के ओली सरकारका अर्थमन्त्री डा खतिवडा बन्लान् ?



काठमाडौं । सरकारले राष्ट्रियसभा सदस्यमा राष्ट्रिय योजना आयोगका पूर्व उपाध्यक्ष डा युवराज खतिवडालाई नियुक्तीका लागि सिफारिश गरेपछि उनलाई अर्थमन्त्री बन्ने बाटो खुलेको छ ।

संविधानअनुसार राष्ट्रियसभा सदस्यलाई पनि सरकारको महत्वपूर्ण जिम्मेवारी दिन मिल्छ । सोही आधारमा उनलाई अर्थमन्त्री बनाउने लक्ष्यका साथ राष्ट्रियसभा सदस्यमा सिफारिश गरिएको हुन सक्ने बताइन्छ ।

डा खतिवडालाई भावी अर्थमन्त्रीको रुपमा पनि हेरिएको छ । एमाले भित्र अर्थमन्त्रीका लागि सुरेन्द्र पाण्डे, विष्णु पौडेल, प्रदीप ज्ञवाली, रविन्द्र अधिकारी लगायतले लविङ गरिरहेका छन् ।

एमाले र माओवादी केन्द्रको निर्वाचन घोषणापत्र निर्माणमा समेत सहयोग गरेको, पछिल्लो पटक दुई दलबीचको आर्थिक कार्ययोजनाको मस्यौदा बनाउन समेत महत्वपूर्ण भूमिका निर्वाह गरेको भन्दै डा खतिवडालाई अर्थमन्त्री बनाउने लक्ष्यका साथ राष्ट्रियसभा सदस्यमा सिफारिश गरिएको हुन सक्ने बताइएको छ ।


क्लिकमान्डु