विशेष आर्थिक क्षेत्र निर्माणको काम तीव्र रुपमा, १ हजार २ सय उद्योग स्थापनाको लक्ष्य



बारा । प्रदेश नं २ अन्तर्गत बाराको औराहामा निर्माण हुनलागेको नेपाल सरकारको गौरवशाली आयोजना ‘विशेष आर्थिक क्षेत्र’ सेजको निर्माण तीव्र रुपमा अगाडि बढेको छ ।

स्थानीय तहको निर्वाचनसँगै प्रदेश तथा प्रतिनिधिसभाको निर्वाचन पश्चात चौतर्फी दबाब सिर्जना भएपछि सेजको निर्माण तीव्ररुपमा अगाडि बढाइएको हो ।

सेजको लागि छु्याइएको जग्गामा पहिलोचरणमा पर्खाल निर्माण गरिएको छ । अहिले दोस्रोचरणको निर्माण शुरु भएको छ । दोस्रोचरण अन्तर्गत सेजको लागि आवश्यक प्रशासनिक, बैंक, बालसंरक्षण भवन, भन्सार, हुलाक भवन तथा चार लेनको चारवटा सडक निर्माण थालिएको छ ।

सेजभित्र दर्जनौं उद्योग स्थापना हुने भएकाले आम सडकको तुलनामा टिकाउ एवं पूर्ण क्षमताको सडक बनाउन थालेको कर्मचारी दामोदर विडारीले बताए। चार लेनको सडकको मध्य भागमा इँटाको पर्खाल लगाई वृक्षरोपण गरिने उनले बताए ।

वीरगञ्ज चिनी कारखाना लिमिटेडको स्वामित्वमा रहेको उक्त जग्गा अधिग्रहण गर्नु अगाडि उक्त क्षेत्रका स्थानीयवासी खनजोत गर्दैआएका थिए ।

सरकारले सो आयोजना घोषणा गरेको करिब दुई दशक बित्न लाग्दासमेत अहिलेसम्म दोस्रो चरणको काम अगाडि बढ्न सकेको थिएन । चालु आवमा बजेट विनियोजनसँगै काम तीव्र रुपमा अगाडि बढाएकाले तोकिएको समयभित्र काम पूरा हुने सो कार्यमा संलग्न इञ्जिनियर दिनेश न्यौपानेले बताए ।

पहिलोचरण अन्तर्गत आठ सय ३३ बिगाहा क्षेत्रफलमा साना मझौला तथा ठूला गरी एक हजार दुई सय उद्योग स्थापना गर्ने लक्ष्य छ । यसवर्ष विशेष आर्थिक क्षेत्र सेजका लागि ८४ करोड रुपैयाँ बजेट छुट्ट्याइएको छ ।

वैदेशिक वस्तुको आयातलाई निरुत्साहित गर्दै स्वदेशी उत्पादनप्रति आत्मनिर्भर बनाउनुको साथै बढ्दो बेरोजगारी समस्यालाई समाधान गर्ने उद्देश्यले सरकारले उक्त योजना अगाडि बढाएको हो ।


क्लिकमान्डु