अर्थमन्त्री हुनेवित्तिकै गभर्नरलाई खतिवडाको पत्रः मेरा ज्वाइलाई आजैदेखि मन्त्रालय पठाउनु




काठमाडौं । गभर्नर भएकै बेलादेखि अति ज्वाइ मोहका कारण विबादमा पर्दै आएका अर्थमन्त्री डा. युवराज खतिवडाले मन्त्रीको जिम्मेवारी पाए लगत्तै ज्वाइमोह पुनः दोहोर्याएका छन् ।

गत फागुन १४ गते अर्थमन्त्रीमा नियुक्त भएका डा. खतिवडाले त्यसको भोलिपल्ट अर्थात फागुन १५ गते नै नेपाल राष्ट्र बैंकलाई पत्र लेख्दै सोही दिनदेखि हाजिर हुने गरी आफ्ना ज्वाइ डा. रामशरण खरेललाई मन्त्रालय पठाइ दिन पत्राचार गराएका हुन् ।

‘नेपाल राष्ट्र बैंक बिराटनगर कार्यालयका उपनिर्देशक श्री डा. रामशरण खरेललाई आजैका मितिदेखि यस मन्त्रालयमा काम काज गर्ने गरी खटाई दिनुहुन आदेश अनुसार अनुरोध छ,’ मन्त्रालयको तर्फबाट शाखा अधिकृत निरन्जन ज्ञवालीले राष्ट्र बैंकलाई फागुन १५ गते लेखेको पत्रमा उल्लेख छ ।

डा. खरेल अर्थमन्त्री डा. खतिवडाका छोरी ज्वाइ हुन् ।

डा. खतिवडा नेपाल राष्ट्र बैंकको गभर्नर भएको बेलामा उनका ज्वाइ डा. खरेललाई अन्तराष्ट्रिय मुद्रा कोष पठाइएको थियो । सो अघिसम्म राष्ट्र बैंकबाट आइएमएफको सल्लाहकारमा कम्तिमा निर्देशक तहसम्मको अधिकारी पठाउने चलन भएपनि डा. खतिवडाले आफ्ना ज्वाइ डा. खरेललाई सो लाभको पदमा पठाएका थिए । डा. खरेल आइएमएफ जादा कनिष्ठ उपनिर्देशक थिए ।

राष्ट्र बैंकको उपनिर्देशक भनेको सेकेन्डक्लास अफिसर सरहको पद हो ।


क्लिकमान्डु