होली नजिकिएसँगै टिसर्टको ब्यापार बढ्यो, यस्तो छ मूल्य



काठमाडौं । रंगहरुको पर्व होली आउन एक हप्तामात्र बाँकी रहेको छ । होली लक्षीत विभिन्न रंग र चित्र भएका टिसर्टहरु असन, न्युरोडदेखि सपिङ महलसम्म झुन्डिएका छन् ।

पछिल्ला दिनमा होली खेल्ने परम्परा र तरिका दुबै परिर्वतन हुँदै आएका छन् । आजभोलि बच्चादेखि वृद्धसम्मले सेतो रंगको टिसर्टमा ‘ह्याप्पी होली’ लेखेको टिसर्ट लगाएर रङ खेल्न मनपराउने भएकाले बजारमा यस्ता टिसर्ट निकै बढेको छ ।

त्यसोत केही कर्पोरेट हाउसहरुले समेत आफ्नो ब्राण्डको प्रचारप्रसार गर्न होलीका टिसर्टहरु बाँड्ने गरेका छन् ।

बर्षमा एक दिनको लागिमात्र प्रयोग गर्ने भएकाले यस्ता टिसर्ट असन बजारमा १ सय ४० देखि ३ सय रुपैयाँमा विक्री भैरहेको छ ।

त्यस्तै भाटभटीनी सुपर मार्केट त्रीपुरेश्वरमा भने बच्चादेखि वृद्धसम्मकै होली टिसर्टहरु २ सय देखि २ सय ५० रुपैयाँसम्ममा विक्री भैरहेको महलका ब्रान्च म्यानेजर सबिन बेन्जेनकारले क्लिकमाण्डुसँग बताए ।

अघिल्लो वर्ष त्रिपुरेश्वर ब्रान्चबाट ६ सय पिस होलीको टिसर्ट व्यापार गरेको भाटभटीनी सुपर मार्केटले यो वर्ष अघिल्लो वर्षको तुलनामा ५० प्रतिशत बढी व्यापार गर्ने टारगेट राखेकोे उनले जानकारी दिए ।

‘अहिले १ सय पिस टिसर्ट ल्याएका छौँ, पछि मागसँगै यसको संख्या बढाउने हो’ बेन्जेनकारले भने ।

असनमा ३ वर्षदेखि व्यापार गर्दै आएकी आना बानीको पसलमा होलीका टिसर्टहरु २ सय ५० देखि ३ सय रुपैयाँमा विक्री भैरहेका छन् ।

‘अघिल्लो बवर्ष १० वटा होलीको टिसर्ट ल्याएको ४ पिस बाँकी नै छ, व्यापार गारो छ, जतापनि टिसर्टनै मात्र बेच्छन् केही फाइदा छैन्’ उनले क्लिकमाण्डुसँग कुरा गर्दै भनिन् ।

यस्तै असनको कमलाश्रीमा रहेको अनुपम रेडिमेटले हाल २ सय देखि २ सय ५० रुपैयाँमा होलीका टिसर्टहरु बेचिरहेको छ ।

‘होलीको २ दिन अघि मात्र टिसर्टको व्यापार हुने हो, महंगो भयो भने व्यापार नै हुन्न’ अनुपम रेडिमेटका संचालक शिव कुमार शर्माले भने ।

ठमेलमा रहेको ‘टिसर्ट नेपाल’ले होलीको लागी १ हजार थान टिसर्ट ल्याएको छ । टिसर्ट ब्यवसायी श्रृजना श्रेष्ठले आफ्नो कुलेश्वर, कोटेश्वर, ज्याठा र ठमेलगरी ४ ठाउँमा टिसर्ट फ्याक्ट्री रहेकोले त्यहिबाट टिसर्टहरु ल्याएको बताइन् ।

उनले एउटा टिसर्ट २ सय रुपैयाँको दरमा विक्री गरिरहेकी छन् । एकै चोटी ४ वटा टिसर्ट लग्दा आफुले ६ सय रुपैयाँमा नै बेच्ने गरेको श्रेष्ठ बताउँछिन् ।

ठमेलमा रहेको स्मार्ट होमका व्यापारी रुपेश खनालले भने गुणस्तर भएको होलीका टिसर्टहरु २ सय १० र नर्मल होलीका टिसर्टहरु १ सय ४० रुपैयाँमा नै विक्री गरिरहेको बताए ।

‘होलीको समयमा पसलमा विक्री नभए पनि असनमा लगेर बेच्न सकिने भएकाले मात्र टिसर्ट राखेको हुँ, नत्र म पसमिना मात्र बेच्ने गर्छु’ खनालले भने ।


क्लिकमान्डु