ललितपुर र भक्तपुरमा कस्तो नयाँ शहर बनाउने ? डीपीआरको जिम्मा नेपाली कम्पनीलाई



काठमाडौं । ललितपुर र भक्तपुर जिल्लाको १०-१० हजार रोपनी जमिनमा बन्ने नयाँ शहरको विस्तृत सम्भाव्यता अध्ययन (डीपीआर) एक बर्षमा तयार हुने भएको छ । काठमाडौं उपत्यका विकास प्राधिकारणले ललितपुर र भक्तपुरमा बन्ने नयाँ शहरको डीपीआर एक बर्षमा निर्माण गर्नेगरी ठेक्का सम्झौता गरेको हो ।

उपत्यका विकास प्राधिकारणका शहरी योजना विज्ञ भागवतभक्त खोखालीले ललितपुर र भक्तपुरमा बन्ने नयाँ शहरको डीपीआरका लागि इआरएमसी–एइएसटी–एडीए जेभीसँग ठेक्का सम्झौता भएको जानकारी दिए ।

‘ललितपुर र भक्तपुरमा नयाँ शहर बनाउनका लागि इआरएमसी-एइएसटी-एडीएसँग बुधबार ठेक्का सम्झौता भएको छ, ठेक्का सम्झौता भएको मितिको एक बर्ष भित्रमा उनीहरुले डीपीआर तयार गरेर बुझाउने छन्,’ खोखालीले क्लिकमाण्डूसँग भने ।

सम्झौताअनुसार तीनवटै कम्पनीले संयुक्तरुपमा डीपीआर तयार पार्नेछन् ।

ललितपुर र भक्तपुर दुवै जिल्लामा निर्माण हुने नयाँ शहरको डीपीआर बनाउने जिम्मा इआरएमसी–एइएसटी–एडीए जेभीले पाएको हो । प्राधिकारणका अनुसार दुई नयाँ शहरको डीपीआरका लागि ठेकेदारसँग १ करोड ८५ लाख रुपैयाँ बराबरको ठेक्का सम्झौता गरिएको छ ।

प्राधिकारणले काठमाडौं उपत्यकामा बढ्दै गएको अव्यवस्थित शहरीकरणलाई न्युनिकरण गर्नका लागि उपत्यकाका ३ जिल्लाको ४ स्थानका १ लाख ३० हजार रोपनी जमिनमा नयाँ शहर बनाउन लागिरहेको छ ।

४ स्थानमध्ये २ स्थानको डीपीआर निर्माणका लागि ठेक्का सम्झौता भईसकेको छ । काठमाडौं जिल्लाको भूभागमा पर्ने अन्य २ शहरको डीपीआर सम्झौता हुन केहि समय लाग्ने देखिन्छ । काठमाडौंका २ शहरमध्ये एउटा १ लाख रोपनी र अर्को १० हजार रोपनी क्षेत्रफलमा निर्माण हुनेछ ।

काठमाडौं जिल्लाका १ लाख रोपनी जमिनमा बन्ने नयाँ शहरको डीपीआर विदेशी कम्पनीले निर्माण गर्ने छन् । सो क्षेत्रका लागि परेका प्रस्तावहरु मूल्याङकन चरणमा रहेको प्राधिकारले जानकारी दिएको छ ।

यस्तै, काठमाडौं जिल्लामा बनाउन लागिएको अर्को १० हजार रोपनी क्षेत्रफलको नयाँ शहरको डीपीआरका लागि पुनःटेण्डर खोल्न लागिएको छ । यसअघि जारी गरिएको टेण्डरमा प्राविधिक गडवडी देखिएकाले पुनःटेण्डर गर्नु खोल्न लागिएको प्राधिकारणले जानकारी दिएको छ ।

यी हुन् डीपीआर तयार हुने दुई नयाँ शहर

काठमाडौं आग्नेय (पुर्व-दक्षिण)

काठमाडौं आग्नेय भक्तपुरको भुभागलाई समेटेर बन्न लागेको नयाँ शहर हो । यो काठमाडौको पुर्व–दक्षिण दिशामा अवस्थित छ । पूर्वमा अरनिको राजमार्गको सुर्यविनायक चोकदेखि मन्दिरसम्म, सुर्यविनायक बनलाई बाहिर पार्दै शहर निर्माण हुनेछ ।

पश्चिममा खहरेखोला, बाल्कोट विरुवा सडक, पानी टंयाकी अमरनगर, ठिमीहुदै अरनिको राजमार्ग सिमानालाई छुनेछ । शहर उत्तरमा अरनिको राजमार्गको सिमानासम्म पुग्नेछ । दक्षिणमा भक्तपुर जिल्लाको सिलामगाल, रानीकोट, जंगलछेउ, अनन्त लङगेश्वर, फेदी, तर्खगाल, पात्लेश्वर, विरुवाहुँदै खहरेसम्म पुग्नेछ । यसले भक्तपुर जिल्लाको १० हजार रोपनी क्षेत्रफलमा ओगट्ने छ ।

काठमाडौ नैऋत्य (दक्षिण-पश्चिम)

काठमाडौं नैऋत्य ललितपुर जिल्लाको भूभागलाई समेटेर बन्न लागेको शहर हो ।

पुर्वमा छ्यासिकोटदेखि साविकको संबु गाविसको सिमानाहुँदै फर्सिडोल बागमती नदिको झोलुङगे पुलसम्म पुग्नेछ । त्यस्तै पश्चिममा बागमती नदीको सिमानासम्म तथा उत्तरमा सैबु गाविसको सीमाना नै छुनेछ । दक्षिणतर्फ भने बागमतीसम्म फैलने छ । यो शहरले ललितपुरको १० हजार रोपनी क्षेत्रफल ओगट्ने छ ।


पुष्प दुलाल