत्पादन भएकोमा त्यसमध्ये २८ प्रतिशत विद्युतीय कार थिए ।

पेट्रोल तथा स्टिम-पावर्ड इन्जिनको तुलनामा विद्युतीय सवारीको धेरै विशेषता १९०० मै उल्लेख गरिएको थियो । त्यतिबेला सवारी उत्पादकहरूले विद्युतीय सवारीले ध्वनि प्रदूषण नगर्ने, भाइब्रेसन नआउने, गन्ध नआउने लगायत फाइदाको प्रचार गरेका थिए । विद्युतीय सवारी चलाउन समेत सजिलो हुने गरेको थियो ।

सन् १९२० मा हेनरी फोर्डले पेट्रोलियम पदार्थ चल्ने क्षमता भएको इन्जिन विकास गरिसकेका थिए । यो इन्जिन जडित कार विद्युतीय कारको तुलनामा सस्तो बनेको थियो । उक्त समयमा फोर्डले पेट्रोल इन्जिनयुक्त गाडीको मास प्रोडक्सन थालिसकेको थियो ।

१९६०/७० को दशकमा पुनः विद्युतीय कारप्रति सबैको चासो बढेको थियो । कारण थियो प्रदूषण नियन्त्रणको मुद्दा । यो सँगै सवारी उत्पादकहरू ई-कार उत्पादनमै केन्द्रित हुन थालेका हुन् । १९७० को दशकमा मिनिएचर कम्प्युटर कार ज्यादै लोकप्रिय हुन पुगे ।

त्यतिबेलाको ‘सिटीकार’ टप स्पिड ४४ एमपीएच थियो जबकी सामान्य क्रुज कारको स्पिड ३८ एमपीएच मात्र र रेन्ज ५० देखि ६० माइल्स थियो । त्यतिबेलाको अर्को चर्चित कार एलकारको उच्च गति ४५ एमपीएच र रेन्ज ६० माइल्स थियो ।

बीएमडब्लूले १९७२ को ओलम्पिकमा आफ्नो पहिलो विद्युतीय कार सार्वजनिक गरेको थियो ।

उक्त कारमा टुवेल्भ लिड-एसिड स्टाटर ब्याट्री राखिएको सवारीको विशेषता ४२ हर्सपावर इलेक्ट्रिक मोटर रहेको थियो । यो कारको अधिकतम गति ६२ एमपीएच र रेन्ज ३७ माइल्स रहेको थियो ।

लामो खोज र अनुसन्धानपछि भारतले २००१ मा पहिलो इ-कार रेभा उत्पादन गरेको हो । उक्त कारको लक्षित बजार बेलायत थियो । यद्यपि रेभाको बजार भारत नै हुनसक्ने बताइएको थियो ।

नेपालमा इलेक्ट्रिक गाडीको सम्भावना

नेपालको सडकमा गुड्ने ९९ प्रतिशत सवारी-साधन पेट्रोलियम पदार्थबाट सञ्चालन हुने (ग्यासोलिन) इञ्जिन जडित रहेका छन् । पछिल्लो दिनमा विद्युतीय कार बिक्री सुरुवात भने नभएको हैन । रेवा कार नेपालमा भित्रिएको पहिलो विद्युतीय कार हो ।

त्यसपछि महिन्द्राको इटुव कार नेपाली बजारमा आयो । चरम पेट्रोलियम पदार्थको संकटको समयमा नेपालमा आएको यो कारले आफ्नो बिक्री निकै बढायो । त्यसपछि कियाले नेपाली बजारमा ‘सोल इभी’ नामको कार बिक्री गर्दै आएको छ ।

किफायती कार नेपाली बजारका लागि निकै आवश्यक भएको छ । पूर्णतः अर्को देशको भरमा रहेको इन्धन आयात वर्षेनि बढ्दो क्रममा रहेको छ । यसका लागि पूर्ण इलेक्ट्रिक वा हाइब्रिड कार नेपाली बजारमा ल्याउन सकिए केही भए पनि इन्धन आयात कम गर्न सकिन्छ ।

के हो इलेक्ट्रिक र हाइब्रिड कार ?

इलेक्ट्रिक कार पूर्णत ब्याट्रीबाट संचालन हुने इन्जिन प्रयोग भएको कार हो । अहिले विश्वका ठुला कार निर्माता कम्पनीको प्राथमिकतामा यसको उत्पादन परेको छ । यो कारमा कुनै किसिमको ग्यासोलिनको प्रयोग गर्नु पर्दैन ।

हाइब्रिड कार पछिल्लो समयमा संसारभर चर्चामा रहेको छ । पछिल्लो समयमा विश्व प्रसिद्ध कार निर्माता कम्पनीहरूले विशेष प्रकारको इन्टरनल कम्बुस्टन इञ्जिन प्रयोग गरेर यसको उत्पादन गरिरहेका छन् । यसको सुरुवात ग्यासोलीनबाट हुन्छ भने पछि इलेक्ट्रीक मोटरको सहयोगले यो चल्छ ।

के फरक छ, हाइब्रिड र इलेक्ट्रीक कारमा ?

धेरैलाई लाग्नसक्छ, हाइब्रिड र इलेक्ट्रीक कार भनेको एउटै हो । तर, यी दुबै विल्कुल फरक इञ्जिन जडित कारहरू हुन् । यी दुई कारमा धेरै तथ्यगत भिन्नताहरू छन्, इलेक्ट्रीक कारहरू रिचार्ज गर्न प्लगमा राख्नुपर्दछ, तर हाइब्रिड कारलाई पर्दैन ।

विद्युतीय र हाइब्रिड कारको ब्याट्री

सबैजसो विद्युतीय कारका ब्याट्रीहरू ३ वर्षसम्म प्रयोग गर्न सकिने अनुमान गरिएको एनआईसीडी जडान गरिएको हुन्छ । यस्ता ब्याट्रीहरू जतिबेला काम गर्न छोड्छ वा कम माइलेज दिन थाल्छ त्यतिबेला डिस्पोजल गर्नुपर्छ ।

हाइब्रिड गाडीमा प्रयोग भएका ब्याट्रीहरू करिब १ लाख २५ हजार माइलसम्मका लागि डिजाइन गरिएको हुन्छ । यसको मतलव हो, सम्भवत यी कारमा जडित ब्याट्रीहरू परिर्वतन गर्नु पर्दैन । यस्ता कारमा प्रयोग हुने एनआईएमएच ब्याट्रीहरू रिचार्जेबल ब्याट्री हुन्छन् । तिनीहरू निकेल क्याडमियम ब्याट्रीहरूको सफलताको रुपमा आएका नयाँ आविष्कार हुन् ।

विश्वव्यापी अटोमोबाइलको अबको बाटो

सवारी-साधनले उत्सर्जन गरेको कार्वनको कारण ग्लोबल वार्मिङ बढिरहेको विभिन्न अध्ययनले देखाएको छ । यो सर्वसाधारणको नजरमा अटो क्षेत्रले पुर्याएको असर हो । यसलाई न्यूनीकरण गर्दै संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत अबको बाटो निर्माण गर्नुपर्ने चुनौति अटो निर्माता कम्पनीहरूमा पर्दै गएको छ ।

जसका लागि वातावरण जोगाई अबको बाटो पहिल्याउनु सबै अटो उत्पादकको जिम्मेवारी हो । पेट्रोल, डिजलजस्ता प्राकृतिक खनिज निश्चित समयसम्ममात्र उपलब्ध हुने हुँदा त्यसको वचत कसरी गर्ने भन्ने चुनौतिसमेत देखापरेको छ । त्यसैले निर्माताहरूले इन्धन किफायती बन्न झगझगाएको छ । त्यही नयाँ सोचको विकास हो इलेक्ट्रिक वा हाइब्रिड कारहरु ।

नेपालले लिन सक्ने फाइदा

विश्वको पर्यटकीय गन्तव्यको उत्कृष्ट १० भित्र नेपाल पर्दछ । हामीकहाँ पर्यटकीय गन्तव्य धेरै भए पनि पर्यटक आइरहेका छैनन् । पछिलला दिनले अब नेपालको पर्यटन विकास तिब्रगतिमा हुन्छ कि भन्ने आशा गर्ने ठाउँ पलाएको छ । पर्यटकको गन्तव्यसम्मको यात्रामा हाइब्रिड वा इलेक्ट्रिक कारहरू रोजाइमा पर्ने देखिन्छ ।

नेपालका हिमश्रृंखलाहरूको हिउँ पग्लने समस्या बढ्दो छ । हिमालयको प्राकृतिक सौन्दर्यलाई बचाइराख्न यस्ता कारहरूले केही हदसम्म सहयोग पु¥याउन सक्छन् । हाल हामीले बार्षिक १२५ अर्बको इन्धन आयात गरिरहेका छौं त्यसमा निकै कमी आउने छ ।

नेपाली बजारमा वार्षिक १० हजार कारहरू थपिने गरेका छन् । यसले हाम्रो पेट्रोलियम पदार्थ आयात बढाउँदै लाने निश्चित छ । बढ्दो सहरीकरणसँगै बढ्ने गाडी आयातमा हाइब्रिड वा इलेक्ट्रिक कारहरू ल्याउन सक्ने हो भने सवारी-साधनले हुने उच्च प्रदूषण केही भने पनि कम हुने देखिन्छ ।


क्लिकमान्डु