एकल प्रयासमा १८ लाख रुपैयाँ लगानी गरेर पशुपक्षी फार्म स्थापना



म्याग्दी । बेनी नगरपालिका–६ बाँसबोटमा एकजना कृषकले १८ लाख रुपैयाँको लगानीमा पशुपक्षी फार्म स्थापना गरेका छन् ।

परम्परागतरुपमा गाईभैँसीपालन गरेर दूध उत्पादन गर्दै आएका बाँसबोटका दुर्गाप्रसाद पौडेलले पशुपालन पेशालाई व्यावसायिक बनाउन वरदान पशुपक्षी फार्म स्थापना गरेका हुन्।

फार्म स्थापनाका लागि गोठ निर्माण, गाईभैँसी र राँगो खरिद गर्न १८ लाख रुपैयाँ लगानी भएको पौडेलले बताए। विसं २०५२ देखि परम्परागत रुपमा गाईभैँसी पालेर दूध बेच्दै आएका उनले पशुपालन पेशालाई व्यवस्थित र व्यावसायिक बनाउन फार्मको स्थापना गरेका हुन् ।

फार्ममा हाल दशवटा मुर्रा जातको भैँसी तथा एक/एकवटा जर्सी गाई र राँगो रहेको छ । तीन जनाले पूर्णरुपमा रोजगारी पाएका छन् । दैनिक १०० लिटर दूध उत्पादन हुने गरेको छ । सदरमुकाम बेनी बजारमा प्रतिलिटर ७० रुपैयाँका दरले दूध बिक्री गर्ने गरेको उनले बताए ।

पौडेलले दूध बेचेको आम्दानीले घर निर्माणका साथै सात रोपनी जग्गा जोडेका छन् । छोराछोरीको पढाइ र घरव्यवहार चलाउन आम्दानीको स्रोत दूध बनेको छ ।

पौडेलले बेनीको एक निजी विद्यालयमा १४ वर्षसम्म कार्यालय सहयोगीका रुपमा काम गरेका थिए । पाँच वर्षअघि निजी विद्यालयको जागीर छोडेर भैँसीपालन शुरु गरेका उनले भैँसी खरिद बिक्रीसमेत गर्दै आएका छन् ।

उनले जिल्ला पशुसेवा कार्यालयबाट व्यावसायिक पशुपालन र गुणस्तरीय दूध उत्पादन सम्बन्धि तालीम लिएका छन् ।


क्लिकमान्डु