सेयर बजार बढ्छ कि घट्छ ? यस्ता छन् कारण



काठमाडौं । सुरुवातमा नै प्रष्ट हुनुहोस सेयर बजार कतिबेला के हुन्छ भनेर कसैले पनि अनुमान गर्न सक्दैनन् ।

सेयर बजारका विभिन्न ग्रुपमा सेयर बजारको बारेमा विभिन्न खालका धारणा आइरहेका हुन्छन् । अझ पछिल्लो साता अर्थमन्त्री डा युवराज खतिवडाले सेयर बजार अनुत्पादक क्षेत्र भनेपछि नेप्से परिसूचक घट्यो । त्यसपछि दुईदिन बढेपनि सेयर बजार बढ्न सकेको छैन ।

धेरैको बुझाई निर्वाचनपछि सेयर बजार बढ्छ भन्ने थियो । निर्वाचनमा गएको पैसा बैकिङ प्रणालीमा आएपछि तरलता सहज हुने र सेयर बजार बढ्छ भन्ने अनुमान धेरैको थियो । तर,निर्वाचनपछि अहिलेसम्म नेप्से परिसूचक करिब २ सय अंकले ओरालो लागेको छ ।

सेयर बजार अहिले घट्ने विश्लेषक केहीको छ भने केहीको बढ्ने विश्लेषण छ ।

जसमा सबैभन्दा पहिला घट्ने विश्लेषकका केही तर्क छन् । सेयर बजारमा जहिलेपनि बैंकको ब्याजदरको प्रभाव पर्छ । अहिले बैंक तथा वित्तीय संस्थामा ब्याजदर बढी छ । बैंकले नै सहज रुपमा वार्षिक १० प्रतिशत मुद्दती निक्षेपमा दिन्छन् । जसमा एनआईसीले मुद्दतीमा १२ प्रतिशत र बचतमा १० प्रतिशत ब्याजदर दिने भएपछि अहिले बैकर्स संघ र एनआइसीबीच विवाद बढेको छ । संघले एनआइसीसँग कुनैपनि कारोबार नगर्न भनेको छ ।

सेयर बजारमा जहिलेपनि माग र आपूर्तिले प्रभाव पार्छ अहिले आपूर्ति बढेको छ,जसले सेयर बजार घटाउन मद्दत गरिरहेको छ

स्वभाविक रुपमा बैंकले निक्षेपमा दिने ब्याजदर बढेपछि कर्जाको ब्याजदर बढ्छ । अहिले सेयर बजारलाई सबैभन्दा असयोग गरेको बैंकको ब्याजदरले हो ।

सेयर बजार भनेको माग र आपूर्तिको आधारमा चल्छ । अर्थशास्त्रको नियमले नै वस्तु मुल्य माग र आपूर्तिको आधारमा हुने भन्छ । राष्ट्र बैंकले पुँजीबृद्धिको निर्णय लिएपछि सेयर बजारमा बोनस र हकप्रदको बाढी नै आयो । यस्तै बीमा समितिले पनि पुँजीबृद्धिको नीति लियो । जसले बीमा कम्पनीले पनि बोनस र हकप्रद सेयरको बाढी ल्याए ।

बोनस सेयर त कमाएपछि लाभांशको रुपमा आउने हुँदा लगानीकर्तालाई फाइदा नै हुन्छ । तर,हकप्रद भने लगानीकर्ताले थप लगानी गर्ने हो । २ अर्बको वाणिज्य बैंकको चुक्ता पुँजी हुँदा र अहिले ८ अर्बको चुक्ता पुँजी हुँदा सेयर बजारमा आपूर्ति बढेको छ । जसले गर्दा थोरै मात्र फाइदा देखेपछि लगानीकर्ता बिक्री गरिहाल्छन् । यो स्वभाविक पनि छ ।

बीमा समितिले ९ वटा जीवन बीमा कम्पनी र ३ वटा निर्जीवन बीमा कम्पनीलाई लाइसेन्स दिएको छ । जसको सर्वसाधारण सेयर अबको ६ महिनापछि आउन सुरु गर्छ । जीवन र निर्जीवन बीमा कम्पनीले ६ अर्ब ३० करोड रुपैयाँको साधारण सेयर जारी गर्दैछन् । यसबाहेक जलविद्युत् कम्पनीको तामाकोसी,रसुवागढी,सान्जेन लगायत कम्पनीको पनि ठूलो रकमको साधारण सेयर बजारमा आउँदै छ । जसले दोस्रो बजारलाई भने सहयोग गर्दैन ।

अर्को सेयर बजार धेरैजसो बाम सरकारसँग शसकित हुन्छ । यद्यपी सेयर बजारले उचाई भने केपी ओली यो भन्दा अगडि प्रधानमन्त्री भएको बेला लिएको थियो । अहिलेका अर्थमन्त्री डा खतिवडा सेयर बजार तथा घरजग्गाका लगानीकर्तालाई प्रियकर होइनन् । जसको कारण पनि सेयर बजार घट्छ भन्ने अनुमान गरिएको छ ।

अर्थमन्त्रीले भने अनुसारको काम भए बैंकको ब्याजदर घट्छ यसको फाइदा सेयर बजारलाई नै हुने हो

अब सेयर बजार बढ्ने कुरालाई ध्यान दिउ । सेयर बजारलाई सबैभन्दा ठूलो समस्या बैंकको ब्याजदरले पारेको छ । अर्थमन्त्री खतिवडाले बिदेशी पुँजी ल्याएर तरलता समस्या समाधान गर्ने बताएका छन् ।

अहिले शोधानान्तर साढे ६ अर्ब रुपैयाँले घाटामा छ । देशबाट बाहिरिने रकम बढेपछि जहिलेपनि यहाँ बैंकमा पैसाको हाहाकार हुन्छ । यसलाई सम्बोधन गर्ने प्रयास गरिने अर्थमन्त्री घोषणा छ । जसले बैंकमा पैसा आउँछ ब्याजदरलाई घटाउने छ । यसको फाइदा सेयर बजारलाई नै हुने हो ।

अर्को देशमा धेरैपछि ५ वर्षको लागि स्थाई सरकार बन्दै छ । यसले नीतिमा स्थिरता आउने हुँदा लगानीकर्तामा आत्मविश्वास बढेको छ ।

जहिलेपनि लगानीले फाइदा हुने मात्र हेर्छ । चीनमा कम्यनिष्ट पार्टीकै सरकार छ । तर,विदेशी लगानी लोकतान्त्रिक मानिएको भारतभन्दा चीनमा बढी छ ।

नेपालमा लगानी गर्नको लागि धेरै देशका विदेशी लगानीकर्ता तयार छन् । उनीहरुलाई सहज हुने नीति बनाउने हो भने विदेशी लगानीकर्ता नेपालमा लगानी गर्न तयार छन् । जसको फाइदा सेयर बजारलाई नै हुन्छ । अर्थात बजार उकालो लाग्छ ।

सेयर बजारमा बुझेर लगानीगर्ने लगानीकर्ताले नै हो । कसैले बढ्छ वा घट्छ भनेको आधारमा सेयर किनबेच भने गर्नुहुँदैन । माथिनै भनियो सेयर बजार कतिबेला बढ्छ र घट्छ भन्ने जानेको भए धेरै जना अर्बपति भइसक्थे । यसैले सेयर बजार बढ्ने जति सम्भावना हुन्छ घट्नेपनि त्यती नै सम्भावना ।


क्लिकमान्डु