मर्मतका लागि मध्यमस्र्याङदी करिब दश दिन बन्द हुने



काठमाडौं । ७० मेगावाट जडित क्षमताको मध्यमस्र्याङदी जलविद्युत केन्द्र मर्मतका लागि सात देखि दश दिन बन्द हुने भएको छ । केन्द्रको बाँधको वायाँतर्फको क्षेत्रमा भूक्षयलाई रोक्न राखिएको संरचनाको मर्मतकालागि फागुन १० गतेदेखि बन्द गर्न लागिएको हो ।

मध्यमस्र्याङदीको विद्युत उत्पादन बन्द भएपनि यसका कारणले आम उपभोक्तालाई लोडसेडिङ गर्नु नपर्ने नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले बताए । तर यसका कारणले कथंकदाचित प्रणालीमा कुनै समस्या आएमा विद्युत आपूर्ति कहीकतै कुनै समय अवरुद्ध हुन सक्ने घिसिङले प्रष्ट पारे ।

‘यस अवधिमा लोडसेडिङ हुन नदिन कुलेखानी पहिलो र दोस्रो विद्युत गृह पूर्ण क्षमतामा चलाउने लगायतका वैकल्पिक व्यवस्थाको बन्दोवस्ती गरिसकेका छौं,’ उनले भने ।

उनकाअनुसार कुलेखानी जलाशयमा पानीको सतह १५२१.९८ मिटर छ, जुन गतवर्षको यही अवधिको तुलनामा करिव ३.८३ मिटर बढी हो । कुलेखानी पहिलोबाट ६० मेगावाट र दोस्रोबाट ३२ मेगावाट गरी ९२ मेगावाट विद्युत उत्पादन हुन्छ ।

मध्यमस्र्याङदीको बाँधको वायाँतिरको भागमा पानीले हिर्काएर खोतल्दा पहिले बनाइएको संरचनामा क्षति पुगेको छ । थप क्षति हुन नदिन मर्मत गर्न लागिएको केन्द्र प्रमुख पशुपति गौतमले जानकारी दिए ।

‘गतवर्ष नै मर्मत गर्न लागेका थियौं तर भार प्रेषण केन्द्र (एलडिसी)बाट विद्युत व्यवस्थापनमा गाह्रो हुने बताएपछि रोकिएको थियो’, उनले भने, ‘यस वर्ष पनि गरिएन भने थप क्षतिपुग्ने देखिएपछि सातदिनभित्रमर्मत सक्ने गरी एलडिसीबाट सट डाउन पाएका छौं ।’

गौतमकाअनुसार मर्मतको काम २४ सै घण्टा तीन सिफ्टमा सञ्चालन हुने छ ।

केन्द्रबाट विद्युतको माग बढी हुने साँझ र विहान (पिकआवर)मा ७० मेगावाट र अन्य समयमा करिव ३० मेगावाट विद्युत उत्पादन हुन्छ । मध्यमस्र्याङदी अर्धजलाशययुक्त (पिकिङ रन अफ रिभर) आयोजना हो ।


क्लिकमान्डु