प्रधानमन्त्री ओलीकै प्रदेशमा यसरी मौलाउँदैछ ‘मिटरब्याज’को कालो धन्धा, करोडौंको कारोबार



काठमाडौं । प्रदेश नं. १ का मुख्य शहरहरु धरान, इटहरी र बिराटनगरमा मिटरब्याजको कालो धन्धा मौलाएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीको गृहप्रदेशसमेत रहेको यो क्षेत्रमा केही समययता गैरकानूनी वित्तीय कारोबार मौलाएको हो ।

यसरी मिटरब्याजको धन्धा मौलाएपछि नेपाल प्रहरीको केन्द्रिय अनुसन्धान ब्यूरो (सीइआबी) ले सक्रियता बढाएको छ । नेपाल राष्ट्र बैंक र सहकारी विभागबाट इजाजत नलिइ कम्पनी खोलेर बचत संकलन र कर्जा प्रवाह गर्ने करिब दर्जन जनालाई प्रहरीले पक्राउ गरिसकेको छ ।

नेपालको कानूनअनुसार राष्ट्र बैंक र सहकारी विभागको इजाजत लिएका संस्थाहरु मात्रै बचत संकलन गर्न र कर्जा प्रवाह गर्न पाउँछन् ।

शुक्रबार मात्रै सीइआबीले यस्तो कारोबार गर्ने ३ कम्पनीमा छापा हानेको छ । जसमध्ये एक कम्पनीका सञ्चालकलाई प्रहरीको पक्राउ गरेको छ भने अन्य कम्पनीका सञ्चालक फरार छन् ।

सिआईबीले ईटहरीको खनारस्थित लक्ष्मी इलेक्ट्रोनिक्स सप्लायर्समा छापा हानेको थियो । जहाँ ४ करोड २५ लाख रुपैयाँ बराबरको कारोबार भएको प्रहरीले फेला पारेको छ । सो कम्पनीका सञ्चालक बाबुराम न्यौपाने फरार छन्।

विराटनगरको न्यू आभाष फेन्सी स्टोरमा छापा हानेर प्रहरीले संचालक सिताराम लुईटेललाई पक्राउ गरेको छ। उनले २ करोड ८६ लाख ८ सय २५ रुपैयाँ बचत संकलन गरेका थिए।

त्यस्तै इटहरीकै पूर्णगिरी बचत इन्भेष्टमेन्ट प्रालिमा छापा हानेको छ। जसले १ करोड २० लाख रुपैयाँ संकलन गरेको प्रहरीले जनाएको छ। सो कम्पनीका संचालक नरबहादुर बिष्ट फरार छन्।

प्रहरीका अनुसार उनीहरुले ३० प्रतिशतसम्म ब्याज लिँदै आएका थिए। घर÷जग्गा तथा सुन अवैध रुपमा धितो राखेर उनीहरुले मिटरब्याजमा कर्जा दिँदै आएका थिए ।

यसअघि सिआईबीले इटहरी , धरान र विराटनगरमा संचालित विभिन्न इन्भेष्टमेन्ट कम्पनीहरुमा छापा हानी ८ जनालाई पक्राउ गरेको थियो। उनीहरुविरुद्ध बैंकिङ कसुर मुद्दामा सिआईबीले कारबाही अघि बढाएको छ।

सुनसरी र मोरङमा सञ्चालन गरेको इन्भेष्टमेन्ट कम्पनीका आठ सञ्चालकलाई कानूनी दायरा विपरीत गैरकानूनी तवरले स्थानीयवासीसँग बचत संकलन तथा ऋण प्रवाह गर्नेलगायत वित्तीय कारोवार गरेको सूचनाका आधारमा आइतबार पक्राउ गरेको थियो ।

पक्राउ पर्नेमा सुनसरीका भीमप्रसाद चौधरी, श्याम पेशकार थारु, डिल्लीप्रसाद आचार्य, प्रकाश आचार्य र सुनिल गुरागाईं, मोरङका राजु शाह तथा संखुवासभाका चन्द्रबहादुर विक र अनिता विक छन् ।

ब्यूरोले पक्राउ परेकासँग बचतबुक, बैंक भौचर, पासबुक, कर्मचारी नियुक्तिको करारनामा, चेकबुक, अभिलेख फाइल, ल्यापटप, रजिष्ट्रर, पासबुकलगायत सामग्री र करोडौँ रुपैयाँ बरामद गरेको प्रहरीले जनाएको छ ।


पुष्प दुलाल