बीपीसीको कार्यालय बनाउँदा लागेको ऋण तिर्न जारी गरेको एफपिओ बिकेन, अब कसरी तिर्ला ऋण ?



काठमाडौं । माघ १५ गतेदेखि सर्बसाधारणको लागि खुल्ला गरिएको बुटबल पावर कम्पनी (बीपीसी) को थप सार्बजनिक निस्कासन (एफपिओ) सबै बिक्री नहुने सम्भाबना बढेको छ ।

बिक्री खुल्ला भएको १ महिनाभित्रमा जारी गरिएको सार्बजनिक निस्कासन (आइपिओ) वा एफपिओ सबै विक्री नभएपनि बिक्री बन्द गर्नुपर्छ । यो ब्यवस्था अनुसार बीपीसीको एफपिओ बिक्री भइसक्न अब ६ कार्यदिन मात्रै बाँकी छ ।

तर, अहिलेसम्म १ अर्ब ३७ करोड ५९ लाख रुपैयाँ बराबरको एफपिओ विक्री भएको विक्री प्रबन्धक एनएमबी क्यापिटलले जानकारी दिएको छ । कूल २ अर्ब रुपैयाँ बराबरको एफपिओमा अझै करिब ६७ करोड रुपैयाँको एफपिओ विक्री भएको छैन ।

कम्पनीले प्रतिकित्ता १ सय रुपैयाँको सेयरमा ४०१ रुपैयाँ प्रिमियम मूल्य थप गरी प्रतिकित्ता ५०१ रुपैयाँमा एफपिओ जारी गरेको थियो । यसरी जारी गरिएको एफपिओमा ४० करोड ८१ लाख रुपैयाँ सेयर पुँजीमा थप गर्ने र बाँकी करिब १ अर्ब ५९ करोड रुपैयाँ न्यादी जलविद्युत आयोजना र काबेली ए जलविद्युत आयोजनामा सेयर लगानीका लागि उपयोग गरिने कम्पनीले आफ्नो विवरणपत्रमा उल्लेख गरेको छ । सो उपयोग पछि पनि पैसा बाँकी रहे कम्पनीको पूर्ण स्वामित्वमा संचालित ९.४ मेगावाटको आँधिखोला जलविद्युत आयोजनाको क्षमता विस्तार गरिने भनिएको छ ।

विवरणपत्रमा एउटा रमाइलो योजना पनि उल्लेख गरिएको छ । त्यो रमाइलो योजना के हो भने एफपिओ विक्रीबाट आएको रकम यी ३ वटा जलविद्युत आयोजनामा लगानी गरेर बाँकी रहेमा कम्पनीको कार्यालय भवन निर्माण आयोजनाका लागि लिइएको ऋण चुक्ता गर्नका लागि उपयोग गर्न सकिने भनिएको छ ।

कम्पनीले सार्बजनिक गरेको विवरणपत्रमा ‘निष्काशनबाट प्राप्त हुने कूल रकमलाई कसरी र कुन क्षेत्रमा प्रयोग गरिने छ तत्सम्बन्धी विवरणः थप सार्वजनिक निष्काशनवाट प्राप्त हुने शेयर पूँजी रु. ४०.८१ करोड र सो शेयरमा प्रिमियम वापत प्राप्त हुने रकमहरु न्यादी जलविद्युत आयोजना र कावेली ए जलविद्युत आयोजनामा शेयर लगानीका लागि उपयोग गरिने छ । सो उपयोग पश्चात् कुनै रकम बाँकी हुन आएमा कम्पनीको पूर्ण स्वामित्व तथा संचालनमा रहेको अाँधिखोला क्षमता वृद्धि आयोजना (९.४ मे.वा.) तथा कम्पनीको कार्यालय भवन निर्माण आयोजनाका लागि लिइएको ऋण चुक्ता गर्नकालागि उपयोग गर्न सकिने छ । थप सार्वजनिक निष्काशन मार्फत प्राप्त हुने रकम नपुग भएमा कम्पनीको आयश्रोतबाट बेहोर्न सकिनेछ,’ भन्ने उल्लेख छ ।

कम्पनीले सार्बजनिक गरेको विवरणपत्रमा नै एफपिओ बिक्रीबाट आएको रकम कम्पनीको कार्यालय भवन बनाउँदा लागेको ऋण तिर्नमा पनि प्रयोग गर्न सकिने भनिएको छ । कम्पनीले जारी गरेको एफपिओ अझै करिब ६७ करोड रुपैयाँ बराबरको बिक्री भएको छैन । बाँकी रहेको एफपिओ बिक्री भएन भने कम्पनीको कार्यालय भबन बनाउँदा लागेको ऋण कसरी तिर्ला भन्ने प्रश्न पनि उठेको छ ।

तर, यसमा कम्पनीलाई कुनै समस्या हुने भने देखिदैन । कम्पनीले जारी गरेको एफपिओको एनएमबी, लक्ष्मी, नबिल, ग्लोबल आइएमइ र एनआइबीएल क्यापिटलले अन्डरराइट गरेका छन् । अर्थात कम्पनीको एफपिओ अब एक रुपैयाँको पनि बिक्री भएन भने पनि यी ४ वटा क्यापिटलले किन्नेछन् ।


क्लिकमान्डु