सिमेन्टमा म्याग्नेसियम: उत्पादक र गुणस्तर आ-आफ्नै अडानमा, प्रयोगकर्तालाई कस्तो असर ?



काठमाडौं । केही समय अघिदेखि नेपाल गुणस्तर तथा नापतौल विभाग र सिमेन्ट उद्योगीबीच जारी रहेको छलफल एक महिना पुग्न लाग्दासमेत निर्णयमा पुग्न सकेको छैन ।

विभाग र सिमेन्ट उद्योगिहरु बीच ओपीसी सिमेन्टमा ५ प्रतिशतभन्दा बढी म्याग्नेसियम राख्न पाउने वा नपाउने भन्ने विषयमा विवाद भएको थियो ।

विभागले ओपीसी सिमेन्टमा ५ प्रतिशतभन्दा बढी म्याग्नेसिमय राख्न नमिल्ने बताइरहेको छ भने, उद्योगीहरु खानीमा नै ४ प्रतिशत भन्दा बढी म्याग्नेसियम हुने भएकाले क्लिङकर बनाउँदा ५ प्रतिशतभन्दा बढी हुन जाने बताउँदै आएका छन् ।

यस विषयमा छलफल गर्नका लागि कमिटी गठन गरिएको छ । कमिटिमा छलफल भैसकेपनि हालसम्म मन्त्रालय निर्माण गरिएको सब कमिटिको बैठक हुन नसकेकोले यसको कुरा अघि बढ्न नसकेको गुणस्तर तथा नापतौल विभागकी उप-महानिर्देशक रोमी मानन्धरले बताइन् ।

‘मन्त्रालयमा हुने सब कमिटिको बैठकपछि त्यसबाट निस्कने निर्णयलाई टेक्नीसीयनको बीचमा छलफल गरेर उचित निर्णय गर्ने छौं’ मानन्धरले क्लिकमाण्डुसँग भनिन् ।

खानीमा धेरै म्यानेसियम भएको उद्योगीहरुले भने पनि केही खानीमा मात्रै म्याग्नेसियमको मात्र धेरै छ, त्यस बाहेक अन्य खानीमा कम भएको मान्नधरले बताइन् ।

यस्तै विभागका ल्याब निर्देशक दिपक ज्ञवालीका अनुसार सिमेन्टमा म्यानेसियमको मात्रा बढी हुँदा तुरुन्तै समस्या देखिदैन, ८ देखि १० वर्ष पछि भने निर्माणमा क्रयाक आउन सक्ने सम्भावना हुन्छ ।

नेपालको पाल्पा, गुल्मी र अर्घाखाँचीका खानीहरुमा म्यानेसियमको मात्रा ४ प्रतिशत भए पनि अन्य ठाउँहरुको चुनढुङ्गामा १ देखि २ प्रतिशत मात्र म्याग्नेसियम रहेको ज्ञवाली बताउँछन् ।

म्याग्नेसियमको मात्रा बढी भएमा त्यसमा थोरै म्याग्नेसियम भएको चुनढुङ्गामा मिसाउँदा त्यसको मात्रालाई घटाउन सकिने ज्ञवालीले बताए ।


क्लिकमान्डु