प्रचण्डका पूर्व बडीगार्डले समाते ५ केजी चरेशसहित २ युवा



काठमाडौ । महानगरीय प्रहरी बृत्त दरबार मार्गको प्रहरी टोलीले ५ केजी लागु औषध (चरेश) सहित २ युवालाई पक्राउ गरेको छ । सादा पोशाकमा दरबार मार्ग बृत्तबाट खटिएको प्रहरी टोलीले काठमाडौं–२, लाजिम्पाटबाट चरेशसहित दुई जनालाई प्रक्राउ गरेको हो ।

पक्राउ पर्नेमा तालावाङ-५, रोल्पा घर भई नवलपरासी गैंडाकोट बस्ने वर्ष ३२ का विजय घर्तिमगर र बाबियाचौर-४, म्याग्दी घर भई पोखरा नदीपुर बस्ने वर्ष ३० का सुमन रोका मगर रहेका छन् ।

उनीहरुलाई सोमबार साँझ ७.३० बजे चरेश बिक्री गरिरहेको बेला लाजिम्पाटको द इम्पोरियल क्याफे एण्ड रेष्टुरेष्टबाट पक्राउ गरिएको हो ।

पक्राउ गरिएका दुवै जनामाथि थप अनुसन्धान भइरहेको दरबार मार्गका प्रहरी प्रमूख डिएसपी दान बहादुर मल्लले जानकारी दिए ।

मल्ल माओवादी केन्द्रका अध्यक्ष प्रचण्डका पूर्व बडीगार्ड हुन् । लामो समय प्रचण्डको सुरक्षामा खटिएका मल्ल केही समय पहिले देखि दरबारमार्ग वृत्तमा खटिएका थिए ।


पुष्प दुलाल