तेस्रो राष्ट्रिय हिमाली कृषि व्यवसाय प्रवद्र्धन मेला शुरु



काठमाडौँ । हिमाली जिल्लाका कृषि उत्पादनको प्रवद्र्धन गर्ने उद्देश्यले आजदेखि भृकुटीमण्डपमा तेस्रो राष्ट्रिय हिमाली कृषि व्यवसाय प्रवद्र्धन–२०७४ शुरु भएको छ ।

पशुपक्षी विकास मन्त्रालय र उच्च पहाड कृषि व्यवसाय तथा जीविकोपार्जन सुधार (हिमाली) आयोजनाले शुरु गरेको सो प्रदर्शनीको आज उपराष्ट्रपति नन्दबहादुर पुनले उद्घाटन गरे ।

प्रदर्शनीमा संखुवासभा, सोलुखुम्बु, दोलखा, रसुवा, मनाङ, मुस्ताङ, डोल्पा, जुम्ला, मुगु र हुम्लामा उत्पादन भएका चिज, छुर्पी, राडीपाखी, तरकारी बीउ, केशर, तोरा जुस, कालो मसुरो, जुम्ली मार्सी चामल, हिमाली चिया, सिलाजित, सिमी, स्याउको चाना, ओखर, चिराइतो, अलैँचीलगायत बिक्रीमा राखिएका छन् ।

हिमाली वस्तुको उपयोगमा वृद्धि एवं व्यवसायमा लगानी बढोत्तरी गर्ने अभिप्रायले शुरु गरिएको प्रदर्शनीमा ७८ बिक्री कक्ष छन् । गतवर्ष प्रदर्शनीमा दुई करोड ५० लाख रुपैयाँको कारोबार भएको थियो भने यसवर्ष चार करोड रुपैयाँको कारोबार हुने अपेक्षा आयोजकको छ । उच्च पहाडी १० जिल्लाका नागरिकको जीवनस्तरमा सुधार ल्याउने उद्देश्यले सन् २०११ देखि शुरु भएको उक्त हिमाली आयोजना सन् २०१८ सम्म सञ्चालन हुनेछ ।

आयोजना सञ्चालनका लागि एशियाली विकास बैंकको दुई करोड डलर सहयोग प्राप्त छ भने आयोजनाको कूल लगानी तीन करोड डलर छ । सन् २०१८ सम्म एशियाली विकास बैंकको ६६ प्रतिशत, नेपाल सरकारको १५ प्रतिशत र आयोजनमा सहभागी हुने व्यवसायीको १९ प्रतिशत लगानी हुने अपेक्षा गरिएको छ ।

कार्यक्रमको उद्घाटन गर्दै उपराष्ट्रपति पुनले कृषि अर्थतन्त्र ओरालो लागेकामा चिन्ता व्यक्त गरे। उनले ६७ प्रतिशत जनता कृषिमा आत्मनिर्भर भए पनि आयात प्रतिस्थापन नहुनुले कृषिमा परनिर्भरता बढ्दै गएको बताए ।


क्लिकमान्डु