मन्त्री बन्ने दौडमा नेताहरु, मातृका र पम्फा आज मन्त्री बन्लान् ? यस्ता छन् आकांक्षी (सूचीसहित)



काठमाडौं । केपी ओली नेतृत्वको सरकारले मन्त्रीपरिषद् विस्तारको तयारी गरेको छ । मन्त्रीमा जान दौडधुप गर्ने नेताको संख्या १०० को हाराहारीमा रहेको छ ।

एमाले र माओवादी केन्द्रबीच मन्त्री बन्ने लिगलिगे दौडको श्रृखला जबरजस्त रुपमा चलीरहेको दुवै दलका नेताहरुले बताएका छन् ।

सामान्य प्रशासन मन्त्रालयले तयार पारेको प्रतिवेदनमा केन्द्रमा बढीमा १५ मन्त्रालय रहने बताइएपनि भाग पुर्याउन भन्दै २० मन्त्रालय बनाउने तयारी गरिएको छ ।

सरकार विस्तारको तयारीमा प्रधानमन्त्री र सत्ता साझेदार दल लागेपछि मन्त्री बन्न एमाले–माओवादीमा भएको दौडधुपले मन्त्री चयन गर्न एमाले र माओवादीका शीर्ष नेतृत्वलाई संकट परेको छ । मन्त्रीका आकांक्षी धेरै भएपछि पार्टी नेतृत्वलाई यसको व्यवस्थापन गर्न पेचिलो बन्ने देखिएको छ ।

कुनै प्राविधिक तथा अन्य कारणले नरोकिए यादव र भुसाल आज मन्त्री परिषद सदस्यमा नियुक्त हुने बताइएको छ ।

नेताहरुकाअनुसार एमालेमा करिब चार दर्जन बढीले मन्त्री बन्ने चाहना राख्दा व्यवस्थापन गर्न समस्या परेको छ ।

मन्त्री बन्ने चाह राख्दै दौडधुप गर्ने नेताहरुका कारण प्रधानमन्त्री निवास बालुवाटार, एमाले पार्टी कार्यालय धुम्बाहारी मात्रै नभई माओवादी केन्द्रका अध्यक्ष प्रचण्डको निवास खुमलटार , पार्टी कार्यालय पेरिसडाँडालगायतका स्थानमा नेताहरुको भीड बढेको छ ।

सम्वद्ध स्रोतहरुका अनुसार मन्त्री बन्न इच्छा राख्दै दौडधुप गर्नेमा एमाले भित्र भीमबहादुर रावल, ईश्वर पोखरेल, प्रदीप ज्ञवाली, योगेश भट्टराई, गोकर्ण बिष्ट अग्रमोर्चामा रहेका छन् । रावल उपाध्यक्ष, पोखरेल महासचिव, भट्टराई र बिष्ट एमाले सचिव हुन् ।

उनीहरुलाई सम्भावित मन्त्रीका रुपमा हेरिएको छ । त्यसैगरी सुरेन्द्र पाण्डे, छविलाल विश्वकर्मा, भानुभक्त ढकाल, रवीन्द्र अधिकारी, यज्ञराज सुनुवार, रघुवीर महासेठ, सुमन प्याकुरेल, कृष्णगोपाल श्रेष्ठ, शेरबहादुर तामाङलगायतले पनि मन्त्रीको दाबी गरेका छन् ।

एमालेमा जस्तै माओवादीमा पनि मन्त्रीहरुको लागि चर्को दौडधुप सुरु भएको छ । माओवादीबाट रामबहादुर थापा बादल, वर्षमान पुन, देव गुरुङ, मातृका यादव, जनार्दन शर्मा, अग्नि सापकोटा, पम्फा भुसाल, देवेन्द्र पौडेल, हितबहादुर तामाङ, हरिबोल गजुरेल, लेखराज भट्ट लगायतले दौडधुप गरिसकेका छन् ।

प्रधानमन्त्री ओलीले आज माओवादीका तर्फबाट दुई जनालाई मन्त्रीपरिषद्मा सहभागी गराउने तयारी गरेका छन् । मंगलबार नै माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले चितवनका आयोजित एक कार्यक्रममा बुधबारसम्म मन्त्रीपरिषद्मा माओवादीका तर्फबाट मन्त्री बन्नेको नाम बुझाइने बताएका थिए । सम्भवतः आज मातृका यादव र पम्फा भुसाललाई मन्त्री बनाउने सम्भावना रहेको स्रोतको दावी छ ।

मधेसी र महिलाको प्रतिनिधित्व गराउने गरी अन्तिम तयारी भएको र कुनै प्राविधिक तथा अन्य कारणले नरोकिए यादव र भुसाल आज मन्त्री परिषद्मा नियुक्त हुने बताइएको छ ।


क्लिकमान्डु