बिजनेशमा सफल हुन यसो गर्नुहोस्



काठमाडौं । तपाईं व्यापार बिजनेश गर्ने सोचमा हुनुहुन्छ वा गरिरहनुभएको छ भने कसरी सफल उद्यमी बन्ने भन्ने विषयमा धेरै नै चासो हुने गर्छ । हरेक मान्छेले काम शुरु गर्दा सफल हुने योजना बनाएको हुन्छ ।

तर उ सँधै सफल हुँदैन । काम गर्दा गर्दै पनि उ असफल भइदिन्छ ।

मान्छे काम गरेर मात्रै सफल हुँदैन । उनले लिने नीति काम गर्ने शैली लगायतले पनि मान्छेको सफलता र असफलता निर्धाण गर्छ । त्यसबाहेक बाहिरी फ्क्याट पनि हुन्छन् नै ।

तपाईं ब्यवसाय शुरु गर्दै हुनुहुन्छ भने केही यी गंभीर भएर सोच्नुहोस् । र, कार्यान्वयन गर्ने प्रयास गर्नुहोस्, त्यसो भयो भने तपाईं सफल हुनुहुन्छ ।

प्रष्ट योजना

कुनैपनि काम शुरु गर्नुअघि प्रष्ट योजना बनाउनुहोस् । किनभने योजनाबिहिन कामबाट सफलता मिल्दैन । आफूले गर्न लागेको काम के हो ? र, त्यो कामलाई भविष्यसम्म म कसरी अघि बढाउँछु भनेर योजना बनाउनै पर्ने हुन्छ । आफ्नो लक्ष्य के हो ? लक्ष्य प्रप्त गर्न कसरी काम गर्ने ? लगायतका विषयमा प्रष्ट योजना बनाएर मात्रै नयाँ काममा हात हाल्नुहोस् ।

लगानी

योजना भएर मात्रै पनि व्यवयासमा सफलता मिल्दैन । त्यो योजनालाई साकार पार्न पुँजीको आवश्यकता पर्छ । त्यसैले आफ्नो योजनालाई सफल बनाउन कति पुँजी चाहिन्छ, त्यसको हिसाब गर्नुहोस् ।

घाँटी हेरेर मात्रै हाड निल्नोस् । यसको अर्थ के हो भने आफूसँग कति पुँजी छ, सोही अनुसारको योजना बनाउनुपर्छ । यसरी पुँजीको जोहो गर्न थालेपछि सकेसम्म कम बजेटमा काम गर्ने योजना बनाउनुपर्छ । किनभने एकैपटक ठूलो लगानी गर्नुभयो र योजना असफल भयो भने तपाईंको लगानी डुब्छ । त्यसैले इकोनोमिक भएर काम गर्नुहोस् ।

कति लगानी गर्दा कति फाइदा हुन्छ, केकेमा खर्च हुन्छ र भइपरी आउँदा कहाँबाट र कसरी पुँजी जुटाउने ? यी सबै विषयको सुनिश्चितता गर्नुहोस् । र, जथाभावी र अनुत्पादक काममा खर्च गर्दै नगर्नुहोस् ।

मानवीय व्यवस्थापन

योजना बनाएर पुँजी लगानी गर्दा मात्रै पनि व्यवसायमा सफल भइँदैन । व्यवसायमा हात हालिसकेपछि ह्युमन रिसोर्स म्यानेजमेन्ट गर्न सक्नुभएन भने तपाईं कहिल्यै पनि सफल हुन सक्नुहुन्न । एचआर म्यानेजमेन्ट आजको दुनियाँमा निकै ठूलो चुनौति बन्दै गएको छ ।

सही मान्छेलाई सही काम र पद दिन सक्नुभयो भनेमात्रै उत्पादकत्व निस्कन्छ । होइन भने तपाईंले आफ्नो कर्मचारीमा खर्च गरेको रकमले तपाईंको व्यवसाय डुबाउन सक्छ । आफ्ना कर्मचारीलाई राम्रो र साथीको जस्तो व्यवहार गर्नुहोस्, ताकी उनीहरु यो मेरै कम्पनी हो भनेर मिहेनतका साथ काम गरुन् ।

कानूनप्रति सजग

जुनसुकै व्यापार व्यवसाय गर्नका लागि राज्यले कानून बनाएको हुन्छ । तपाईंले गर्ने व्यवसायमा के कस्ता कानून छन् ? ती सबै राम्रोसँग अध्ययन गर्नुहोस् । कानून नबुझेर तपाईंले गल्ती गर्नुभयो भने पनि कानूनले तपाईलाई छाड्दैन । त्यसैले समयमै कर तिर्नुहोस् । अन्य राज्यलाई तिर्नुपर्ने शुल्कहरु तिर्नुहोस् ।

समयमै व्यवसाय नविकरण गर्नुहोस् । अर्थात् सरकारी कार्यालयमा तपाईंले आफ्नो कम्पनीका सबै कामहरु प्रष्टसँग सक्नुहोस् । विस्तारै मिलाउँदै गरौंला भनेर अघि बढ्ने प्रयत्न नगर्नुहा्स् । तपाईं कानूनीरुपमा जति बलियो हुनुहुन्छ, त्यतिनै बढी सफता हासिल गर्नुहुन्छ ।

मौका पर्दा हिरा फोड्नु, बेमौकामा कौडी नछोड्नु

चर्चित नेपाली उखान छ ‘मौकामा हिरा फोड्नु, बेमौकामा कौडी नछोड्नु’ यसको गाम्भियर्ता बुझ्नुहोस् । राम्रो र आफ्नो व्यवसाय बढ्छ अनि नाफा बढ्छ भने खर्च गर्न नडराउनुहोस् । तर, व्यवसायलाई फाइदा पुग्दैन भने एक रुपैयाँ पनि खर्च गर्न लोभ गर्नुहोस् ।

अर्कोकुरा आफ्नै व्यवसाय त हो नि भनेर व्यक्तिगत र अपिसियल खर्च एकै ठाउँबाट नगर्नुहोस् । छुट्टाछुट्टै खर्च गर्नहोस् । धेरै मान्छे सामान्यभन्दा सामान्य विषयमा ध्यान दिन नसक्दा असफल भइरहेका हुन्छन् । त्यसैले सामान्य विषय हो भनेर नेक्लिजेन्स नगर्नुहोस् । क्यान्सको किटाणु सानो हुन्छ तर त्यसले ज्यानै लान्छ ।


पुष्प दुलाल