राष्ट्रपति हतारिँदा देशमा १ घन्टा २ जना प्रधानमन्त्री !



काठमाडौं । काम छिट्टै सक्न कहिलेकाहीँ हामी हतारिन्छौं । काम सकिन्छ । रिजल्ट पनि राम्रै आउँछ । तर, हतारमा काम गर्दा विधि र प्रक्रिया भने निरिह भएर टुलुहुटुलु रमिता हेर्न बाध्य हुनुपर्दो रहेछ ।

हो, आज त्यस्तै भयो राष्ट्रपति भवनमा । राष्ट्रपति विद्यादेवी भण्डारी केपी ओलीलाई प्रधानमन्त्रीमा नियुक्ति हतारिँदा । राष्ट्रपतिले हतार गर्दा यस्तो भयो कि एकै समय यो देशमा दुईजना प्रधानमन्त्री भए ।

खास कुरा के हो भने प्रधानमन्त्री शेरबहादुर देउवाले देशबासीका नाममा सम्बोधन गर्दै बिहान ११ बजे पदबाट राजिनामा दिए । राष्ट्रपति कार्यालयका अनुसार देउवाले दिउँसो १ः५५ बजे मात्रै राष्ट्रिपति समक्ष आफ्नो राजिनामा बुझाए ।

तर, राष्ट्रपतिले भण्डारीले एमाले अध्यक्ष केपी ओलीलाई १२ः५७ बजे नै प्रधानमन्त्रीमा नियुक्त गरिन् ।

राष्ट्रपति कार्यालयका अनुसार बहालवाला प्रधानमन्त्रीले राजिनामा नै पेश नगरी राष्ट्रपतिले नयाँ प्रधानमन्त्री नियुक्ति गरिदिइन् । यसरी एउटा प्रधानमन्त्रीको राजिनामा स्वीकृत नभई अर्को प्रधानमन्त्री नियुक्त गर्न पाउने संवैधानिक व्यवस्था छैन् । नभए पनि संविधानको संरक्षक राष्ट्रपतिले एउटा प्रधानमन्त्री हुँदा हुँदै अर्कोलाई प्रधानमन्त्रीमा नियुक्ति गरिदिएकी हुन्

राजिनामा स्वीकृत नभएसम्म देउवा कानूनत बहालवाला प्रधानमन्त्री नै हुन् भने राष्ट्रपतिबाट नियुक्तिपत्र पाइसकेका नयाँ प्रधानमन्त्री ओली पनि बहालवाला प्रधानमन्त्री नै हुन् । आज दिउसो १२ः५७ देखि १ः५५ बजेसम्म यो देशमा देउवा र ओली दुबैजना बहालवाला प्रधानमन्त्री हुने अवसर पाए ।

यसअघि प्रधानमन्त्री संसदले चुन्थ्यो । राष्ट्रपतिले प्रधानमन्त्री नियुक्ति गरेको यो पहिलो अभ्यास हो नेपालमा । त्यसैले कमीकमजोरी भएको हुनसक्छ ।

तर, ओलीजीलाई प्रधानमन्त्री बनाउन राष्ट्रपतिज्यू नहतारिएको भए देशमा एकैपटक दुई जना प्रधानमन्त्री हुने थिएनन् । १२ः५७ मा ओलीलाई प्रधानमन्त्री नियुक्ति नगरेर १ः५५ मा प्राप्त देउवाको राजिनामा पहिले स्वीकृत गरी २ बजेतिर ओलीलाई प्रधानमन्त्री नियुक्ति गरेको भए पनि त हुन्थो नि राष्ट्रपति ज्यू । कि त्यसो गरेको भए अरु कसैले प्रधानमन्त्री पड्काउँथ्यो र ?

राष्ट्रपति कार्यालय अस्तव्यस्त छ भन्ने उदाहारण यतिले मात्रै पुग्दैन । अर्को रोचक पनि आज । राष्ट्रपतिले ओलीलाई एक वर्षअघि अर्थात् २०७३ फागुन ३ गते प्रधानमन्त्रीमा नियुक्ति गरेको भन्दै राष्ट्रपति कार्यालयले विज्ञप्तीसमेत निकालेको छ ।


पुष्प दुलाल