यी ठाउँ ‘भ्यालेनटाइन डे’ मा तपाईंलाई डेटिङ जान उपयुक्त हुन सक्छन्



काठमाडौं । विश्वभर आज प्रेमी र प्रमिकाले आफ्नो माया साटासाट गर्दै ‘भ्यालेनटाइन डे’ अर्थात् प्रणय दिवस मनाउँदै छन् । नेपालमा पनि किशोर किशोरी, युवा युवती तथा बयस्कहरुले समेत प्रणय दिवसलाई विशेष रुपमा पछिल्लो समय मनाउन थालेका छन् । प्रेमी जोडीहरुलाई काठमाडौं जस्तो सँघुरो ठाऊमा घुम्न जाने विषयले सधै तनाव सिर्जना गर्दछ ।

काठमाडौं उपत्यकाको धुलो, धुवाँ, प्रदूषण, भिडभाड र अस्तव्यस्तताले सहरभित्रका कुनै पनि गन्तव्यले सन्तुष्ट बनाउन सक्ने अवस्था छैन । तर, काठमाडौं उपत्यकालाई वरिपरिबाट घेरेका पहाडी चुचुरा तथा उपत्यकाबाट केही पर विकसित भएका पर्यटकीय गन्तव्य आज ‘भ्यालेनटाइन डे’ मा घुमफिरका उपयुक्त गन्तव्य बन्न सक्छन् ।

चन्द्रागिरि

समुद्री सतहबाट २५ सय ५१ मिटर उचाइमा रहेको चन्द्रागिरि भौतिक सुविधासम्पन्न पर्यटकीय गन्तव्यका रूपमा विकास भइसकेको छ ।यहाँ अहिले थानकोटदेखि केबुलकारको सुविधा उपलब्ध छ । तर, थानकोटबाट पदयात्रा गरेर पनि चन्द्रागिरिसम्म पुग्न सकिन्छ ।

ह्वाइट गुम्बा, पाइलट बाबा, बुढानीलकण्ठ, साँखु, सुन्दरीजल र भोटेचौर एक दिनमै घुमेर फर्किन सकिने अन्य नजिकका गन्तव्य हुन् ।

 

चम्पादेवी

उपत्यकावासीको अर्को रोजाइ चम्पादेवी हो । हिमाली तथा पहाडी शृंखलाको अवलोकनसहित छोटो अवधिमै काठमाडौंको धुलोधुवाँ छाडेर स्वच्छ वातावरण भएको ठाउँमा पुगिन्छ । समुद्री सतहबाट २३ सय मिटर उचाइमा रहेको यस चुचुरोको यात्रा भने फर्पिङबाट प्रारम्भ गर्न सकिन्छ ।

फुल्चोकी

काठमाडौं उपत्यकालाई घेरेर राखेका पहाडमध्ये सबैभन्दा अग्लो चुचुरो हो, फुल्चोकी । समुद्री सतहबाट दुई हजार सात सय ५० मिटर अग्लो स्थानमा रहेको यो डाँडाबाट पनि प्राकृतिक दृश्यावलोकन गर्न सकिन्छ । पहाडी र हिमाली शृंखलाका लागि फुल्चोकी धाउनेको जमात ठूलो हुन्छ । फुल्चोकी यात्रा भने गोदावरीबाट सुरु गर्न सकिन्छ ।

ककनी

काठमाडौंबाट ३२ किलोमिटर उत्तरतर्फ पर्ने ककनी नुवाकोट जिल्लामा अवस्थित छ । धेरैजसो मानिस ककनीसम्म पिकनिक मनाउने धेयले पुग्ने गर्छन् । तर, ककनीदेखि भञ्ज्याङसम्मको हाइकिङ ककनी यात्राको अर्को महत्वपूर्ण पक्ष हो । भने सवारी मार्फत पनि आजको दिनमा त्यहाँ सजिलै पुग्न सकिन्छ ।

शिवपुरी

समुद्री सतहबाट २७ सय ३२ मिटर उचाइमा अवस्थित शिवपुरी डाँडा काठमाडौं उपत्यकाको दोस्रो अग्लो चुचुरो हो । विश्वमा कुनै पनि मुलुकको राजधानीबाट नजिकको राष्ट्रिय निकुञ्जका रूपमा चर्चित शिवपुरी नागार्जुन राष्ट्रिय निकुञ्ज अहिले काठमाडौं उपत्यकाभित्र पिउने पानी आपूर्तिको सबैभन्दा ठूलो स्रोत हो ।

नमोबुद्ध

‘भ्यालेटाइन डे’ मा एकान्त रोज्नेका लागि उपयुक्त गन्तव्य नमोबुद्ध छनोनमा पर्न सक्छ । समुद्री सतहबाट १८ सय मिटर उचाइमा अवस्थित नमोबुद्ध काभ्रे जिल्लामा अवस्थित छ । यस रुटमा परिवार, साथीभाइ या प्रेमी–प्रेमिकासँग घुमफिरमा निस्किने जो–कोही पूरै एक दिन रमाइलो यात्राको साक्षी बन्नेछन् ।

काभ्रेको पनौतीदेखि परम्परागत नेवार बस्ती छिचोल्दै सुरु हुने यो रुटमा जानुअघि पनौतीसम्म भने सवारीसाधनमा जानुपर्ने हुन्छ । नमो बुद्धआसपास सडक यातायात पुगिसकेको भए पनि स्थानीय बस्ती, कृषिभूमि, नदीनाला, पहाड र हिमाली शृंखला अवलोकन गर्न भने पैदल यात्राको विकल्प छैन ।

 

क्याम्पफायरका लागि गन्तव्य

‘भ्यालेनटाइन डे’ अहिले चिसो मौसममा आगो बालेर मध्यरातसम्म रमाउन सवैलाई मन लाग्छ । अझ आफ्नो प्रमी प्रमिकासंग क्याम्प फायरमा नरमाउने कुरै भएन । खासगरी युवा जमातलाई लक्षित गरी धेरै गन्तव्यमा होटेल तथा रिसोर्टको विकास भएको छ ।

खासगरी नयाँ वर्ष तथा चाडबाडका वेला यी गन्तव्य बढी नै व्यस्त हुने गर्छन् । काठमाडौं उपत्यका तथा नेपालका अन्य भू–भागबाट पनि यी गन्तव्यमा आन्तरिक पर्यटक आउने र रमाउने गर्छन् । यी गन्तव्यमा जानुअघि भने आफ्नै सवारीसाधनको जोहो गर्नुुका साथै होटेल–रिसोर्टका कोठा अग्रिम बुकिङ गर्नु बुद्धिमानी हुन्छ ।

चित्लाङ

काठमाडौंको थानकोटबाट करिब १६ किलोमिटर दूरीमा अवस्थित चित्लाङ एक रात दुई दिनको बिदामा जानु उपयुक्त हुन्छ । मकवानपुर जिल्लामा अवस्थित यो रमणीय उपत्यका बाख्राको दूधबाट निर्मित चिज, ट्राउट माछा तथा स्थानीयस्तरमा उत्पादित तरकारीका लागि चर्चित छ । होमस्टेको समेत विकास भइसकेका कारण चित्लाङ एक सुविधासम्पन्न गन्तव्यका रूपमा स्थापित भइसकेको छ ।

नगरकोट

विश्वमै चर्चित पर्यटकीय गन्तव्यका रूपमा नगरकोट स्थापित छ । अत्याधुनिक होटेल–रिसोर्ट तथा होमस्टेको समेत सुविधा रहेको नगरकोट हिमाली शृंखला र सूर्योदयको आकर्षक दृश्यावलोकनका लागि चर्चित छ ।

धुलिखेल

होटेल-रिसोर्टको राम्रो सुविधा रहेको धुलिखेल सबै प्रकारका पर्यटकलाई सुविधा दिन सक्ने क्षमता राख्छ । खर्चालु पर्यटकका लागि उपयुक्त महँगा होटेलदेखि आमसर्वसाधारणले समेत यहाँ बिदा मनाउन सक्छन् । सार्वजनिक यातायातको सुविधा उपलब्ध हुने धुलिखेल परिवारका साथ जाने मानिसका कारण सबै मौसममा व्यस्त देखिन्छ ।

कालिञ्चोक-जिरी

दोलखा जिल्लामा अवस्थित पवित्र धार्मिकस्थल कालिञ्चोक छोटो बिदामा पुगिने उत्कृष्ट गन्तव्यमध्ये एक हो । सामान्यतया काठमाडौंबाट दुई रात तीन दिनको बिदा मिलाउन सक्ने हो भने दोलखा भीमसेन, जिरी र कालिञ्चोक सबै चर्चित गन्तव्यको भ्रमण गर्न सकिन्छ । खासगरी हिउँमा रमाउन चाहनेका लागि कालिञ्चोक उत्तम विकल्प हो ।

दामन

काठमाडौंबाट ७७ किलोमिटर दूरीमा अवस्थित दामन पर्यटकले गर्मी मौसममा पनि चिसो खोज्दै जाने गन्तव्य हो । वीरगन्जमा ४० डिग्री सेल्सियस पुग्दा झन्डै माइनस डिग्रीसम्म झर्ने दामनमा गर्मी छल्न धेरै भारतीय पर्यटक पुग्ने गर्छन् । जाडो मौसममा भने हिउँसग खेल्ने सोख भएका आन्तरिक तथा बाह्य पर्यटक त्यहाँ झुम्मिन्छन् ।


पुष्प दुलाल