आजदेखि २७ वटै वाणिज्य बैंकले एनआइसी एशिया बैंकसँग कारोबार नगर्ने




काठमाडौं । संचालनमा रहेका २७ वटा बाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृत तथा प्रतिनिधिको भेलाले एनआइसी एशिया बैंकसँग कारोबार नगर्ने निर्णय गरेको छ ।

नेपाल बैंकर्स एसोसिएसनले गरेको निर्णय एनआइसी एशियाले पालना नगरेको भन्दै अरु बैंकले कारोबार नगर्ने गरी एसोसिएसनले गरेको निर्णयलाई आइतवार बिहानको सो भेलाले सदर गरेको हो ।

एसोसिएनसले गरेको निर्णय नमानेपछि एनआइसी एशिया बैंकसँग अरु बैंकले कारोबार नगर्ने निर्णय गरेका एसोसिएनसका पूर्वअध्यक्ष तथा हिमालयन बैंकका प्रमुख कार्यकारी अधिकृत अशोक राणाले जानकारी दिए ।

एसोसिएसनले गत साता बचतमा ८ प्रतिशतसम्म र मुद्दति निक्षेपमा ११ प्रतिशतसम्म मात्रै ब्याज दिने निर्णय गरेको थियो ।

एसोसिएसनको सो निर्णय विपरित एनआइसी एशिया बैंकले बचतमा १० प्रतिशत र मुद्दतिमा १२ प्रतिशत ब्याज दिने योजना सार्बजनिक गरेको थियो । एनआइसी एसिया बैंकको सोही कार्यलाई लिएर अरु बैंकले यस्तो कारबाही गरेका हुन् ।

अरु बैंकले एनआइसी एसियासँग कारोबार नगर्ने निर्णय गरेपछि अन्य बैंकले एनआइसीसँग अन्तर बैंक लगायतका कारोबार प्रभावित हुने भएको छ ।

‘आइतबार बिहान भएको भेलामा २७ वटै बैंकका प्रतिनिधिले एनआइसी एशिया बैंकसँग कुनैपनि कारोबार गर्ने निर्णयमा सहमति जनाएका छन्,’ राणाले क्लिकमाण्डूसँग भने ।

त्यसैगरी, बैंकहरुबीच भएको भद्र सहमति तोड्नु अर्थतन्त्रघाती कदम रहेको बैंकर्स संघका पूर्वअध्यक्षसमेत रहेका सिटिजन्स बैंकका प्रमुख कार्यकारी अधिकृत राजनसिंह भण्डारीले बताए ।

‘मुलुकको अर्थतन्त्रलाई फाइदा पुगोस् भनेर बैंकहरुले ब्याजदरमा भद्र सहमति गरेका हुन्,’ भण्डारीले भने, ‘यस्तो भद्र सहमति तोड्नेेहरु देशका मित्रशक्ति होइनन्।’

बैंकरहरुबीच भएको भद्र सहमति बजार अर्थतन्त्रको विरुद्धमा नभएको उनको जिकीर छ ।

‘म पनि खुल्ला बजार अर्थतन्त्रको पक्षपाती हुँ, तर जथाभावी व्याज बढाउँदा बैंकिङ क्षेत्रमा प्रणालीगत जोखिम हुन्छ । र, व्याजदर महंगो भएपछि उद्योगी व्यवसायाीहरुले कर्जा लिन छाड्छन्, जसकारण अर्थतन्त्र नै अफ्ठेरोमा पर्छ,’ उनले भने ‘हामीले अर्थतन्त्रको हित हेरेर ब्याजदरमा भद्र सहमति गरेका हौं ।’


क्लिकमान्डु