सत्तरी प्रतिशत कर्मचारी प्रदेश नं ४ का कार्यालयमा हाजिर



पोखरा । नयाँ प्रादेशिक संरचनाअनुसार पोखरास्थित प्रदेश नं ४ का कार्यालयमा खटाइएका ७० प्रतिशतभन्दा बढी कर्मचारीले आफ्नो कार्यक्षेत्रमा पुगी जिम्मेवारी सम्हालिसकेका छन् ।

तत्कालीन आवश्यकतालाई दृष्टिगत गरी सामान्य प्रशासन मन्त्रालयले प्रदेश नं ४ मा २२० दरबन्दी निर्धारण गरेकामा १३७ कर्मचारीलाई विभिन्न मन्त्रालय एवं कार्यालयका लागि खटाइसकेको छ ।

मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका प्रवक्ता झलकराम सुवेदीका अनुसार हालसम्म खटाइएकामध्ये १०५ कर्मचारी सम्बन्धित मन्त्रालय एवं कार्यालयमा पुगी जिम्मेवारी सम्हालेका छन भने अन्य आउने क्रममा छन् ।

सामान्य प्रशासन मन्त्रालयले प्रदेश नं ४ मा मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा २१, प्रदेश प्रमुखको कार्यालयमा १८, आन्तरिक मामिला तथा कानून मन्त्रालयमा २३, आर्थिक मामिला तथा योजना मन्त्रालयमा १८ कर्मचारीको दरबन्दी तोकेको छ ।

त्यस्तै भौतिक पूर्वाधार विकास मन्त्रालयमा २४, भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयमा २०, उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयमा ३० र प्रदेशसभा सचिवालयमा २८ जना कर्मचारीको दरबन्दी तोकिएको छ ।

नयाँ प्रादेशिक संरचनाअनुसार आवश्यक व्यवस्थापन कार्य भइरहेको प्रवक्ता सुवेदीले जानकारी दिए ।


क्लिकमान्डु