बजारको दायाँबायाँ व्यवसायीले राखेका सामग्री हटाइँदै



धुलिखेल । बनेपा नगरपालिकाले नगरलाई व्यवस्थित बनाउने अभियान स्वरुप बिहीबार मुख्य बजारको पुल बजारदेखि बुडोलडाँडासम्मको अरनिको राजमार्ग दायाँबायाँका सबै सामग्री हटाएको छ ।

नगरपालिकाका प्रमुख लक्ष्मीनरसिंह बादेको नेतृत्वमा सडक देउछाउमा राखिएका साना फलफूल व्यवसायी, कपडा व्यवसायी, चटपटे व्यवसायीदेखि ठूला निर्माण व्यवसायी र खाद्य स्टोर सञ्चालन गर्नेले राखेका सामग्री प्रहरी प्रशासन लगाएर हटाइएको हो ।

नगरप्रमुख बादेले ‘बनेपा नगरपालिकालाई स्वच्छ र सुन्दर बनाऔँ, अरनिको राजमार्ग क्षेत्र व्यवस्थित बनाऔँ’ भन्ने अभियान सञ्चालन गरी बजार क्षेत्रमा बाहिर सडकमा राख्दै आएका व्यावसायिक प्रयोजनका सबै सामग्री हटाइएको बताए ।

“यसले नगरको रुपलाई कुरुप बनाउनेदेखि सडक दुर्घटनादेखि प्रदूषण हुनका साथै बजार नै अस्तव्यस्त भएकाले नगरपालिकाले यसअघि नै पटक/पटक सार्वजनिक सूचना जारी गरी अभियान थालनी गरेका हौँ ।” बादेले भने ।

उनले अहिले पुल बजारदेखि बुडोलडाँडासम्म हटाउने र पछि बनेपा नगरपालिकाभित्रको क्षेत्र साँगादेखि २८ किलोसम्म नै सबै खाली गराउने बताए ।

“हामीले आजबाट अभियान नै थालनी गरेका छौँ, यदि नहटाएमा नियमअनुसार कारबाही अगाडि बढाउने छौँ,” बादेले भने, “यसका लागि प्रक्रिया पुस ७ गतेदेखि नै सडक डिभिजन कार्यालयबाट, पुस १३ गते नगरपालिकाबाट, माघ १८ गते पुनः नगरपालिकाबाट नै सूचना जारी गरी पर्चा र पम्प्लेटिङसहित प्रचार गरेका छौँ ।”

यसरी सबै प्रक्रिया पूरा गर्नेदेखि राजनीतिक दल, उद्योग वाणिज्य संघ, संघ÷संस्था सबैसँग छलफल गरी अभियान थालनी गरेकाले कोही पनि व्यवसायीले थाहा भएन भनेर अटेर गर्ने ठाउँ नरहेको बताए। “नियमअनुसार सडक मिचेर राखिएका सबै सामग्री हटाउनुपर्छ, यदी हटाएन भने हामीले उठाएर लैजाने छौँ, त्यसको भागिदार स्वयं नै हुनेछ, नगरपालिका हुँदैन ।” उनले भने ।

नेकपा ९माओवादी केन्द्र० बनेपा नगरका अध्यक्ष रामचन्द्र भट्टराईले अव्यवस्थित नगरलाई व्यवस्थित गराउनका लागि नगरपालिका र सबै राजनीतिक दलहरु बसेर निर्णय गरेर अगाडि बढेकाले कसैले पनि सडक छेउमा अटेर गरी सामान राख्ने तथा व्यापार व्यवसाय गर्न नपाउने गरी अभियान सञ्चालन गरेको बताए ।

सडक प्रयोग गरी व्यापार व्यवसाय गर्दै आएका ठूला व्यापारीले भने आफूहरुले सूचना जानकारी केही नपाएको र सामान हटाउन अलि समय लाग्ने भएकाले केही दिन पर्खन नगर प्रमुखसँग आग्रह गरेका छन् ।

यसअघि नगरपालिकाले नगरको सरसफाइका लागि भनेर सडक छेउमा साना पसल राखेर व्यवसाय गर्नेसँग दैनिक सरसफाइ करसहित भनेर ७५ रुपैया उठाउने गरेको थियो । नगरपालिकाको बजार अस्तव्यस्त हुने र सडक दुर्घटनासमेत बढेको भए पनि करमात्रै उठाएर दुर्गन्धित बनाएको बनेपा नगरपालिकाले अहिले भने सुन्दर नगरपालिका बनाउने अभियान थालनी गरेर राम्रो कामको थालनी गरेको नगर बासिन्दा बताउँछन् ।

नगरपालिकाले त्यसरी साना व्यवसायीबाट सडक छेउमा बसेर व्यवसाय गरेबापत दैनिक पैसा उठाउने गरेपनि ठूला निर्माण सामग्री, खाद्यस्टोर र अन्य कम्पनीले सडक छेउ नै ढाक्ने गरी सामान राखेर खुल्लमखुल्ला व्यापार गरे पनि केही गरेको थिएन ।


क्लिकमान्डु