देउवा सरकारको निर्णय खारेज, राष्ट्रियसभा सदस्यमा डा खतिवडा



काठमाडौं । पूर्ववर्ती शेरबहादुर देउवा नेतृत्वको सरकारले राष्ट्रियसभाका लागि सिफारिश गरेको प्रस्ताव रद्द गरेर केपी ओली नेतृत्वको सरकारले नियुक्तिका लागि राष्ट्रपति विद्यादेवी भण्डारी समक्ष सिफारिश गरेको छ ।

सरकारले शेरबहादुर देउवा नेतृत्वको सरकारको निर्णय उल्ट्याउँदै नयाँ राष्ट्रियसभा सदस्यको नाम सिफारिश गरिएको हो ।

ओली नेतृत्वको मन्त्रिपरिषद् बैठकले डा युवराज खतिवडा, रामनारायण बिडारी र बिमला पौडेल राईलाई राष्ट्रिय सभा सदस्यमा सिफारिस गरेको बताइएको छ । यस बारेमा सरकारको तर्फबाट हालसम्म कुनै पनि जानकारी दिइएको छैन ।

डा खतिवडा राष्ट्रिय योजना आयोगका पूर्व उपाध्यक्ष हुन् भने बिडारी पूर्व संविधानसभा सदस्य हुन् । यस्तै राई राष्ट्रिय योजना आयोगकै पूर्व सदस्य हुन् ।

यसअघि देउवा सरकाले गोपाल बस्नेत, चाँदनी जोशी र कृष्णप्रसाद पौडेलको नाम राष्ट्रिय सभा सदस्यको नियुक्तिका लागि राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष सिफारिस गरेको थियो । तर, केपी ओली नेतृत्वको सरकारले सो निर्णयलाई बदर गर्दै नयाँ सदस्य सिफारिश गरेको हो ।

सवैधानिक व्यवस्था अनुसार राष्ट्रियसभामा ५९ जना सांसद रहनेछन् । जसमध्ये ५६ जना प्रत्येक प्रदेशबाट ८/८ जनाका दरले चुनिएर आउनेछन् भने ३ जना राष्ट्रपतिले मनोनित गर्ने व्यवस्था छ ।


क्लिकमान्डु