भूकम्प प्रभावित जिल्लामा खटिएका इन्जिनियरलाई ट्याबलेट



काठमाडौँ । भूकम्पपीडितलाई दिइँदै आएको राहत हस्तान्तरण प्रक्रियालाई सहज तुल्याउन राष्ट्रिय पुनःनिर्माण प्राधिकरणले कार्यस्थलमा खटिएका प्राविधिकलाई ८५ लाख रुपैयाँभन्दा बढीको ट्याबलेट (कम्प्युटर) उपलब्ध गराएको छ ।

प्राधिकरणका सचिव मधुसुदन अधिकारीले आज केन्द्रीय आयोजना कार्यान्वयन एकाइका आयोजना निर्देशक तपेन्द्रबहादुर खड्कालाई २८४ थान कम्प्युटर हस्तान्तरण गरे ।

आयोजनाले भूकम्प प्रभावित १८ जिल्लाका १५१ इन्जिनियरलाई ती कम्प्युटर उपलब्ध गराउने प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत युवराज भुसालले जानकारी दिए । उनका अनुसार त्यसबाट जिल्लामा खटिएका इन्जिनियरले राहतको दोस्रो किस्ता उपलब्ध गराउने सिफारिशका लागि तस्बिरसहित तथ्यांक केन्द्रमा पठाउन सहयोग पुग्नेछ ।

सो अवसरमा कार्यकारी अधिकृत भुसालले हालसम्म ९८ घर निर्माण सम्पन्न भइसकेको र तीन लाख १४ हजार घर बनिरहेको जानकारी दिँदै चालु आवमा साढे चार लाख घर बनाइसक्ने लक्ष्य रहेको बताए।

काठमाडौँ उपत्यकाकामा पुनःनिर्माणमा व्यावहारिक एवं कानुनी जटिलता भएको बताउँदै उनले उपत्यका बाहिर भने पुनःनिर्माणले गति लिएको जिकिर गरे।

भूकम्पपछिको आवश्यकता आंकलन प्रतिवेदन (पिडिएन)का अनुसार २०७२ वैशाख १२ गतेको भूकम्पले आठ हजार ७९० जनाले ज्यान गुमाए भने २२ हजार ३०० घाइते भएका थिए । यस्तै चार लाख ९८ हजार ८५२ निजी घर, दुई हजार ६५६ सरकारी भवन र विद्यालयका १९ हजारभन्दा बढी कक्षा कोठा पूर्णरुपमा क्षति भएका थिए ।


क्लिकमान्डु