नेपालमा प्रत्यक्ष बैदेशिक लगानीः २५२ कम्पनीमा जम्मा १ खर्ब ३७ अर्ब मात्रै !



काठमाडौं । लामो राजनीतिक अस्थिरता र नीतिगत अस्पष्टताका कारण नेपालमा अपेक्षाकृतरुपमा प्रत्यक्ष बैदेशिक लगानी (एफडीआइ) भित्रिन सकेको छैन ।

नेपाल राष्ट्र बैंकले आर्थिक वर्ष २०७३/७४ लाई आधार मानेर गरेको अनुसन्धानमा जम्मा १ खर्ब ३७ अर्ब रुपैयाँ मात्रै एफडीआई नेपालमा रहेको देखिएको छ । यो रकम पनि बैदेशिक लगानीका कम्पनीको रिजर्भसहित हो ।

नेपालमा भएको एफडीआई विश्वमा भएको कूल एफडीआइको ०.०१ प्रतिशत मात्रै हो । विश्वको कूल एफडीआई १.७५ ट्रिलियन अमेरिकी डलर हो ।

राष्ट्र बैंकको अनुसन्धान विभागका कार्यकारी निर्देशक नरबहादुर थापाका अनुसार २०७३/७४ मा २५२ वटा कम्पनीमा प्रत्यक्ष बैदेशिक लगानी छ । जसमा ३६ वटा कम्पनी मात्रै उत्पादनसँग सम्बन्धित छन् । ती ३६ वटामध्ये पनि ११ वटा निर्यातमुलक छन् । ११ वटा निर्यातमूलकमध्ये पनि (चाउचाउ, फ्रुटी, सावुन जस्ता) कम्पनी ८ वटा छन् भने ३ वटा मात्रै औद्योगिक उत्पादन गर्ने कम्पनी छन् ।

ठूलो लगानीको शतप्रतिशत र सानो लगानीको ९७ प्रतिशत अध्ययनमा समेटिएको कार्यकारी निर्देशक थापाको दाबी छ ।

राष्ट्र बैंकको अनुसन्धान विभागले पहिलोपटक एफडीआई बारे रिसर्च गरेको हो । यद्यपि अहिलेसम्म उक्त रिसर्च रिपोर्ट सार्वजानिक गरिएको छैन ।

‘५/६ महिना अघि नै रिपोर्ट सार्वजानिक गर्ने तयारी भएपनि विविध कारणले अहिलेसम्म रिपोर्ट सार्वजानिक गर्न सकेका छैनौं,’ थापाले क्लिकमाण्डूसँग भने ‘रिपोर्ट अहिले पनि सम्पादनकै क्रममा छ । आशा गरौं छिट्टै सार्वजानिक हुनेछ ।’

कुन क्षेत्रमा कति ?

कार्यकारी निर्देशक थापाका अनुसार सबैभन्दा कम प्रत्यक्ष बैदेशिक लगानी कृषि क्षेत्रमा छ भने सेवा क्षेत्रमा सबैभन्दा बढी छ ।

‘सेवामूलक उद्योग तथा कम्पनीहरुमा ९७ अर्ब ७ करोड रुपैयाँ, उद्योगमा ४१ अर्ब ६० करोड रुपैयाँ र कृषिमा ४० करोड रुपैयाँ एफडीआइ रहेको देखिएको छ,’ थापाले भने ।

चुक्ता पुँजी साढे ४१ अर्ब, रिजर्भमा ९१ अर्ब

प्रत्यक्ष बैदेशिक लगानीमा खुलेका कम्पनीहरुको कूल चुक्ता पुँजी ४१ अर्ब ५६ करोड रुपैयाँ रहेको अध्ययनमा देखिएको छ । त्यस्तै, ५ अर्ब १५ करोड रुपैयाँ ऋण छ भने ती कम्पनीहरुले गत नाफाबाट रिजर्भमा राखेको रकम ९० अर्ब ९५ करोड रुपैयाँ छ ।

सार्कमा पनि नेपाल कमजोर

दक्षिण एशियाली राष्ट्रहरुसँग तुलना गर्दा पनि प्रत्यक्ष बैदेशिक लगानी भित्र्याउने सन्दर्भमा नेपाल निकै कमजोर देखिएको छ । विश्व एफडीआइको ३.१ प्रतिशत एफडीआइ सार्कका देशमा छ । तर, नेपालमा भने विश्वको एफडीआइको ०.०१ प्रतिशत मात्रै छ । सार्क राष्ट्रहरुमा भारत सबैभन्दा धेरै एफडीआई भित्र्याउने देश हो । त्यसपछि बंगलादेश, पाकिस्थान, श्रीलंका र नेपाल पर्छन् ।

किन आकर्षित हुन सकेन एफडीआई ?

नेपालको अर्थतन्त्रको आकारमा एफडीआइको हिस्सा कम हुनुले नेपालमा आएको एफडीआइ अत्यन्तै कम भएको पुष्टि गर्छ ।

‘यो एफडीआइसँग हामीले सन्तोष गर्न सक्ने अवस्था छँदै छैन,’ थापाले भने ‘आजको दिनमा जसले बढी एफडीआई भित्र्यायो, त्यो मुलुकले आर्थिक विकासमा छलाङ मार्छ ।’

आवश्यक नीतिगत स्पष्टता र पूर्वाधार तयार गर्न नसक्दा नेपालमा विदेशी लगानीकर्ताहरु आकर्षित हुन नसकेको थापाको भनाइ छ । त्यसबाहेक नेपालको कष्ट अफ डुइङ बिजनेश पनि निकै महंगो छ । र, उत्पादकत्व निकै कम छ ।


पुष्प दुलाल